सडक भासिँदा व्यापार चाैपट
काठमाडौंः लामो समय अरुको होटेलमा काम गरेका इश्वर क्षेत्रीले नक्सालमा आफ्नै भोजनालय सुरु गरेका थिए । जागिरका क्रममा पैसा नकमाए पनि, सीप कमाएका थिए । अबचाहिँ पैसा पनि कमाइनेमा उनी आशावादी थिए । तर, होटेल खोलेको पाँचौं दिनमै उनी छानोबाट खसेझै भए । उनको भोजनालय अघिल्तिरको (भगवतीबहाल-पुलिस हेडक्वार्टर) को बाटो भासियो । बाटोमा आवागमन बन्द भयो, भोजनालयमा ग्राहक आउने कुरै भएन ।
जगदम्बा हस्पिटालिटी (प्रा) लिले निर्माण गरिरहेको ‘डबल ट्रि हिल्टन होटेल' को संरचना निर्माणका क्रममा सडक भासिएको थियो । मापदण्ड लत्याउँदै निर्माण सुरु गरिएको संरचनाका लागि दुईतले बेसमेन्टका लागि गहिरो खाल्टो खन्ने क्रममा सडक भासिएको थियो । केही घरमा पनि क्षति पुग्यो । केही दिन त पैदलयात्रीका लागि समेत बाटो बन्द थियो, होटेल खोल्ने कुरै भएन । त्यसपछि पैदलयात्रीका लागि खुला भए पनि सवारी बन्द थियो, यसैले सुरुका चार दिन भएको व्यापारको २० प्रतिशत पनि व्यापार नभएको क्षेत्री सुनाउँछन् । डेढ महिना बाटो बन्द भएपछि अहिले बाटो खुलेको छ ।
तैपनि व्यापार सुरुको जस्तो छैन । कारण, त्यहा बसेर खाना खान अहिले पनि ग्राहक डरमुक्त भइसकेका छैनन् ।
सडकखण्डमा २९ वटा पसल थिए । सबै क्षेत्रीजस्तै मार्कामा परेका थिए । चाइनिज रेस्टुरेन्ट चलाइरहेका रमेश श्रेष्ठले १३ वर्ष पुरानो व्यवसायमा यस्तो घाटा कहिले खान परेको थिएन । स्टाफलाई तलब खुवाउन घरबाटै पैसा निकाल्न पर्यो । ‘व्यापार नहुँदा पनि मासिक खर्च दुई लाख ३० हजार हुन्छ', उनले भने, ‘तर क्षतिपूर्ति २४ हजार पाइयो ।'
प्लास्टिक वस्तुको व्यापार गर्दै आएका माधव भट्टराई घरबहाल महिनामा ३२ हजार तिर्नपरे पनि डेढ महिना व्यापार शून्य हुँदा २४ हजार रुपैयाँमा चित्त बुझाउन परेको गुनासो पोख्छन् । भूकम्प गएको बेलामा भन्दा धेरै दिन पसल बन्द भयो वा पसल खोले पनि ग्राहक शून्य अवस्थामा रहयो । यसरी निर्माणमा मापदण्ड मिचेर आफूखुसी गर्दा आफूले घाटा खान परेको थाहा पाएपछि व्यवसायीले क्षतिपूर्ति माग गरेका थिए । उनीहरूले दैनिक कारोबारको आधारमा दैनिक चार हजारका दरले क्षतिपूर्ति दाबी गरेका थिए । सुरुमा निर्माणकर्ताले दिने आश्वासन पनि दिए ।
‘तर पछि सबैलाई २४ हजार रुपैयाँका दरले लिनु, नत्र केही पाउन्नौ भने', क्षेत्री सुनाउँछन् । व्यवसायीका अनुसार होटेल निर्माणकर्ताले सुरुमा घरवालाको चित्त बुझाएका थिए । उनीहरूले चित्त बुझाएको कारण व्यवसायीले घरवालाको साथ पाएनन् । छुट्टाछुट्टै कुरा गरेर फुटाउने, अनि समूहलाई कमजोर बनाएर गलाउने रणनीति होटेल निर्माणकर्ताले लिएका थिए ।
मापदण्ड लत्याउँदै निर्माण सुरु गरिएको संरचनाका लागि दुईतले बेसमेन्टका लागि गहिरो खाल्टो खन्ने क्रममा सडक भासिएको थियो ।
पाँच वर्षदेखि फलफूल व्यापार गरिरहेका राजीन चौधरी डेढ महिनासम्म सामान्य व्यापारको १० प्रतिशतमा खुम्चिन परेको बताउँछन् । फलफूल बेचेर गुजारा चलाउने व्यापारी, घरभाडा तिर्नसमेत सरसापट गर्न पर्यो' ,उनको दुःखेसो छ ।
स्थानीयका अनुसार होटेल निर्माण भइरहेको ठाउँमा पहिले पोखरी थियो । यसैले उक्त ठाउँ ठूलो संरचना निर्माणका लागि उपयुक्त ठाउँ हैन । तर, सम्बद्ध निकायले संरचना ठड्याउने अनुमति दिए । ‘संरचना ठड्याउने अनुमति पनि दिने, अहिले हामीलाई मार्का पर्दा क्षतिपूर्ति दिलाउन प्रयास पनि नगर्ने', उनी भन्छ् , ‘यो सरकार हाम्रोपनि हो कि, ठूलाबडाको मात्र ।'
मापदण्डअनुसार माटो परीक्षणको रिपोर्ट लत्याउनुका साथै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रतिवेदन नआई दुईतले बेसमेन्टसहितको १५ तले भवनको निर्माण सुरु गरिएको थियो । मापदण्ड पुरा नगरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाबाट होटेलको फाइल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । होटेल निर्माणको अनुमति दिने महानगर प्रमुख रुद्रसिंह तामाङ, उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी आदि अनुसन्धानको घेरामा छन् ।