आयातित सुकुमेल भारत तस्करी
विराटनगरः समुन्द्रपारिको तेस्रो मुलुकबाट आयात गरेर नेपालबाट भारततर्फ सुकुमेल तस्करी हुन थालेको छ । नेपालमा खपत हुनेभन्दा बढी परिणामको सुकुमेल आयात भइरहेको विवरणले पनि तस्करी हुने गरेको प्रष्ट हुन्छ ।
तेस्रो मुलुकबाट ल्याएर सुपारी भारततर्फ तस्करी हुने क्रम रोकिएसँगै यो धन्दामा सक्रिय रहेकाहरूले सुुकुमेल तस्करीको बाटो रोज्न थालेको तथ्य बाहिर आएको हो । भन्सार बढेर भारतमा समेत महँगो मूल्य पर्न थालेपछि व्यापारीले तेस्रो मुलुकबाट भइरहेको सुपारी आयात रोक्दा यसको तस्करी पनि बन्द भएको थियो ।
विराटनगर १८ मा रहेको श्रीयान्त इन्टरप्राइजेजको गोदामबाट त्यहीँका सुरक्षा गार्ड र कर्मचारीको मिलेमतोमा सुकुमेल लुटिएको घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले सुकुमेल तस्करीको नयाँ तथ्य पत्ता लगाएको हो । फागुन १३ गते राति साढे १२ बजे सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर एक हजार ८० किलोग्राम सुकुमेल लुटिएको जानकारी आएपछि प्रहरीले अनुसन्धान गर्दा घटनामा कर्मचारीकै मिलोमतो रहेको रहस्य खुलेको थियो ।
लुटिएको मध्ये पाँच सय ७० किलोग्राम सुकुमेल बरामद गरेको प्रहरीले घटनामा संलग्न विराटनगर २२ का ५१ वर्षीय अस्लाम मियाँ, ५० वर्षीय सकुल मियाँ र ४६ वर्षीय फिरोज आलमलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । ‘सुकुमेल लुटिएको घटनाको अनुसन्धान गर्दा समुन्द्रपारिको तेस्रो मुलुकबाट ल्याएर भारततर्फ तस्करी हुने गरेको नयाँ तथ्य फेला परेको छ’, मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले भने, ‘यो विषय प्रहरी र भन्सार कार्यालयलाई समेत जानकारी थिएन ।’
पक्राउ परेकाहरूले भारत कटाउन लाग्दा सुकुमेल प्रहरीले बरामद गरेको थियो । एसपी भण्डारीले नेपालमा भन्दा भारतमा महँगो पर्ने भएकाले सुकुमेल तेस्रो मुलुकबाट ल्याएर भारततर्फ तस्करी हुन थालेको पत्ता लागेको बताए । उनले यो तस्करी रोक्न सीमा क्षेत्रमा विशेष टोलीसमेत परिचालन गरिसकिएको बताए ।
विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार सुपारीमा भन्सार बढेपछि व्यवसायीले सुपारी आयात रोकेर सुकुमेलको आयात बढाएका थिए । उनका अनुसार नेपालमा समुन्द्रपारिको मुलुक ग्वाटेमालाबाट सुकुमेल आयात भइरहेको छ । तेस्रो मुलुकबाट आयात गर्दा सुकुमेलमा भारतमा भन्दा कम भन्सार तिर्नुपर्ने भएपछि नेपाल र भारतबीचको भन्सारमा हुने फाइदाका आधारमा व्यापार गर्न पल्किएका व्यवसायीले सुकुमेल आयात ह्वात्तै बढाएको भन्सार कार्यालयको विश्लेषण छ । ‘यति ठूलो परिमाणमा किन सुकुमेल आयात भइरहेको छ भन्ने कुरा खोजीको विषयनै बनेको थियो’, बस्नेतले भने, ‘यसरी आयात भएको सुकुमेलको बजार नेपाल नभई भारत नै हो भन्ने पुष्टि भयो ।’
ग्वाटेमालामा नेपाली व्यापारीले खरिद गर्दा चालु आर्थिक वर्षमा प्रतिकिलो सुकुमेलको मूल्य एक हजार एक सय २५ रुपैयाँ अर्थात् नौ डलरबराबर परेको देखिन्छ । नेपाल ल्याउने क्रममा भन्सार महसुलसहित सबै खर्च जोड्दा एक हजार पाँच सय २७ रुपैयाँभन्दा बढी पर्दैन । भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) यही मूल्यमा समाहित हुन्छ । आयात खर्च प्रतिकिलोग्राम दुई सय रुपैयाँभन्दा बढी पर्दैन ।
