‘रोग जितेर बाँच्न सिकाउँदैछु'
बैतडीः बैतडीको पाटन नगरपालिका २ सिलंगाकी निर्मला ऐर १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन् । खुसीले त्यतिबेला निर्मलाको मन फुरुंग थियो जतिबेला घोडा चढेर पराइघर गइन् ।
उनी नजिकैका कमलसिंह ऐरसँग विवाह बन्धनमा बाधिएकी थिइन् । आमा बुबाले पनि उमेर मिल्दोजुल्दो अनि खाइलाग्दो केटा पाएपछि छोरीको बिहे गर्ने निधो गरे । त्यसमा पनि भारतमा गएर पैसा कमाउने मान्छे भनेपछि गाउँमा राम्रै मानिन्थ्यो ।
कमलसिंहसँगको वैवाहिक बन्धनमा बाँधिएकी निर्मलाका ३ वर्ष त राम्रोसँगै बिते । २१ वर्षको उमेरमा छोराको आमा पनि बनिन् निर्मला । त्यो क्षण निर्मलाका लागि झन् खुसीको क्षण बन्यो । तर, मानिसले सोचेजस्तो त कहाँ हुँदो रहेछ र? दैवले निर्मलाबाट कमलसिंहलाई २५ वर्षकै उमेरमा चुँडेर लग्यो । कमललाई एचआईभी भएको भन्ने कुरा निर्मलाले कमलले यो संसारबाट बिदा भएपछि मात्रै थाहा पाइन्, त्यो पनि आफ्नो स्वास्थ्य परीक्षण गराएपछि मात्रै ।
श्रीमानको मृत्यसँगै अवहेलनाको सिकार पनि बन्नुपर्यो निर्मलाले । उनले भनिन्, ‘ श्रीमान्लाई क्षयरोग लागेको थियो । क्षयरोगको औषधि ८ महिना खान डाक्टरले खान सल्लाह दिएपछि सोहीअनुसार श्रीमान्ले औषधि खान सुरु गरे तर बीचमै औषधि खान छोडर उहाँ दिल्ली जानुभयो । उता गएको एक महिनामै उहाँको मृत्यु भयो ।'
श्रीमान्को मृत्युपछि निर्मलालाई पनि रोगले च्याप्दै लग्यो । श्रीमान् बिरामी भएदेखि नै अलिअलि बिरामी पर्न थालेकी निर्मला श्रीमान्को मृत्युपछि रोग र शोक दुवैमा डुबिन् । ‘ श्रीमान्को मृत्युपछि छोरालाई हुर्काउने पीर एकातिर थियो । आफू पनि बेलाबेलामा बिरामी हुन थालेपछि झन् गाह्रो हुन थाल्यो । श्रीमान्को मृत्युपछि घरमा बस्ने वातावरणसमेत बन्न सकेन ।'
जिल्लामा अहिले १ सय ८६ जना संक्रमित रहेकोमा १ सय ६१ जना महिला छन् । ती सबै एआरटी औषधि लिन सदरमुकाम पुग्ने गर्छन् ।
उनले भनिन्, ‘ श्रीमान् बितेको चोट एकातिर, अनि टुहुरो छोरा हुर्काउने जिम्मा अर्कोतिर ।' त्यसमा आफू पनि एचआईभी संक्रमित निर्मलाको जीवनमा पर्नुसम्मको दुःख आइपर्यो । घरपरिवारले हेलाँ गर्न थालेपछि माइतीमै बस्न थालिन् निर्मला । ‘ श्रीमान् बितेको ७ वर्षपछि मात्रै निर्मलालाई एचआईभीको संक्रमण भएको थाहा भयो ।
एचआईभी संक्रमित भनेर थाहा पाएपछि मरिहालुँ जस्तो लाग्यो तर छोरालाई हुर्काउनकै लागि भनेर बाँचे', उनले भनिन्, ‘सुरुमा थाहा पाएपछि अब समाजमा कसरी मुख देखाउने भन्ने लागेको थियो तर पछि यो पनि रोग हो, औषधिले काम गर्छ भन्ने थाहा पाएपछि मलाई बाँच्ने साहस आयो ।'
एचआईभी संक्रमित भएको थाहा पाएपछि निर्मलाले माइतीको सहयोगमा नियमित औषधि खान थालिन् । उनले भनिन्, ‘मजस्तै धेरैले अनाहकमा यसको सिकार हुनु परेको छ । त्यसैले अहिले यो रोगका बारेमा सबैलाई जानकारी गराउने गरेकी छु । खास गरेर महिलाहरू अझै पनि खुलेर बाहिर आउन सकिरहेका छैनन् । उनीहरूलाई समेत रोगका बारेमा जानकारी दिएर औषधिको व्यवस्था गर्न प्रयास गरेकी छु ।'
अहिले सामुदायिक हेरचाह केन्द्रमा निर्मलाले उपचारका लागि सदरमुकाम पुग्ने संक्रमितलाई खान बनाएर खुवाउने, अस्पताल पुर्याउनेदेखि लिएर उनीहरूलाई परामर्श दिने काम गर्न थालेकी छन् । उनले भनिन्, ‘एचआईभीबारे ग्रामीण क्षेत्रका महिलालाई अझै पनि जानकारी छैन । त्यसैले उनीहरूले अनाहकमा यो रोगको भारी उचाल्नु परिरहेको छ । त्यस्ता महिलालाई समेत परामर्श दिन थालेकी छु ।'
एचआईभी संक्रमित भएपछि अवहेलना गर्ने, अर्कै दृष्टिले हेर्ने चलन छ, त्यो चलन फेर्न म सक्रिय छु । सामुदायिक हेरचाह केन्द्रमा अधिकांश महिला आउने गर्छन् । उनीहरूलाई हरेस नखान सल्लाह दिने गरेकी छु । निर्मलाले भनिन्, ‘जीवन भनेको संघर्ष हो । एचआईभी रोग हो, यो रोगलाई जितेर पनि बाँच्न सिकेकी छु र सिकाउँदैछु ।'
जिल्लामा अहिले १ सय ८६ जना संक्रमित रहेकोमा १ सय ६१ जना महिला छन् । ती सबै एआरटी औषधि लिन सदरमुकाम पुग्ने गर्छन् । सदरमुकाम पुगेकाहरूलाई सामुदायिक हेरचाह केन्द्रमा राखेर परामर्श दिने गरेको निर्मलाले बताइन् । एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन, संक्रमित महिलालाई साहसी भएर बाँच्न सिकाउन आफू लागि परेको निर्मलाले बताइन् । उनले भनिन्, ‘मलाई अहिले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । म पनि अरू मानिसजस्तै काम गर्न सक्ने भएकी छु ।'