अभिनेत्रीको टाटु मोह
शरीरमा टाटुले बुट्टा भर्ने सोख धेरैको हुन्छ । अभिनेत्रीहरूमा यसको होड झनै बढी देखिन्छ । एक वर्षअघि अभिनेत्री शुभेच्छा थापाले वक्षस्थलमाथी नेपाली झन्डाको टाटु बनाइन् । चलचित्र बिन्दासको छायांकन चलिरहेको बेला केही नयाँ गर्ने चाहनाले उनले टाटु बनाएकी हुन् । पहिलेदेखि टाटु बनाउने धोको भएपनि आँट गरेकी थिइनन् । चलचित्रको लागि केही फरक देखिनु पर्ने भएकाले टाटु बनाएर आफ्नो सोख पूरा गरिन् ।
टाटु बनाउने रहर भए पनि के को चित्र बनाउने भनेर अल्मलिइन् । राष्ट्रिय झन्डा जति विशेष चित्र अरू हुनै नसक्ने भएकाले यसैको टाटु बनाइन् । गलत ठाउँमा टाटु बनाएको भनेर टिप्पणी पनि आए । माया छातीमा लाग्ने भएकाले छातीमै टाटु बनाएकी हुन् । भन्छिन्, ‘केटाको भए पनि केटीको भए पनि छाती छाती नै हुन्छ, त्यसमा विवाद किन ? ' मरेर जाँदा पनि देशको मायासँगै लैजान चाहन्छिन् उनी ।
त्यसैले टाटु मेटाउने विषयमा सोचेकै छैनन् । बरु शरीरमा अझै टाटु बनाउने सोचमा छिन् । टाटुमा उनको धोको पुगेको छैन । यसले स्वास्थ्यमा पनि कुनै असर नगरेको उनको अनुभव छ । टाटु देखाउनकै लागि बनाइन्छ । कहिलेकाहीँ टाटु छोपिने खालको पहिरन लगाउनु पर्दा उनलाई नमज्जा लाग्छ । पहिरन डिजाइन गर्दा टाटुलाई ध्यानमा राखेर गर्ने उनको योजना छ ।
अभिनेत्री अशिष्मा नकर्मीले पिठ्यूँको माथिल्लो भागमा कमलको सात पत्र बनाएकी छन् । जसमा ‘ओम माने पेमे' लेखिएको छ । नेपालका केही जातिमा टाटु बनाउने संस्कृति छ । जसमा नेवार जातिमा पनि पर्छ । अशिष्माले टाटु बनाएर आफ्नो संस्कृति बचाउन खोजेको बताइन् । नेवार महिलाले प्रायः हातमा चन्द्रमा बनाउँछन् । बौद्ध धर्मावलम्बी भएकाले बुद्धको आकृति बनाउने रहर थियो । तर बुद्धको आकृति बनाउन धेरै गाह्रो हुने र दुख्ने भएकाले उनले कमलको पत्र बनाइन् । टाटु बनाउनेलाई समाजमा बिग्रिएको भन्छन् ।
यस्तो सुन्दा अशिष्मालाई नराम्रो लाग्छ । पवित्र मन्त्रलाई शरीरमा खोपेकी उनलाई टाटु बनाएर कहिल्यै पछुतो लागेन । टाटुको लतले उनलाई पनि समाएको छ । अब नेवार संस्कृतिअनुसार पिडुँलामा आँखीझ्याल बनाउने योजनामा छिन् ।
अर्की अभिनेत्री पूजना प्रधानले अहिलेसम्म तीनवटा टाटु बनाइसकेकी छन् । पिठ्यूँमा बनाएको शिवपार्वतीको टाटु सबभन्दा चर्चित भयो । टाटुको सोख पुरानो भए पनि दुख्छ भन्ने डरले अहिलेसम्म बनाउन सकेकी थिइनन् । हातमा आफ्नै नाम खोपेपछि डर भाग्यो । अहिले टाटुको लत लागेजस्तै भएको छ ।
आफूलाइै मनपर्ने देवता र देवीको चित्र बनाएकाले उनलाई यसले कहिले पछुतो हुन दिएन । टाटु बनाउन चाहनेलाई पनि उनको यही सुझाव छ, सधैंभरि आफ्नो शरीरमा देख्न चाहने चित्र मात्र बनाउनुपर्छ । हतारमा रहर पूरा गर्नुभन्दा सोच विचार गरेर टाटु बनाउनु उपयुक्त हुन्छ । अभिनयको क्रममा कहिलेकाहीँ टाटु देखाउन नमिल्ने परिस्थिति पनि आउँछ । भन्छिन्, ‘जहाँ इच्छा त्यहाँ उपाय, बनाइसकेपछि छोप्ने उपाय पनि थाहा हुन्छ ।'
अभिनेत्री करिश्मा मानन्धर र सुष्मा कार्कीले वक्षस्थलसँगै टाटु बनाएका छन् । करिश्माको फूलको टाटु र सुष्माको सूर्यको टाटुको पनि निकै चर्चा हुने गर्छ । अभिनेत्रीहरू आफ्नो आकर्षणलाई अझ बढाउन हो या चर्चा धरै कमाउन हो टाटु बनाउन लालायित भएको देखिन्छ । अभिनेत्री मौसमी मल्लको पुतलीको टाटुले पनि उनको आकर्षण बढायो । उनले पनि वक्षस्थलसँगै टाटु बनाएकी छन् ।
अभिनेत्री प्रियंका कार्कीले पिठ्यूँमा आकर्षक महिलाको आकृति बनाएकी छन् । ब्याकलेस पहिरनमा उनको यही टाटु आकर्षणको केन्द्र बन्ने गर्छ । टाटुको सौखिन प्रियंकाले पिडुँलामा पनि मानव आकृतिको टाटु बनाएकी छन् । अर्की अभिनेत्री सगुन शाहीले हातमा ‘वनली गड क्यान जर्ज मी' लेखेर टाटु बनाएकी छन् ।