सेमिफाइनलमा पुलिसको प्रतिद्वन्द्वी एपीएफ
नेपालगन्जः प्रधानमन्त्री कप चौथो इन्डो-नेपाल महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले आयोजक मध्यपश्चिमाञ्चललाई हराउँदै सेमिफाइनलमा एपीएफलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । नेपालगन्जको कर्भडहलमा सोमबार भएको समूहगत चरणको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यपश्चिमाञ्चललाई ३-० को सोझो सेटमा हरायो । अर्को खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
लिग चरणको पहिलो खेलमा साबिक विजेता भारतको रेलवे टोलीलाई ३-० को सोझो सेटमा हराएको पुलिसले सोमबार आयोजकमाथि २५-११, २५-८, २५-१८ अंकको सहज नतिजा निकालेको हो । अर्को खेलमा एपीएफले आर्मीलाई २५-५, २५-८, २५-९ अंकले पाखा लगायो । लिग चरणका दुवै खेल जितेको एपीएफ समूह ‘बी' को विजेता बन्यो । एक खेल जितेको आर्मीले पनि समूह ‘बी' को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो ।
यसैगरी साबिक विजेता भारतको रेलवे अपराजित रहँदै समूह ‘ए' को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । एक खेल जितेको पुलिसले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । भारतको अर्को टोली वर्षात् एसोसियसन र आयोजक मध्यपश्चिमाञ्चल टोली भने दुवै खेलमा हार खेप्दै लिग चरणबाटै बाहिरिएका छन् ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा मंगलबार रेलवे र आर्मीबीच पहिलो तथा एपीएफ र पुलिसबीच दोस्रो सेमिफाइनल खेल हुनेछन् ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार, दोस्रोले ५५ हजार र तेस्रो हुने टोलीले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट रक्षक र उत्कृष्ट सर्भरले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।