रक्सी नकिनिदिएको भन्दै कुटपिट गर्दा बोली नै गुम्यो
विराटनगरः मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्षीय मोहम्मद फिरोजको आवाज गुमेको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनको बोली नै गुमेको प्रहरीले जनाएको छ ।
तीन\चार जनाको समूहमा रहेका युवाहरुले बुधबार राति ११ बजेतिर आक्रमण गरेका थिए । रक्सी नकिनिदिएको भन्दै फिरोजमाथि कुटपिट भएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन् ।
‘पहिले राम्ररी बोल्न सक्ने थिए,’ आफन्तलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक प्रविण भट्राईले भने, ‘कुटपिटपछि होस रहेपनि बोलीनै गुमेको छ ।’ भट्राईका अनुसार उपचारकालागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएका उनी केही पनि बोल्न सक्दैनन् । घटनाका बारेमा उनले कागजमा लेखेर प्रहरीलाई जानकारी दिएका छन् । उपचारमा संलग्न चिकित्सकले उपचारपछि बोली खुल्ने जानकारी प्रहरीलाई दिएका छन् ।
घरतर्फ जाने क्रममा बाटोमा रहेका युवाहरुले रक्सी किनिदिन भनेको र आफूले किन्न नसक्ने बताएपछि एक्कासी आक्रमण गरेको फिरोजको भनाइ छ । कुटपिट हुन थालेको जानकारी पाएर स्थानीय जम्मा हुँदा । कुटपिटमा संलग्न फरार भइसकेको प्रहरीले बताएको छ । स्थानीयले उनलाई अस्पताल पुर्याएका थिए । घटनामा संलग्नको पहिचान नभएको र खोजी कार्य जारी रहेको प्रहरी नायव निरीक्षक भट्राईले जानकारी दिएका छन् ।