नेपालमा ल्याएर व्यापारीले प्रतिकिलोग्राम एक हजार आठ सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री गर्छन् । त्यही सुकुमेल जोगवनीलगायतका भारतीय बजारमा प्रतिकिलोग्राम तीन हजार रुपैयाँ पर्ने विराटनगर भन्सार कार्यालयले जनाएको छ । नेपालमा भन्दा एक हजार रुपैयाँ बढी मूल्य भारतमा पर्ने भएकाले नेपालमा आयात गरेर भारततर्फ सुकुमेलको तस्करी हुन थालेको प्रहरीको निस्कर्ष छ ।
नेपालमा भन्दा एक हजार रुपैयाँ बढी मूल्य भारतमा पर्ने भएकाले नेपालमा आयात गरेर भारततर्फ सुकुमेलको तस्करी हुन थालेको प्रहरीको निस्कर्ष छ ।
ग्वाटेमालामा एक हजार एक सय २५ रुपैयाँमा खरिद गरिएको प्रतिकिलोग्राम सुकुमेलको बिल भन्सार महसुल बुझाउने बेलामा प्रतिकिलोग्राम मूल्य आठ सय ७५ रुपैयाँ देखाए पुग्छ । सुकुमेलका आयातकर्ताका अनुसार ग्वाटेमालामा नौ डलरमा खरिद गर्दै आएको सुकमेलेको मूल्य बढेर अहिले ११ डलर पुगेको छ । भन्सार प्रयोजनका लागि तयार पारिएको मूल्यसूचीमा भने सुकुमेलको मूल्यांकन सात डलर कायम गरिएको छ ।
त्यही भएर पनि नौदेखि ११ डलरसम्ममा खरिद गरिएको सुकुमेलको बिल सात डलरबराबरको देखाए पुग्छ । ‘भन्सार मूल्यांकन पनि कम भएकाले आयातकर्तालाई सजिलो भएको छ’, भन्सारका एक अधिकारीले भने, ‘प्रतिकिलोग्राम नौदेखि ११ डलरसम्ममा ग्वाटेमालामा खरिद गरिने सुकुमेलको भन्सार महसुल तिर्दा प्रतिकिलो सात डलरको बिल देखाए पुग्छ ।’
विराटनगर भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र २३ करोड मूल्यबराबरको तीन लाख ३५ हजार किलो सुकुमेल ग्वाटेमालाबाट आयात भइसकेको छ । यसबाट पाँच करोड ५४ लाख ६६ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ । गत आर्थिक वर्ष २०७२/०७३ मा ८५ लाख ७० हजार मूल्यबराबरको २५ हजार किलो सुकुमेल आयात भएको थियो । ‘चालु आर्थिक वर्षको सात महिनामा मात्र यति ठूलो परिणाममा सुकुमेल आयात हुनुले पनि भारततर्फ तस्करी हुन थालेको भन्ने कुराको पुष्टि गर्छ’, भन्सारका एक अधिकारीले भने, ‘यो परिणामको सुकुमेल नेपालमा खपत नै हुँदैन ।’
सिद्धासिद्धी इन्टरप्राइजेज, अर्यन्त मंगलम इन्टरप्राइजेज, श्रीयान्त इन्टरप्राइजेजलगायतका फर्मका नामबाट सुकुमेल आयात भइरहेको छ । ग्वाटेमालाबाट विजय धनावत, उनका भान्जा रतन अग्रवाल, हेमकरण दुगडलगायतले सुकुमेल आयात गरिरहेका छन् । दुगडले भारतमा महँगो पर्न थालेपछि सुपारी आयात रोकेर सुकुमेल आयात गर्न थालिएको बताए । भन्सार महसुल र भ्याट जोड्दा पनि भारतभन्दा मूल्यामा नेपालमा निक्कै ठूलो अन्तर परेपछि सुकुमेल आयात गर्न थालिएको उनको भनाइ छ ।
‘हामी सुकुमेल आयात गरेर सामान्य रूपमै नेपाली ग्राहाकलाई बिक्री गर्छौ’, दुगडले भने, ‘त्यसपछि कसले के गर्छ भन्ने कुरा हामीलाई थाहै हुँदैन ।’ उनका अनुसार नेपाली बजारमा बिक्री गरिएको सुकुमेल भारत तस्करी हुने कुराको कुनै जानकारी आयातकर्ता व्यापारीलाई छैन । प्रहरीले भने आयातकर्ताकै संलग्नतामा तस्करी भइरहेको हुन सक्ने आशंका गरेको छ ।