विप्लव भन्छन् : दलाल पुँजीपति व्यवस्थाले देश संकटमा
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर रोल्पामा सम्पन्न आठौं महाधिवेशनका निर्णय सार्वजनिक गरेको छ।
निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले पुँजीपति व्यवस्थाले राज्य संकटमा परेको बताएका छन्।
‘राज्य संकटमा छ, यो संकट कांग्रेसको र एमालेको मात्र होइन। यो संकट माओवादी वा मधेसी मोर्चाको मात्र पनि होइन,’ विप्लवले भने, ‘यो संकट भनेको दलाल पुँजीपति व्यवस्थाको हो ।’
उनले वर्तमान राजनीतिक दलले देशको संकट समाधान गर्न नसक्ने समेत दाबी गरे। ‘दलाल पुँजीपति व्यवस्थाभित्र रहेका कुनै पनि पार्टीले देशको संकट समाधान गर्न सक्दैनन्’, विप्लवले भने।
लोकतान्त्रिक भन्ने शक्तिहरु विदेशीको दलालीमा फसेको आरोप लगाउदै विप्लवले नेतृत्वको विचलनले देश संकटमा परेको आरोप लगाए ।
‘लोकतान्त्रिक शक्ति भन्नेहरु पनि कुनै न कुनै किसिमले शरणमा पुगेर विदेशीकै दलालीमा फसेका छन्’, विप्लवले भने, ‘नेपाली जनताले गरेका अपेक्षा नेतृत्वमा आएको विचलनले पुरा हुन सकेनन्, त्यसैले वर्तमान नेतृत्वको विकल्प खोजी गर्नुपर्छ ।’