चिवा भञ्ज्याङ व्यापारिक केन्द्र बन्ने
फिदिमः मध्यपहाडी लोकमार्गको उद्गमथलो च्याङथापु- ५, चिवाभञ्ज्याङसम्म सडक पुगेपछि भारतको सिक्किमसँग सिमाना जोडिएको चिवाभञ्ज्याङ दुई राष्ट्रबीचको पर्यटकीय गन्तव्य, व्यापारिक केन्द्र बन्ने सम्भावना बढेको छ ।
हरियाली वनजंगल, फराकिला फाँट, दुर्लभ मानिले वन्यजन्तु र जडीबुटी पाइने मनमोहक चिवाप्रति यहाँका मानिसले आशा र निराशाको दुवै दृष्टिले चर्चा गरेका हुन् । सदरमुकाम फिदिमदेखि ९५ किलोमिटर दुरीमा रहेको चिवासम्म मध्यपहाडी लोकमार्ग (सडक) पुगेपछि आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको च्याङथापुका यज्ञप्रसाद भट्टराईको भनाइ छ ।
‘प्राकृतिक दृष्टिले अनुपम चिवासम्म सडक पुगेपछि यहाँको सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक आउन थालेका छन््,' भट्टराईले भने, ‘यसलाई चिनाउन थप प्रचारप्रसारको खाँचो छ ।' भारत सँग सिमाना जेडिएकाले दुई देशबीचको व्यापारिक केन्द्रको रूपमा चिवालाई विकास गर्न सकिने सम्भावना पनि छ । ‘उताबाट (भारततर्फ) पनि चिवासम्म सडक ल्याउनका लागि नेपाल सरकारले पहल गर्नुपर्छ,' च्याङथापुका रामचन्द्र ढुंगेलले भने, ‘दुई देशको सडक सन्जाललाई मात्र जोड्न सके पूर्वी नेपालका लागि चिवा उत्कृष्ट पर्यटकीय क्षेत्र र व्यापारिक केन्द्र बन्नेमा दुई मत छैन ।'
चिवादेखि सिक्किमको उत्तरे बजारसम्म सडक आएको छ । सीमाक्षेत्र चिवादेखि उत्तर बजारसम्म पैदल दुई घन्टा लाग्ने फालेलुङ लामपोखरी पर्यटन प्रवद्र्धन सरोकार केन्द्रका सचिव मोहन ढुंगेल बताउँछन् । मध्यपहाडी राजमार्गलाई निकास दिन नेपाल सरकारले भारततिरबाट चिवासम्म सडक ल्याउन पहल गर्नुपर्ने स्थानीय बताउँछन् । ‘सडकले निकास नपाए चिवासम्म सडक पुर्याउनुको अर्थ छैन,' ढुंगेलले भने, ‘दुई देशबीचको व्यापारिक केन्द्रका रूपमा विकास नगर्ने हो भने चिवाक्षेत्रको विकास असम्भव छ ।'
मध्यपहाडी लोकमार्गको ट्र्याक पुगेदेखि चिवाभञ्ज्याङले चर्चा पाएको हो । अहिले चिवासम्म साना सवारीसाधन पुग्न थालेका छन् । सडक पुगेसँगै रमणीय चिवामा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । लेकाली फूल फुलेको बेला र विभिन्न चाड पर्वको अवसरमा आन्तरिक पर्यटकका लागि चिवा रोजाइको गन्तव्य बन्न थालेको हो । चैत, वैशाखमा गुराँस र चिमल ढकमक्क फुलेको बेला जिल्लावासी आफ्ना सन्तानसँग चिवासम्म उक्लन थालेका छन् । ‘सडकले चिवालाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउँदै छ,' ढुंगेलले भने, ‘व्यापारिक केन्द्र बनाउन सडकको निकासका लागि सरकाले भारतसँग पहल गर्नुपर्छ ।' चिवा क्षेत्रलाई लोपोन्मुख रेडपान्डा पाइने क्षेत्रको रुपमा चिनिन्छ ।
त्यस्तै मृग, भालु, चित्तल, कालेज, घोरल, वनकुत्तालगायत वन्यजन्तु पनि प्रशस्तै पाइन्छ । त्यस्तै चिराइतो, बूढोओखती, पाखनवेद, सतुवा, पाँचऔले चिमाल लगायतका जडीबुटी पनि प्रशस्त मात्रामा पाइन्छ । सडक सञ्जालको विकाससँगै यस्ता बहुमूल्य जडीबुटी र लोपोन्मुख वन्यजन्तुको चोरी निकासी हुन थालेकाले पनि चिवाको सम्भावनामा चुनौती थपिएको स्थानीय बताउँछन् ।