लगानीको ‘अवसरै अवसर'
काठमाडौंः पच्चीस वर्षपछि नेपालमा भएको लगानी सम्मेलनका मुख्य वक्ता भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालको प्राकृतिक स्रोतसाधनमा लगानीको ठूलो अवसर रहेको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा विदेशी लगानी भित्र्याउन सुझाव दिएका छन् ।
राजधानीमा बिहीबार सुरु भएको लगानी सम्मेलनमा भारतीय वित्तमन्त्री जेट्लीले नेपालको आर्थिक विकासका लागि ठूलो लगानी आवश्यक रहेकोसमेत औंल्याए । ‘भारतले खुला अर्थनीति अवलम्बन गर्यो । निजी क्षेत्रलाई लगानीको बाटो खुला गर्यो । विदेशी लगानीलाई सहज बनायो । स्वदेशी-विदेशी लगानी बढेपछि भारत आर्थिक विकासमा अगाडि बढ्न सकेको हो', जेट्लीले भने, ‘नेपालको समृद्धिका लागि पनि बढीभन्दा बढी लगानीको आवश्यकता छ ।'
लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण बनाउने उनको विश्वास छ । साढे दुई सय विदेशी लगानीकर्तासहित हजारजनाभन्दा बढी सहभागी सम्मेलनको उद्घाटन राजधानीमा एक भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । प्रधानमन्त्री दाहालले संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै सरकारले मुलुकको समृद्धिका लागि विदेशी लगानी भित्र्याउन उपयुक्त वातावरण बनाएको बताए ।
लामो समयको द्वन्द्वपछि मुलुक विकासको चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वानसमेत गरे । ‘मुलुकमा लगानीमैत्री वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत छ', उनले भने, ‘नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउन लगानी सम्मेलन गरिएको हो ।'
उनले विदेशी लगानीका लागि सरकारले सबै प्रक्रिया सहज बनाइदिने प्रतिबद्धता जनाए । आर्थिक मुद्दामा सबै राजनीतिक दलको एकमत रहेको हुँदा लगानी सुरक्षाका विषयमा निश्चिन्त रहन उनको आग्रह छ ।
भारतीय वित्तमन्त्री जेट्लीले नेपालको आर्थिक विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, प्रसारण लाइनलगायत क्षेत्रमा हातेमालो गरिरहेको समेत स्मरण गरे । भारतले आगामी दिनमा पनि नेपालका लगानीका सम्भावित क्षेत्रमा सहयोग गर्ने आश्वासन उनले दिए । नेपाल र भारतको द्विपक्षीय सम्बन्ध उच्च तहको भएकाले सदैव नेपालको आर्थिक उन्नति देख्न चाहेको समेत उनले बताए ।
‘नेपालले २५ वर्षअघि लगानी सम्मेलन गर्दा राम्रो रिजल्ट आएको थियो । यो सम्मेलनले नेपालको मुहार फेर्ने अपेक्षा छ', जेट्लीले भने, ‘सम्मेलनले विदेशी मात्र होइन, स्वदेशी लगानीलाई पनि प्रोत्साहित गर्नेछ ।' मुलुकको विकासका लागि सबैभन्दा पहिला मुलुकवासीले नै लगानी गर्नुपर्ने औंल्याउँदै उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको ठूलो सहभागिता आवश्यक हुने बताए ।
‘लगानीले लगानी भित्राउँछ । त्यसबाट हुने प्रतिफलले अझ ठूलो लगानी ल्याउन प्रेरणा मिल्छ । यसबाट रोजगारी सिर्जना हुन्छ र मुलुकबाट गरिबी हट्दै जान्छ', उनले भने । एसियाली पूर्वाधार लगानी (एआईआईबी) बैंकका अध्यक्ष जिन लिक्वुनले नेपालका ठूला परियोजनामा लगानी गर्न तयार रहेको बताए । ‘निजी क्षेत्रसँग सहकार्य गरी ठूला परियोजनामा काम गर्न चाहन्छौं', उनले भने, ‘नेपालको ऊर्जा, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न सकिन्छ ।'
नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको औंल्याउँदै उनले नेपाल सरकारले सहयोग गरेमा जुनसुकै परियोजनामा लगानी गर्न सकिने बताए । नेपालको नीतिअनुसार छिटो, छरितो र कष्ट इफेक्टिभ रूपमा लगानी गरेर अगाडि बढ्न सकिने उनले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान जारी भएसँगै नेपाल विदेशी लगानीका लागि उपयुक्त गन्तव्य बनेको बताए । मुलुक दोस्रो चरणको आर्थिक रूपान्तरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले यसका लागि प्रशस्त विदेशी लगानी आवश्यक रहेको औंल्याए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लगानीको उपयुक्त वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए । दलहरूबीच मतभेद भए पनि मुलुकको आर्थिक विकासमा सबैको धारणा एउटै भएको उल्लेख गर्दै उनले भने, ‘प्रतिपक्षमा भए पनि मुलुकको आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउन पहल गर्छौं ।' आर्थिक विकास मुलुकको पहिलो आवश्यकता भएकाले विदेशी लगानी आवश्यक रहेको उनको धारणा छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले नेपालका धेरै क्षेत्रमा लगानी गर्न सकिने औंल्याए । लगानीको सुरक्षणका लागि सरकार प्रतिबद्ध रहेको विदेशी सहभागीलाई आश्वस्त पार्दै उनले लगानी गर्न आह्वानसमेत गरे । ‘लगानीको वातावरण बनाउन सरकार नीतिगत सुधारमा लागेको छ', उनले भने, ‘विदेशी लगानीका लागि सबै क्षेत्रमा सहजीकरण गर्न सरकार तयार छ ।'
उनले चौबीसै घन्टा विद्युत् आपूर्तिको व्यवस्था गर्न लागेको र विदेशी लगानीको नाफा लैजान कुनै रोकावट नगर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनमार्फत विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीको सम्भवना, अवसर र उपयुक्त वातावरण रहेको जानकारी गराउन खोजिएको बताए । उनले ऊर्जा, कृषि, पर्यटन, पूर्वाधारमा लगानी गर्न आह्वान गरे ।
नेपालमा लगानीका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले विदेशी लगानी भित्र्याउन सरकार नीतिगत सुधारमा लागेको बताए । ‘नेपालमा ठूलो लगानी भित्र्याएर लाखौं रोजगारी सिर्जना गर्ने लक्ष्य छ', उनले भने, ‘अबको १० वर्षमा नेपाली युवा रोजगारी खोज्दै बिदेसिनुपर्ने बाध्यता अन्त्य हुनेछ ।'
पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल विदेशी लगानीका लागि सदैव खुला रहेकाले ऊर्जा, कृषि, पर्यटन र पूर्वाधारमा निश्चिन्त भएर लगानी गर्न आह्वान गरे ।
उनले २०४६ सालको राजनीतिक परिवर्तनसँगै मुलुकमा आर्थिक उदारीकरण सुरु भएपछि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा लगानी वृद्धि भएको बताए । सोही परिवर्तनपछि निजी क्षेत्र लगानीमा आकर्षित भएको र सूचनाप्रविधि, एयरलाइन्स तथा वित्तीय क्षेत्रको विकास भएको उनकोे भनाइ छ ।
‘जलविद्युत्, पूर्वाधारमा लगानीको सम्भवना छ', उनले भने, ‘मुलुकको अर्थतन्त्र र विकासमा दोस्रो चरणको रिफर्म आवश्यक छ । यसका लागि ठूलो विदेशी लगानी चाहिन्छ ।'
विदेशी लगानीको अपूर्व बजार
बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालका प्रबन्धनिर्देशक पुनित भास्र्नेले नेपालमा सय मिलियन अमेरिकी डलर लगानी गरिसकेको बताए । ‘लगानीका लागि नेपाल एउटा नयाँ र युनिक बजार हो', उनले भने, ‘यहाँका मानिस र सरकारसँग प्रत्यक्ष सम्बन्ध राख्न सकिने हुँदा काम गर्न पनि सहजता छ । नेपालमा युनिक ग्राहक छन् ।'
