विकासका लागि कोही बाधक बन्दैन, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्थायित्व कायम हुन लागि सकेकाले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका हुन्। प्रचण्डले भने,‘अब राजनीतिक स्थायित्व कायम हुने चरणमा छ। आर्थिक विकास र समृद्धिका लागि सवै राजनीतिक दल र नेताहरु एक ठाउँमा उभिएका छौं। त्यसैले लगानीको वातावरण अहिले राम्रो छ। ढुक्क हुनुस्।’
प्रधानमन्त्री प्रचण्डले मुलुक अहिले आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढिरहेकाले विदेशी लगानी पर्खिरहेको बताए। उनले विदेशी लगानी नेपालमा भित्र्याउँदै मुलुकलाई समृद्ध बनाउनका लागि कसैले विरोध नगर्ने बताए। वैदेशिक लगानीका लागि अहिले सबैभन्दा राम्रो वातावरण रहेको भन्दै उनले जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आश्वान गरे।
कार्यक्रममा एसियन पूर्वाधार विकास बैंकका अध्यक्ष जेन लीले आफूहरु ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक रहेको र त्यसको अध्ययनका लागि चिनियाँ टोली नेपाल आइसकेको बताए।
उनले भने,‘बैंकको टोलदी ऊर्जा क्षेत्रको अध्ययनका लागि नेपालमै छन्। उनीहरुले अध्ययनपछि कुन कुन क्षेत्रमा लगानी गर्न सुझाव दिन्छन् त्यही अनुसार हामी नेपालमा लगानी गर्न प्रतिबद्ध छौं।’ उनले आफूहरुको पहिलो प्राथमिकतामा ऊर्जा नै रहेको बताए।