नमुना विद्यालय हनुमन्तेश्वर
चरीकोटः सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदै गइरहेको भन्ने अभिभावकको गुनासो शिक्षा क्षेत्रका लागि नौलो होइन । शिक्षकहरू आफू सामुदायिक विद्यालयमा पढाए पनि छोराछोरीहरूलाई भने निजी विद्यालयमै पढाउन जोड दिन्छन्, जसले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास कति रहेछ भन्ने स्पष्ट पार्छ ।
पूर्वी पहाडी जिल्ला दोलखाको काब्रेमा रहेको हनुमन्तेश्वर उच्च माविले उत्कृष्ट शिक्षा प्रदान गर्ने कर्ममा पाएको सफलताले भने अभिभावकको यस बुझाइलाई गलत सावित गरिदिएको छ । यस विद्यालयको प्रगतिको कथा निकै लोभलाग्दो छ । अन्य विद्यालयलाइै पनि अनुकरणीय छ ।
शिक्षकले चाहे गर्न सक्छन् भन्ने भनाइलाई यस विद्यालयले अनुसरण गरेको छ । यो नै विद्यालयको सफलताको मूल मन्त्र बनेको छ अहिले । कुनै समयमा विद्यार्थी अभावका कारण निकै सकसपूर्ण वातावरणमा पढाइ भएको यस विद्यालयमा अहिले भर्ना हुन आउने विद्यार्थीबीच प्रतिस्पर्धा हुन्छ । शिक्षक, अभिभावक तथा यससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका जोडिएका व्यक्तिका कारण अहिले नौ सय १० जना विद्यार्र्थी अध्ययनरत छन् । विद्यालयको वातावरण शान्त छ । विद्यार्र्थीहरू अनुशासित छन् । जनजाति समुदायका विद्यार्र्थीको बाहुल्य छ ।
२०४४ सालमा स्थापना भएको सो विद्यालयको पढाइको गुणस्तर बढेको एक दशकभन्दा बढी भएको छैन । २०५९ सालमा एसएलसी परीक्षामा १६ प्रतिशतमात्र विद्यार्र्थीहरू उत्तीर्ण भएपछि विद्यालयको बाटो मोडियो । आफूसँगैका विद्यालयमा धेरै विद्यार्र्थी उत्तीर्ण भएको र आफ्नो विद्यालयको भने न्यून प्रतिशत विद्यार्थी पास भएपछि प्रधानाध्यापक गोपालध्वज श्रेष्ठको अगुवाइमा शैक्षिक सुधार अभियान अघि बढाइयो ।
अभियानअन्तर्गत सबै शिक्षकले एउटै प्रण गरे ‘जसरी हुन्छ हनुमन्तेश्वर उच्च माविलाई जिल्लाको उत्कृष्ट विद्यालय बनाउने ।' २०६० सालमा विद्यालय सुधारको लागि भन्दै एक्सन रिसर्च भयो । रिसर्चअन्तर्गत सबैभन्दा बढी विद्यार्र्थी एसलसीमा किन फेल भए भन्ने विषयमा बृहत् छलफल भयो । त्यसपछि जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा शिक्षक, कर्मचारी र अभिभावकसमेत होमिए ।
त्यतिबेलासम्म जिल्लामा विशेष गरेर कालिञ्चोक उच्चमावि, कालिनाग उच्चमावि र हनुमन्तेश्वर उच्चमाविकै प्रतिस्पर्धा हुने गर्दथ्यो । एक्सन रिसर्चपछि विद्यालयले पढाउने शैली परिवर्तन गर्नेतर्फ लाग्यो । तत्कालीन शिक्षा मूल्यांकन र निर्णयात्मकमात्र भएकोले अब यसलाई सुधारात्मक बनाउनुपर्छ भन्नेतर्फ जोड दिइयो ।
‘यसै अभियानअन्तर्गत २०६४ सालबाट बालमैत्री शिक्षण सिकाइ सुरु भयो । त्यसअन्तर्गत सकारात्मक अनुशासन पद्धतिलाई पनि अपनाउँदै अघि बढियो । त्यस्तै विद्यार्र्थी र शिक्षकलाई केन्द्रित गरेपछि अब विद्यालयको ध्यान अभिभावकतर्फ अघि बढ्यो' प्रअ गोपालध्वज श्रेष्ठ विगत सम्झन्छन् । १८ घन्टासम्म विद्यार्र्थी अभिभावकसँग हुने भएकोले विद्यार्थीसँगै अभिभावकलाई पनि जागरुक बनाउन आवश्यक ठानेर अभिभावक शिक्षातर्फ विद्यालयले अभियान सञ्चालन गर्यो ।
