गृहमन्त्रीलाई ओलीको चेतावनी
काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीले एमालेविरुद्ध उत्तेजना फैलाएको आरोप लगाउँदै त्यस्तो कार्य बन्द गर्न चेतावनी दिएका छन् । पार्टीको मेची-महाकाली अभियानबारे जानकारी दिन बुधबार आयोजित अन्तरक्रियामा उनले निधिलाई देशको गृहमन्त्री बन्न सुझाएका हुन् ।
‘गृहमन्त्री देशको हुन्छ, कुनै पार्टीको हुँदैन । प्रतिपक्ष संवैधानिक हैसियतमा यहाँं आइपुगेको हो, कुनै भवितव्य परेर होइन । गृहमन्त्रीको काम शान्ति-सुरक्षा कायम गर्नु हो, कुनै उत्तेजना फैलाउने होइन’, ओलीले भने । उक्साहटलाई हल्का रूपमा नलिनसमेत उनले निधिलाई आग्रह गरेका छन् । एमालेको मेची-महाकाली अभियान कुनै दलको विरोधमा नभएको भन्दै ओलीले त्यसमा अवरोध र बाधा नगर्न आग्रह गरे । आफ्नो कार्यक्रमलाई कसैले अवरोध गरे एमालेले अस्वीकार गर्ने उनले बताए ।
एमालेलाई तराईबाट लखेटौं भन्नेसँग आगामी चुनावमा भेट हुने ओलीले चेतावनी दिए । ‘प्रतिपक्ष चुनाव गर भन्छ, सत्तापक्षको एउटा समूह बल्ल चुनाव घोषणा गर्छ, त्यसको एउटा पक्ष निर्वाचन हुन दिन्न भन्छ । उनीहरूले तराईमा ११ सिट जितेको हो तर त्यो पनि अबको चुनावमा जनताले भुलचुक सच्याउनेछन् । एमालेलाई तराईबाट लखटौं भन्न्नेहरूसँग अबको चुनावमा भेट हुन्छ’, उनले भने ।
कुनै दल विशेषको नाम नलिई ओलीले एमालेको मेची-काली अभियान र स्थानीय चुनावसँग कुनै साइने नभएको दाबी गरे । मेची-काली अभियानको घोषणा पुस २२ गते गरिएको र स्थानीय चुनाव घोषणा फागुन ९ गते भएकाले ती अलग-अलग कार्यक्रम भएको उनले प्रस्ट पारे ।
सरकारले संविधान संशोधन विधेयक संसद्मा टेबुल गर्न दिए मधेसी मोर्चा चुनावमा जान्छ भनेकाले एमालेले कडा विरोध नगरेको जानकारी उनले दिए । ओलीले संशोधन प्रस्ताव संसद्मा टेबुल भए पनि कुनै हालतमा पारित हुन नदिने दाबी गरे । नयाँ संविधानमा अधिकारका लागि कुनै विभेद नभएकाले अहिले संशोधन आवश्यक नभएको उनले बताए । ‘विदेशी बुहारी भित्रनेबित्तिकै त्यसले नागरिकता पाउने र त्यही दिन सांसद, मन्त्री बन्न पाउने माग नेपाली जनताको हुन सक्दैन’, ओलीले भने ।
एमालेले तराईका २२ जिल्लालाई लक्ष्य गरेर शनिबारदेखि मेची-काली अभियान सञ्चालन गर्दै छ । शनिबार झापाको काँकडभिट्टाबाट सुरु भई चैत ५ गते सुर्खेतमा अभियान समापन गर्ने कार्यक्रम एमालेले सार्वजनिक गरेको छ ।