विवादित ठाउँको चुनाव जिम्मा क्याम्पस प्रशासनलाई
काठमाडौः त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको विवादका कारण बुधबारलाई तोकिएको स्ववियु चुनाव सबै क्याम्पसमा सम्पन्न हुन नसक्ने भएपछि विवादित ठाउँको चुनाव गराउने जिम्मा सम्बन्धित क्याम्पस प्रशासनलाई दिएको छ ।
केन्द्रीय तहमा गठित समितिले एकैपटक चुनाव गराउन विद्यार्थी संगठनसँग पटकपटक छलफल गर्दा पनि असफल भएपछि त्रिविले केन्द्रीय तहमा चुनावको अर्को मिति घोषणा नगर्ने स्पष्ट पारेको छ । ‘हामीले चुनावका लागि फागुन १४ गतेलाई मिति तोकेका थियौं । तर विद्यार्थीकै आग्रहमा १८ गतेलाई सारिएको हो', निर्वाचन परिचालन समितिकी संयोजक तथा शिक्षाध्यक्ष सुधा त्रिपाठीले भनिन्, ‘अर्को चुनाव अब २०७५ साल फागुन १४ गते मात्र गर्ने हो । अहिले छुटेका क्याम्पसले आफूअनुकूल मिलाएर चुनाव गर्छन् । त्यसमा हाम्रो कुनै हस्तक्षेप रहँदैन ।'
विवादित क्याम्पसमा लगाइएको ताला नखुले पनि र चुनाव हुन नसके पनि यसपटक चुनाव सम्पन्न गराउन त्रिविले केन्द्रीय रूपमा गठन गरेको निर्वाचन परिचालन समिति बुधबारदेखि नै भंग हुने त्रिपाठीले बताइन् । तर समितिले गराउन नसकेको चुनाव क्याम्पस प्रशासनले मात्र सम्पन्न गराउनेमा त्रिविकै पदाधकारी ढुक्क भने छैनन् ।
विद्यार्थी भर्नाका विषयमा विद्यार्थी संगठनबीच कुरा नमिल्दा स्ववियुको आकर्षण रहेका राजधानीसहित बाहिरका जिल्लाका क्याम्पसमा बुधबार चुनाव नहुने देखिएको छ । चुनाव सम्पन्न गर्ने क्रममा तालाबन्दीमा उत्रिएका विद्यार्थीले आफ्नो मुख्य पार्टीकै निर्देशन नमानेका कारण चुनाव गराउन कठिन भएको त्रिविको विश्लेषण छ ।
‘केही क्याम्पसमा कांग्रेसनिकट नेविसंघले पनि ताला लगाएको छ । तर तुरुन्त ताला खोल्न पार्टी नेतृत्वले दिएको निर्देशनसमेत नमानेको देखियो', निर्वाचन समितिमा संलग्न त्रिविका एक पदाधिकारीले भने, ‘गृहमन्त्रीज्यूले समेत आफ्नै पार्टीका विद्यार्थी संगठनलाई तह लगाउन नसकिने भन्नुभयो रे । यस्तो अवस्थामा हामीले मात्र चाहेर कसरी चुनाव गराउन सकिन्छ ? '
विवादित क्याम्पसका समस्या समाधानका विषयमा मंगलबार छलफल भए पनि टुंगोमा पुग्न सकेन । ‘छलफल धेरै ठाउँमा धेरैपटक भएको छ । तर टुंगोमा पुग्न सकिएको छैन', नेविसंघ अध्यक्ष नैनसिंह महरले भने । विवादित क्याम्पसको चुनाव पनि फागुन तेस्रो साताभित्र सम्पन्न गराउन आफूहरूको पहल जारी रहेको उनको भनाइ छ ।
बुधबार उपत्यका र बाहिरका गरेर दुई दर्जन मात्र क्याम्पसमा चुनाव हुनेछ । केही क्याम्पसमा अझै विवाद रहे पनि चुनाव हुनेमा आफू विश्वस्त रहेको त्रिपाठीले बताइन् । एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले आफूहरू चुनावका पक्षमा रहेकाले चुनावी प्रक्रियामा कुनै पनि क्याम्पसमा अवरोध नगरेको दाबी गरिन् ।