२२ खेलका खेलाडीलाई एनएनआईपीए सम्मान

२२ खेलका खेलाडीलाई एनएनआईपीए सम्मान

काठमाडौंः नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले विभिन्न खेलका २२ जना खेलाडीलाई एनएनआईपीए उत्कृष्ट वर्ष खेलाडी अवार्ड-२०७२ बाट सम्मान गरेको छ । संघले २०७२ सालमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मंगलबार राजधानीमा सम्मान गरेको हो । संघले भारतमा गत वर्ष सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मानेर सम्मानका लागि खेलाडी छनोट गरेको हो ।

दसौं एनएनआईपीए उत्कृष्ट वर्ष खेलाडी सम्मानबाट सम्मानित हुने खेलाडीमा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीरबहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेमप्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्सलदेवी तामाङ, जुडोकी फुपूल्हामु खत्री, सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, साइक्लिङका अजय पण्डित, ट्रायथलनकी रोजा केसी, कबड्डीकी शान्ति मल्ल र लनटेनिसका अभिषेक बाँस्तोला छन् ।

यसैगरी हक्कीकी कुश्मा रानामगर, खोखोकी अर्पणाकुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्तीमगर, टेबुलटेनिसका दीप साउन, ह्यान्डबलकी रञ्जना राई र एथलेटिक्सका हरिकुमार रिमाल पनि सम्मानित भएका छन् । खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ट्रफीसहित जनही पाँच हजार र सम्बन्धित राष्ट्रिय खेल संघले पाँच हजार गरी कुल १० हजार रुपैयाँ पनि प्रदान गरियो । संघले खेलाडीको प्रदर्शन र सम्बन्धित संघको सिफारिसलाई समेत छनोटको आधार मानेको जानकारी संघका अध्यक्ष दीपक विष्टले दिए ।

रोकायालाई ‘गजराज जोशी सम्मान'

यसैगरी एनएनआईपीएले एथलेटिक्सका प्रशिक्षक एवं पूर्वधावक हरिबहादुर रोकायालाई ‘गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व सम्मान' बाट सम्मानित गरेको छ । रोकायलाई सम्मानपत्र र २५ हजार रुपैयाँ प्रदान गरियो । लगातार तीनपटक एभरेस्ट म्याराथनमा स्वर्ण पदक जितेका रोकाय गिनिज बुकमा नाम लेखाउन पनि सफल भएका छन् । दुई पटक ओलम्पिक खेलकुदमा सहभागी भएका रोकायले राष्ट्रिय र अन्य अन्तर्राष्ट्रिय स्पर्धामा पनि थुप्रै सफलता हात पारेका छन् ।

हाल जुम्लामा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर सञ्चालन गरी एथलेटिक्स खेलाडी उत्पादनमा लागेका रोकायले सम्मानले खेल क्षेत्रमा अझ धेरै काम गर्ने जोस पलाएको बताए । ‘यस्ता सम्मानले नयाँ पुस्ताका खेलाडीलाई खेलमा लाग्न प्रेरणा दिन्छ । सरकारले पनि खेलाडीलाई सम्मान र प्रोत्साहन गर्न आवश्यक छ,' रोकायाले भने । खेलाडीलाई पूर्वअर्थमन्त्री शंकर कोइराला, राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, ओलम्पियन एवं राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाललगायतले अवार्ड प्रदान गरेका थिए । अवार्ड कार्यक्रममा खेलाडी र राष्ट्रियस्तरका कलाकारले मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.