मेसिनको अभावमा कुँजिँदै कला
काठमाडौं: प्रिन्ट मेसिनको अभावमा प्रिन्टमेकर कलाकारहरूका सिर्जना उनीहरूभित्रै गुम्सिरहेका छन् । विश्वमा ललितकलाको राम्रो विधा मानिने प्रिन्ट मेकिङलाई नेपालमा भने जोगाउनै मुस्किल भइरहेको छ ।
भूकम्पले ललितकला प्रज्ञा प्रतिष्ठानको भवन क्षति भएपछि स्थान अभावमा मेसिन अलपत्र परेको हो । मेसिन राख्ने ठाउँको अभावमा प्रतिष्ठानले त्यसको सदुपयोग गर्न सकेको छैन । भूकम्पअघि केही प्रतिष्ठानले प्रिन्ट मेकिङका कार्यशाला आयोजना गर्ने गरेको थियो । यही एउटा ठाउँमा कलाकारहरू गएर काम गर्न पाउँथे । त्रिभुवन विश्वविद्यालयमा रहेको प्रिन्ट मेसिन विद्यार्थीले मात्र प्रयोग गर्न पाउँछन् । त्यो पनि बिहान १० देखि बेलुकी ५ पाँच बजेसम्ममात्र । त्यति समयमा खुम्चिएर विद्यार्थीले न त राम्रोसँग अभ्यास गर्न पाउँछन्, न त विश्वविद्यालयबाट बाहिर निस्किएर काम गर्ने ठाउँ छ ।
कलाकार अनिता खनाल प्रिन्ट मेसिनको अभावमा आफूले पाउनुसम्म दुःख पाएको बताउँछन् । केही कलाकारहरूले व्यक्तिगत प्रयोजनका लागि प्रिन्ट मेसिन किनेर राखेका छन् । अरू कलाकारले उनीहरूको घरमा गएर काम गर्ने गरेका छन् । अनिता भन्छिन्, ‘अर्काको घरमा गएर समय मागेर काम गर्नुपर्दा असाध्यै गाह्रो हुन्छ ।’
त्रिभुवन विश्वविद्यालय ललितकला विभागकी पूर्वप्रमुख डा. सीमा शाहले दुईवटा प्रिन्ट मेसिन व्यक्तिगत प्रयोजनको लागि किनेकी छन् । करिब २० वर्षअघि नै उनले मेसिन ल्याएकी थिइन् । त्यतिबेला ८० हजार रुपैयाँ र पछिल्लोपटक आठ वर्षअघि ६ लाख रुपैयाँ खर्च गरेर मेसिन ल्याइन् । ललितकला प्रज्ञा प्रतिष्ठानमा सन् १९८६ देखि नै प्रिन्ट मेसिन थियो । त्यही मेसिन प्रयोग गरेर शाह दम्पतीले सन् १९९५ मा कला प्रदर्शनी गरे । त्यही प्रदर्शनीबाट जम्मा भएको रकमले उनीहरूले मेसिन किनेका थिए । अधिकांश कलाकार उनको घरमा गएर काम गर्ने गर्छन् ।
कलाकार सम्झना राजभण्डारीले ६ वर्षपहिले त्रिविमा स्नातकोत्तर गर्दा बनाएका प्रिन्ट नै अहिले प्रदर्शन गरिरहेकी छन् । रुचि भएर पनि काम गर्न नसकेका उनीजस्ता थुप्रै कलाकार छन् । त्रिविबाट अहिलेसम्म प्रिन्ट मेकिङ पढेका ३० जना विद्यार्थी दीक्षित भइसके । तर अधिकांशले प्रिन्ट मेकिङ छोडिसके । प्रिन्ट मेकिङ कलाको पुरानो विधा भए पनि नेपालमा भने यो भर्खरै सुरु भएको देखिन्छ ।
अर्का कलाकार उमेश शाह पनि त्यस्तै पीडामा छन् । मेसिनको अभावमा उनका पनि धेरै सिर्जना मरिरहेका छन् । जापानबाट प्रिन्ट मेकिङ पढेर आएका कलाकार कविराज लामा नेपाल आएपछि निराश भए । मेहनत गरेर पढेर आएपनि साधन स्रोतको अभावमा सोचेजस्तो काम गर्न सकेनन् । तै पनि आफ्नो बलबुताले भ्याएसम्म काम गरिरहेका छन् । काम गर्न चाहनेलाई पनि आशा लाग्दो वातावरण छैन ।
स्रोत अभावमा सिर्जना मर्नु कलाकारका लागि पीडादायी हो । एउटै मेसिन ल्याउन करिब चारपाँच लाख रुपैयाँ खर्च हुन्छ । त्यसको लागि बेग्लै स्टुडियो सेट गर्नुपर्छ । सबै कलाकारका लागि यो सम्भव हुँदैन । शारीरिक परिश्रम बढी गर्नुपर्ने, केमिकल रियाक्सनले स्वास्थ्यमा असर गर्ने भएकाले प्रिन्ट मेकिङमा धेरै कलाकारको रुचि हुँदैन । रुचि भएका कलाकारले पनि काम गर्ने स्रोतसाधन नै नपाउँदा सिर्जना कुँजिएर बसेका छन् ।
सिद्धार्थ आर्ट ग्यालरीमा यतिबेला प्रदर्शन भइरहेको प्रिन्टहरू कलाकारले आफ्नै क्षमताले बनाएका हुन् । मेसिन किन्ने र प्रिन्टको प्रवद्र्धन गर्ने उद्देश्यले कलाकारहरूले आफ्नै सक्रियतामा प्रिन्ट मेकिङ एसोसियसन गठन गरेका छन् ।