भक्तपुरका क्याम्पसको स्ववियु निर्वाचनमा आधामात्रै मतदान
भक्तपुर : भक्तपुरका दुईवटा क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पचास प्रतिशतमात्रै मतदान भएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसमा भन्दा सानोठिमी शिक्षा क्याम्पसमा कम मतदान भएको छ । कूल एक हजार ६ सय ५६ मतदाता रहेको भक्तपुर बहुमुखी क्याम्पसमा ५९.१७ प्रतिशत अर्थात नौसय ८० मतमात्रै खसेको छ ।
त्यस्तै एक हजार ६ सय ५१ मतदाता भएको सानोठिमी शिक्षा क्याम्पसमा ५२.३३ प्रतिशत अर्थात आठ सय ६४ मात्रै मतदान भएको छ । सानोठिमीमा निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार सबेरै क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरिएको थियो ।
उक्त घटनाले पनि सानोठिमीमा मतदान गर्ने विद्यार्थीहरुको संख्या घटेको अनुमान गरिएको छ । त्यस्तै काठमाडौं प्रमुख क्याम्पसहरुमा तालाबन्दी भएकाले धेरै विद्यार्थीहरु निर्वाचन हुने नहुने अन्योलबीच भक्तपुरका क्याम्पसहरुमा निर्वाचन हुँदा मतदानमा विद्यार्थीहरु छुटेको हुनसक्ने विद्यार्थी संगठनहरुले अनुमान गरेका छन् ।
स्ववियु निर्वाचनलाई मिनि आम निर्वाचन मानिन्छ । त्यसैले स्ववियु निर्वाचनमा हुने सहभागिताले देशमा हुने आम निर्वाचनमा प्रत्यक्ष असर पर्छ ।
सरकारले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।
मधेसवादी दलको विरोध हुँदाहुँदै स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिएको छ । विद्यार्थी संगठनहरुकै सहमतिमा फागुन १४ गते हुनुपर्ने स्ववियु निर्वाचन चार दिन पछि सार्दा पनि ६० प्रतिशतभन्दा बढी क्याम्पसहरुमा चुनाव हुन सकेको छैन ।
चुनाव भएका क्याम्पसहरुमा समेत कम मतदान भएबाट स्थानीय निर्वाचन पनि प्रभावित हुने अड्कल गरिएको छ । भक्तपुरका दुई क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । मतदानलगत्तै मतगणना कार्य अघि बढाइएको छ ।
बुधबार अबेरसम्ममा प्रत्यक्षतर्फको परिणाम आउने बताइएको छ । प्रत्यक्ष निर्वाचित र समानुपातिक दुवैतर्फको मत गणना एकैपल्ट सुरु गरिएकाले बुधबारभित्रै सबै परिणाम आइसक्ने विद्यार्थी संगठनहरुले जनाएका छन् ।
भक्तपुर बहुमुखी क्याम्पसमा कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ र नेपाल मजदुर किसान पार्टी समर्थित ने्पाल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त उम्मेदवारी दिएका छन् ।
उक्त एकताअनुसार अध्यक्ष र कोषाध्यक्षमा नेक्राविसंघका दिनेश खड्गी र मिलन गणेजूको उम्मेदवारी दिइएको छ । त्यस्तै सचिवमा नेविसंघका विवेक लामिछानेको उम्मेदवारी परेको छ ।
निर्वाचित हुने सात सदस्यमध्ये नेक्राविसंघका विकल कुसी, झरना बोहरा, रिजना ग्वाछा र किशोर गोसाई तथा नेविसंघका विनिता रिजाल, पुकार पराजुली र सुदीप घोरासाइनेको उम्मेदवारी दिइएको छ ।
भक्तपुर क्याम्पसमा एमाले समर्थित अनेरास्ववियुले भने दीपकबहादुर विष्टको नेतृत्वमा एकल प्यानलको उम्मेदवारी दिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले पनि सञ्जय ठिमीको नेतृत्वमा आफ्नै छुट्टै प्यानलको उम्मेदवारी दिएको छ ।
यसअघि नेमकिपा समर्थित नेक्राविसंघले एमाले अखिलसँग एकता गरी स्ववियुको नेतृत्व गरेको थियो । त्यस्तै भक्तपुरकै सानोठिमी शिक्षा क्याम्पसमा भने नेविसंघले नेकपा माओवादी केन्द्र समर्थित अखिल (क्रान्तिकारी) सँग एकता गरेको छ ।
नेविसंघ र क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिमा रमेश खड्का, सचिवमा निशान राई र कोषाध्यक्षमा पार्वती शर्माको उम्मेदवारी दिइएको छ । त्यस्तै एमाले समर्थित अनेरान्ववियुले भने विप्लव समर्थित अखिल क्रान्तिकारीसँग एकता गरी उम्मेदवारी दिएको छ ।
उक्त समूहले अध्यक्षमा लालबहादुर रोकाया, सचिवमा गणेशबहादुर केसी र कोषाध्यक्षमा दीपा राईसहितको प्यानल दर्ता गराएको छ ।
सानोठिमी क्याम्पसका प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा मंगलबार बिहानै गरिएको आजगनीलाई दिएर नेविसंघ र अखिल क्रान्तिकारीले हार्ने डरले एमाले अखिल र विप्लव अखिलले गराएको आरोप लगाएको छ ।
त्यस्तै एमाले र विप्लव समिर्थत अखिलले पनि नेविसंघ र अखिल क्रान्तिकारीले हार्ने डरले निर्वाचन विथोल्नले प्रहरी प्रशासनको आडमा आगजनी गरेको आरोप लगाएका छन् । महानगरीइ प्रहरी वृत्त ठिमीले भने घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।