छारेरोगी युवा १५ वर्षदेखि दाम्लोमा
सन्धिखर्कः अर्घाखाँचीको हंसपुर निवासी २९ वर्षीय विष्णुबहादुर थापा क्षत्रीलाई दाम्लोले बाँधेर राख्ने गरेको १५ वर्ष पुगेको छ । हंसपुर ४, मेहेलपानी, लम्धारा निवासी थापा सानैदेखि मिर्गी (छारे) रोग लागी बेला–बेलामा बेहोस हुने गर्थे ।
मिर्गीको समयमै उपचार नपाई मानसिक असन्तुलन भएको तथा बेला बेलामा छिमेकीलाई दुःख दिने, गाईवस्तु फुकाइदिने, कपडा च्यात्नेजस्ता गतिविधि गर्ने गरेकाले उनलाई बाँधेर राख्ने गरेको स्थानीय कमल थापाले बताए । कक्षा ८ पढ्दा पढ्दै आर्थिक अभावका कारण किताब–कापी किन्नसमेत नसकेका उनलाई उपचार गर्न आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्नुको सट्टा सुरु सुरुमा साङ्लोले र पछि डोरीले खुट्टा बाँधेर राखिएको थापाले बताए ।
उनका अनुसार दिदीहरूको पहिले नै बिहे भएको र दाइहरू पनि छुट्टिएर बसेकाले उनलाई कसैले वास्ता गर्दैनन् । उनलाई स्याहार सुसार गर्दै आएका बृद्ध बुबाको पनि असोजमा मृत्यु भयो । ७२ वर्षीया आमाले खुवाउने, चुठाउने, दिसा–पिसाब गराउने गरेको स्थानीय एलबी थापाले बताए । उनीहरूको आयस्रोत भनेकै आमाको वृद्धाभत्ता रहेको छ । उनले विस्तारामै दिसा–पिसाब गर्छन् । सरसफाइ अभावले मानिस नजिक जान पनि नसक्ने अवस्था छ ।
उनलाई दाम्लोले हातखुट्टा बाँधेर राखेको साथै रातमा पनि घरको दलानमा मान्द्रोले बारेर सुताउने गरिएको छ । दाम्लोले बाँध्दा हातमा घाउसमेत भएको छ । लामो समयसम्म हात पछाडि लगी बाँधेर राखेकाले उनी हात माथि लैजान पनि सक्दैनन् । समय–समयमा असल व्यवहार पनि देखाउनाले उपचार गरे केही हदसम्म निको हुने आमाको आशा छ । कसैले सहयोगमा उपचार गर्न सके उनको रोग निको हुने उनकी आमाल तथा छिमेकीको विश्वास छ ।
आमा आफैं वृद्ध भएकी र स्याहार गर्न कठिन हुने गरेको छिमेकी बताउँछन् । कुनै संघ संस्थाले लगेर पालन पोषण गरिदिए उनको कल्याण हुने छिमेकी एलबी थापाले बताए ।