त्यसक्रममा अभिभावकसँग विद्यार्र्थीको बानी व्यहोरा परिवर्तनको लागि प्रशिक्षण दिने काम भयो । विद्यार्र्थीहरू घरमा गएर के के गर्छन् ? कति समय पढ्छन् ? कति समय खेल्छन् ? कति समय घरको काम गर्छन् ? र कति बेला सुत्छन् ? भन्ने समयको डाटा लिने काम गरियो । अभियान हालसम्म पनि जारी छ ।
अभिभावकलाई सचेत गराएपछि उनीहरूमा पनि जिम्मेवारीबोध भयो । उनीहरू विद्यालय सुधारको लागि सकारात्मक देखिए । शिक्षण सिकाइको लागि कक्षा १० को पढाइलाई विशेष ध्यान दिइयो । उक्त कक्षामा पढ्ने विद्यार्थीका लागि हरेक शनिबार परीक्षा लिने व्यवस्था गरियो । जसबाट विद्यार्र्थीले खारिने अवसर पाए । त्यसपछि तुलनात्मक रूपमा कमजोर रहेका विद्यार्र्थीको पहिचान गरी ती विद्यार्र्थीको लागि विशेष कक्षा सञ्चालन भइरहेको छ ।
अहिले माथिल्लो तहमा विशेषगरी कक्षा १० का विद्यार्थीलाई लक्षित गरेर बिदाको दिन र बिहानको समयमा पनि अतिरिक्त कक्षा लिने व्यवस्था गरिएको छ । यस्तै कमजोर विद्यार्र्थीलाई आवासमा राखेर विशेष कक्षा लिन थालिएको छ । प्रअ श्रेष्ठ भन्छन्, ‘यसरी कडा मेहनत गरिएपछि २०६१ सालमै राम्रो नतिजा ल्याउन सफल भयौं । २०६१ सालको एसएलसीमा जिल्ला प्रथम भयौं ।'
त्यसपछि भने विद्यालयले जिल्लामा उत्कृष्ट नतिजा ल्याइरहेको छ । अन्य गतिविधिमा पनि जिल्लाका अन्य विद्यालयको तुलनामा अगाडि छ । यसै विद्यालयमा अध्ययन गरेका विद्यार्थीमध्ये सातजना चिकित्सक बन्ने तयारीमा छन् । त्यसमध्ये पनि सुमन दाहाल र प्रकाश दाहाल डाक्टर बनिसकेका छन् । करिब १७ जनाले इन्जिनियर पास गरिसकेका छन् । सातजनाले सीए अध्ययन गरिरहेको विद्यालयको भनाइ छ । ‘हामीजस्तो दुर्गम भेगका सामुदायिक विद्यालयलाई यो गौरवको विषय हो' श्रेष्ठ भन्छन् ।
विद्यालयले यसरी सफलता हासिल गर्नुमा विद्यालयको परीक्षा सञ्चालनमा सुधार ल्याउनु पहिलो प्रयास भएको शिक्षकको भनाइ छ । विद्यालयले लिने हरेक आन्तरिक परीक्षाका सन्दर्भमा कडा नियम बनाइएको छ । प्रवेशपत्र बिना परीक्षामा प्रवेश दिइँदैन, चिट चोरेको पाइएमा विद्यार्थीलाई परीक्षा दिनबाटै बञ्चित गराउने गरिएको छ । जसले विद्यार्र्थीमा पढ्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।
प्रत्येक परीक्षाको उत्तरपुस्तिका परीक्षार्थीलाई फिर्ता दिने र सुधारको लागि समेत सुझाव दिने गरिएको छ । परीक्षामा थोरै अंक ल्याउने विद्यार्र्थीको अभिभावकलाई बोलाएर आफ्नो बालबच्चाको पढाइको अवस्थाबारे जानकारी दिइन्छ । आफ्नो छोराछोरीको पढाइ सुधारका लागि उनीहरूलाई सल्लाह पनि दिने गरिएको छ । सँगसँगै कमजोर विद्यार्थीलाई शिक्षकको निगरानीमा राखेर पढाउने गरिएको छ । यसले विद्यार्थीको मात्र नभएर समग्र विद्यालयकै शिक्षाको गुणस्तर बढाउन मद्दत पुर्याएको छ ।
विद्यार्थीको कक्षामा अनुपस्थित दर घटाउन उनीहरूलाई अभिलेख तालिका भर्नुपर्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाले शिक्षक र कर्मचारीको समेत उपस्थिति दर बढाएको छ । हनुमन्तेश्वरले अनुसरण गरेको पद्धतिलाई विस्तारै अन्य विद्यालयहरूले पनि अनुसरण गर्न थालेका छन् । विद्यालयमा इन्टरनेटको पहुँच पर्याप्त छ । जसले शिक्षक विद्यार्थीलाई सूचना प्रविधिको क्षेत्रमा भएका पछिल्ला विकासका बारेमा जान्न सहयोग पुर्याएको छ ।