सन् २०२० पछि नेपालमा युवाको संख्या बढी हुने उल्लेख गर्दै उनले लगानीको प्रतिफल चाँडै पाइने बताए । ‘नेपालमा निरन्तर बजार बढ्दो छ । हामी नेपालमा लगानी बढाउने योजनामा छौं', उनले थपे, ‘नेपाल विश्वकै महत्र्वपूर्ण बजार हो ।'
नेपालमा लगानी गरेको अर्को बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्धनिर्देशक सुएस चौहानले नेपाल लगानीका लागि महत्र्वपूर्ण रहेको बताए । नेपाल दुई ठूला अर्थतन्त्र भएका मुलुक भारत र चीनको बीचमा छ । नेपालमा उत्पादित वस्तु भारत र चीनमा निर्यात गर्न सकिने हुँदा बजारको समस्या नहुने उनको भनाइ छ ।
नेपालबाट युनिलिभरका उत्पादन भारतलगायत मुलुकमा निर्यात हुँदै आएका छन् । बजारको समस्या नभएकाले विदेशी लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको हो । युनिलिभरले नेपालमा लगानी विस्तार गर्न लागेको बताउँदै उनले आक्रामक बजार विस्तारको योजना बनाएको जानकारी दिए ।
सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्यले नेपाल मात्र नभएर सार्कका सबै मुलुक लगानी भित्र्याउने ध्याउन्नमा लागेको बताए ।
सार्क क्षेत्रमा लगानीको सम्भवना रहेको औंल्याउँदै उनले नेपालमा अझ ठूलो सम्भावना रहेको बताए ।
निजगढमा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा मात्र नभई सार्क राष्ट्रकै पर्यटन विस्तारमा सघाउने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले लगानीका लागि ऊर्जा, पूर्वाधार, बैंकिङ, पर्यटनजस्ता क्षेत्र पहिचान गरी लगानी जुटाउन पहल गरिरहेको बताइन् । नेपालमा लगानीको वातावरण र सम्भावना रहेको बताउँदै लगानीका लागि विदेशी लगानीकर्तालाई आह्वान गरिन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा लगानीको अवसरै अवसर भएको बताए । ‘नेपालमा लगानीका लगि पूर्वाधार महत्र्वपूर्ण क्षेत्र हो', उनले भने, ‘पर्यटन उद्योग, रेलवे, टनेल र सहरी मेट्रो लगानीका महत्र्वपूर्ण क्षेत्रहरू हुन् ।'
गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने मुलुक भएको बताए । विभिन्न मुलुकमा रहेका एनआरएनलाई नेपालमा लगानीका लागि आह्वान गर्दै उनले अहिलेको समय लगानीका लागि उपयुक्त भएको स्पष्ट पारे । उनले भने, ‘नेपालमा ठूलो लगानी आवश्यक छ । यहाँ निजी क्षेत्र र सरकारसँग मिलेर पनि लगानी गर्न सकिन्छ ।'
नेपालका जनता मेहनती, लगानीका अधिकांश क्षेत्र भर्जिन र थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने तीन आकर्षक विशेषताका कारण नेपाल लगानीको उपयुक्त गन्तव्य भएको उनको भनाइ छ ।
मलेसियाबाट नेपालसम्म रेलवे !
सम्मेलनमा मलेसियाबाट नेपालसम्म रेल सञ्जाल विस्तार गर्ने प्रस्ताव आएको छ । मलेसियाका पूर्वयातायातमन्त्री डा. एम केभासले क्वालालम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्न प्रस्ताव गरेका हुन् । पूर्वाधारमा ठूलो रकम खर्चिनुपर्ने बेला आएको बताउँदै उनले दुई देशलाई रेल सञ्जालले जोड्न मलेसिया सकारात्मक रहेको बताए । उनका अनुसार मलेसियाबाट चीनको सिगात्से हुँदै काठमाडौंसम्म रेल ल्याउन सकिन्छ ।