चुनाव हराएको बदला लिन बलात्कार मुद्दा
नेपालगन्जः बाँके बेतहनीकी माया बर्मा घरमा खाना बनाउँदै थिइन्। गाउँका केही केटाहरु त्यही बाटो भएर जाँदै थिए। मायालाई भाउजू भन्दै उनीहरुले भलाकुसारी गरे। घरमा मासु पाक्दै थियो, खाएरै जाने निधो भयो।
केही बेरपछि आगँनमा पुलिस पुगे। सबैको भागाभाग भयो। एकजना हसन अलि मनिहारलाई प्रहरीले पक्राउ गर्यो। अर्का एकजना जुनेद खाँ त्यहाँबाट भागे अहिलेसम्म सम्पर्कमा छैनन्। प्रहरीले चौकीमा ल्याएर बलात्कारको मुद्दा चलाएको छ तर खासमा मायाको बलात्कार भएकै थिएन।
गाउँमा बिहेको रमझम थियो। शिवरात्रीको त्यस्तै उल्लास थियो। मानिसहरु यताउता गरिरहेका थिए। त्यही क्रममा उनीहरु पनि मायाको घरमा पुगेका थिए। छिमेकी भएका कारण उनीहरुको बोलीचाली, व्यवहार राम्रै थियो। त्यही बेला घरभित्र बसेका बेला कसैले पुलिसलाई फोन गरेर भनेछ ‘त्यहाँ केटाहरु गएर, मायाको बलात्कार गरिरहेका छन्।’ पुलिस तत्कालै पुग्यो।
अहिले मायाले पनि आफ्नो बलात्कार भएकै छैन, निर्दाेषहरुलाई फँसाइएको छ भनेर वकिल अनि प्रहरीलाई बयान दिइरहेकी छिन्। तर, प्रहरी मानिरहेको छैन। पक्राउ परेका हसनलाई प्रहरीले बलात्कारको मुद्दा लगाइसकेको छ।
खासमा यो घटनामा गाउँकै एकजनाले रिसिइबी साँध्नकालागि मायालाई प्रयोग गरेका छन्। केही दिनअघि बेतहनी–२ मा रहेको माछापुछ्रे प्राविमा विद्यालय व्यवस्थापन समितिको चुनाव भएको थियो। त्यसमा सदस्यकालागि उमेदवारी दिएका युनुस खाँले चुनाव हारेका थिए। हसन, जुनेदको समूह मिलेर एउटा प्यानल बनाएका थिए भने युनुसको अर्को प्यानल थियो। युनुसको समूहबाट सदस्य पदमा उठेकी मायाले पनि अर्को समूहकै बराबर १५ मत पाएकी थिइन्। चिठ्ठाबाट छानिदाँ माया पनि बाहिरिइन्। आफ्ना समूहका सबैले चुनाव हारेपछि युनुसले त्यो समूहसँग हरेक कुरामा निहु खोजिरहेका थिए।
त्यसअघि पनि स्थानीय सामुदायिक बनको चुनावमा युनुस कोषाध्यक्षमा लडेका थिए। त्यहाँ पनि जुनेदकी भाउजुले युनुसलाई हराइन्। त्यसपछि हरेक कुरामा त्यो समूहसँग बदला लिन खोजिरहेका युनुसले त्यो योजना रचे। अनि उनले त्यही घटनामा जुनेद र हसनहरुलाई फसाएर बदला लिने योजना बनाए। त्यसका लागि मायालाई प्रयोग गरे। त्यो गाविसमा रहेका चारवटा विद्यालय सबैमा युनुसको समूहले चुनाव हारेको थियो।
गाउँकी स्वास्थ्य स्वयं सेविका भएर काम गरिरहेकी मायाका तीन छोरी र एक छोरा छन्। उनका श्रीमान भारतको गोवामा काम गर्छन्। घरमा एक्ली उनलाई गाउँलेले पनि ‘फरक’ नजरले हेर्थे। त्यो घटनापछि त झनै उनको बलात्कार भयो भनेर, हल्ला धेरै फैलिइसकेको थियो। ‘चार–चार जना बच्चा हुर्काएर बसिरहेको मान्छे हुँ, हुँदै नभएको हल्ला चलिरहेको थियो, निर्दाेषलाई त्यस्तै जेल हालिएको छ’ माया भन्छिन् ‘मैले आफै मेरो बलात्कार भएको छैन भनेपछि त सक्किगो नि ? ’
त्यही हल्लालाई समातेर युनुसले मायालाई धेरै डर देखाइदिए। 'हेर तिम्रो बलात्कार भयो भनेर गाउँभरि हल्ला भइसक्यो, अब तिमी केही गरेपनि बच्दैनौ बरु पुलिसमा त्यही मुद्दा देऊ नत्र झन बेइज्जत हुन्छ भनेर धेरै डर देखाए' माया भन्छिन् 'युनुसको कुरा पनि ठीकै लाग्यो अनि ऊसँगै आएर बलात्कार भएको मुद्दा दिएँ, उजुरी पनि उसैले लेखिदियो मैले सहीमात्रै गरेँ अहिले पछुतो लागिरहेको छ।'
त्यो दिन उनको घरमा पुगेको प्रहरीलाई पनि मायाले ‘बलात्कार भएकै छैन, भित्र बसेर गफमात्रै गर्दै थियौँ’ भनेकी थिइन् तर, प्रहरीले ‘तिमी चुप लाग अब हामी आफैं मुद्दा हेर्छौं भनेर हसनलाई समातेर लगेको थियो। 'मलाई त बोल्नै दिएनन्, अघिपछि महिलाअधिकारका कुरा गर्न आउने, अहिले यस्तो भन्ने ? भनेर पुलिसले उल्टै हप्काए' उनले भनिन् 'अब हुँदै नभएको बलात्कारलाई मैले कसरी हो भन्नु त ?'
प्रहरीले भने अब त्यो मुद्दामा केही पनि हेरफेर हुन नसक्ने बताएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकप्रसाद राईका अनुसार बलात्कारजस्तो संवेदनशील मुद्दालाई फेरि फिर्ता गर्न मिल्दैन। 'त्यही महिलाले अघिल्लो दिन बलात्कार भयो भनेर मुद्दा दिने अनि अहिले फेरि हैन भन्ने' उनले भने ‘यदि त्यस्तो भएन भने अब उसैलाई कारबाही गर्नुपर्छ। तर, अब यो मुद्दा प्रहरीको मात्रै होइन, अदालतले नै फैसला गर्नुपर्छ।' बलात्कारसम्बन्धी मुद्दालाई प्रहरीले ६ महिनाभित्र जहिले आएपनि दर्ता गर्नैपर्छ र कारबाही प्रक्रिया अघि बढाउनै पर्छ। ‘त्यसैले पनि हामी बाध्य भयौँ दर्ता गर्न, मुद्दामा आरोप लागेकालाई पनि समाउनै पर्यो' उनले भने 'अब अदालतले फैसला गर्छ, हामीले के गर्नु ? तर, निर्दोषलाई फसाइएको हो भने मुद्दा दिनेलाई पनि कारबाही हुन्छ।' प्रहरील् भने