किन हटाइए तामाङ
काठमाडौः काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तानिएका छन् । मन्त्रालयले सहसचिव ईश्वर पौडेललाई महानगरपालिकाको प्रमुखको रुपमा सरुवा गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका पौडेलको एक साताअघि मात्रै मन्त्रालयमा सरुवा भएको थियो ।
मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख चक्र बहादुर बुढाले तामाङ लामो समय महानगरपालिकामा बसेकाले मन्त्रालयले सोचेर सरुवा गरेको बताए । उनले भने, ‘कुनै ठूलो आरोपबाट उनलाई सरुवा गरिएको होइन, मन्त्रालयले आवश्यक ठानेर सरुवा गरेको हो ।'
पछिल्लो समय तामाङ माथि उनले गरेका हरेक निर्णय विवादरहित हुन सकेन । हिल्टन, होटलको नक्सा पास देखि लिएर कर्मचारी वेथिति नियन्त्रण गर्न नसकेको, विद्युतीय सुशासन सेवा (मार्स) लाई सञ्चालन गर्न नसकेको, योजना बनाउँदा तीनचार जनाको घेरामा सीमित रहेको र मन्त्रालयसँग समेत समन्वय नगरी काम गरेको जस्ता आरोप लाग्दै आएको थियो ।
तामाङमाथि निर्णय क्षमतामा कमजोर, महानगरपालिकाको प्रमुख भएर जथाभावी भवन निर्माण ईजाजत प्रमाणपत्र वितरण गरेको र महानगर अन्तर्गतका बरिष्ठ कर्मचारीसँग कुनै सल्लाहविनै गुटगतमा निर्णय गरेको आरोप महानगरपालिका भित्रै थियो । स्रोतका अनुसार महानगरपालिकाका बरिष्ठ कर्मचारीले तामाङको एकलौटी निर्णयको विरोध गर्दै मन्त्रालयमा समेट पटकपटक विरोध जनाएका थिए ।
‘तामाङले स्थानीय स्वायत्त शासन ऐनको दुरुपयोग गर्दै मन्त्रालयसँग समेत समन्वय नगरी धेरै विरोधाभास निर्णय गरे, जुन गलत थियो, मन्त्रालयका एक उच्च अधिकृतले भने, ‘नक्सालमा बन्दै गरेको होटल हिल्टनको नक्सापासमा समेत तामाङले हचुवाको भरमा गरेको देखियो ।'
तामाङले बरिष्ठ कर्मचारीलाई पाखा लगाउँदै आफु निकट कनिष्ठ कर्मचारीलाई काखी च्यापेर निर्णय गरेपछि महानगरपालिका भित्रै उनी तारो बनेका थिए । तामाङले आफु विदामा बस्दा नियमावली विपरित बरिष्ठ कर्मचारीलाई दुई थरी भूमीका दिएपछि उनी आलोचित बनेका थिए ।
तामाङले आफ्नो सरुवालाई सामान्य रुपमा लिएको बताए । उनले भने,‘पहिला मैले काठमाडौं महानगरपालिका हेर्थेँ अब देशभरमै नगरपालिका हेर्छु, सरुवामा मेरो कुनै गुनासो छैन ।' तामाङको मन्त्रालय भित्र नगरपालिका तथा वातावरण महाशाखामा सरुवा भएको हो ।