भक्तपुरमा एनएमबिको शाखारहित बैकिङ सेवा
भक्तपुर: एनएमबि बैंकले भक्तपुरको महामञ्जु नगरपालिकाको सुंडाल गाविसमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ। बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले शाखारहित बैकिङ्गको उद्घाटन गरेको हो।
उनले शाखारहित बैकिङ्ग सेवाको उद्घाटन तथा पिओटि मेसिन बैंकको स्थानीय प्रतिनिधि केशव न्यौपानेलाई हस्तान्तरण गर्दै खुसी व्यक्त गरे। उनले भने, 'शाखा रहित बैकिङ्ग सेवाले स्थानीय जनसमुदायको सरल बैकिङ्ग पँहुचमा टेवा पुग्नेछ। यसमा म पूर्ण विश्वस्त छु।'
शाखारहित बैंकिङमा डेविट/क्रेडिट कार्ड वा औंठा छापको प्रयोग गरी अत्यन्त सुरक्षित तरीकाले क्यास डिपोजिट तथा विथड्रल, युटिलिटि पेमेन्ट गर्न सकिनेछ। यसका साथै ब्यालेन्स ट्रान्सफर लगाएत अन्य सुबिधा प्राप्त गर्ने सकिने बैंकले जनाएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय जनसमुदाय, ग्राहक, व्यापारी तथा बैंकका कर्मचारीहरु समेतको उपस्थिति थियो। यो नयाँ शाखा रहित बैकिङ्ग सेवा सँगै बैंकको कुल ७२ शाखा ५७ एटिएम र ७ एक्टेन्सन काउन्टर पुगेको छ।