हामी बाटोमा किस गर्दै हिँड्दैनौं
मिस नेपालको उपाधि जितेपछि रंगीन संसारमा उदाएकी मलिना जोशी अहिले अभिनयमा व्यस्त छिन् । मनोज अधिकारी निर्देशित चलचित्र ऋतुबाट रजतपट डेब्यु गरेकी उनले विनर, झुम्की, लीला, संरक्षण, रानीजस्ता चलचित्रमा अभिनय गरेकी छन् । एमबीए गरेकी उनी धरानमा जन्मिएकी हुन् । नेपाली चलचित्रमा शालीन स्वभावको नायिकाका रूपमा चिनिने मलिनासँग अशोकप्यासी राईले गरेको कुराकानीः
पहिलो चलचित्रको छायांकन हुँदै गर्दा कस्तो लाग्थ्यो ?
चलचित्र ऋतु छायांकन हुँदा बबाल चल्छ जस्तो लागेको थियो । राम्रो स्क्रिप्ट, राम्रो टिम अनि विदेशमा छायांकन । तर रिलिज ढिला भयो त्यो पनि हतारमा । चलचित्र प्रदर्शनमा ससाना कुराले पनि प्रभाव पार्ने रहेछ ।
चलचित्र ऋतुबाट फिडब्याक ?
अपेक्षा गरेअनुसार चलेन तर म सन्तुष्ट छु । चलचित्र ऋतु हेर्ने सबैले मेरो कामको प्रशंसा गरेका छन् ।
नेपालभित्र र विदेशमा छायांकन गर्दाको भिन्नता ?
नेपालमा छायांकन हुँदा मलाई कम्फर्ट फिल भयो । विदेशमा स्वीकृति लिनेदेखि, प्राविधिक, लोकेसन छनोटलगायत धेरै कुरामा समस्या हुँदोरहेछ ।
मिस नेपालको उपाधि जितेका बेला चलचित्र खेल्दिन भन्नुभएको थियो ?
हो । मैले धेरै प्रस्ताव अस्वीकार पनि गरेँ तर राम्रो टिम, नयाँ कन्सेप्ट र राम्रो स्क्रिप्ट भएकाले ऋतुमा काम गर्न तयार भएँ । त्यसपछि निरन्तरता दिँदैछु ।
चलचित्रमा काम गर्दाका अप्ठ्यारा ?
खासगरी मेरो परिवारको सहमति छैन । त्यसैले मेरो लागि यसै पनि लिमिटेसन छ । अभिभावकलाई जवाफ दिनुपर्ने भएकाले जे पायो त्यही, जस्तो पायो त्यस्तै चलचित्रमा काम गर्न सक्दिनँ ।
मिस नेपालमा भाग लिँदा नि ?
त्यो पनि मन पराउनुभएको थिएन । भाग लिँदा भनेको पनि थिइनँ । जागिरका लागि काठमाडौं आएको भनेकी थिएँ । तर पछि भोटिङ क्याम्पेनमा फोटो आएपछि थाहा पाउनुभयो । कलेजले पठाएको भनेँ । जितेपछि धेरै सम्मान र बधाई आएकाले अलि कन्भिन्स हुनुभयो ।
आमाबुबाको चाहना चाहिँ ?
उमेर पुग्यो, विवाह गरेर सेटल हुनु भन्नुहुन्छ ।
विवाह गर्ने बेला त भयो नि ?
विवाह त गर्ने हो तर केटा मन पर्नुपर्यो, पाउनु पर्यो । धेरै कुरा मिल्नुपर्छ । विवाह भन्नासाथ भइहाल्ने कुरा पनि होइन ।
अभिभावकको चाहनाविपरीत करियर अगाडि बढाउन सकिन्छ त ?
उहाँहरू पढाइको काम भएन भन्नुहुन्छ । तर पढाइ हरेक काममा प्रयोग हुन्छ भन्ने मेरो बुझाइ हो । चलचित्र क्षेत्रमै जीवन बिताउँछु जस्तो मलाई पनि लाग्दैन । अभिनय गरेर पाएको पारि श्रमिकले मात्र जीवन चल्न गाह्रो छ । तर म मिस नेपाल विजेता पनि भएकाले दुई तर्फबाट कमाइ गरिरहेकाले पुगेको छ ।
केटासँग नाम जोडिएको सुन्दा कस्तो लाग्छ ?
एकजनासँग मेरो पनि नाम जोडिएको सुने । तर यो विषयमा मैले व्याख्या गरिरहनुपर्छ जस्तो लाग्दैन । मान्छेको निजी जीवनका बारेमा धेरै टीकाटिप्पणी गरेको मन पर्दैन । कहिलेकाहीँ मैले नै भनेको जस्तो गरेर समाचार आएको देख्दा अचम्म र दुःख पनि लाग्छ ।
नेपाली युवाहरू प्रायः आफ्नो गन्तव्यमा प्रस्ट देखिँदैन नि ?
म त क्लियर छु । केही समय नाम कमाउन यो क्षेत्रमा काम गर्ने हो । चलचित्र उद्योगमा जति रमाए पनि मेरो सुरक्षित भविष्यको आधार एमबीए नै हो । मसँग योजना र सोचहरू छन् ।
चलचित्रमा ‘हट सिन'देखि डराउनुहुन्छ भन्छन् ?
नेपाली चलचित्रमा किसिङ, बेडसिन दिन आवश्यक छैन । मैले गरेको पनि छैन ।
कथाले माग्छ भन्छन् त ?
सबै कुरा कथाले माग्यो भनेर हुँदैन । मागे पनि त्यसलाई फरक ढंगले प्रस्तुत गर्न सकिन्छ । नेपाली समाज अझै कन्जरभेटिक नै छ । त्यो सत्यलाई हामीले बुझ्नुपर्छ ।
नेपाली दर्शक विदेशी चलचित्र हेर्न त अभ्यस्त छन् ?
हाम्रोभन्दा हलिउडमा माया गर्ने तरिका फरक छ । हामी बाटोमा किस गर्दै हिँड्दैनौं । त्यसैले त्यस्ता कुरा चलचित्रमा पनि आवश्यक पर्दैन । अर्को कुरा हलिउड बलिउड चलचित्रमा शारीरिक सम्बन्ध राखेको दृश्य देखाउनु पर्यो भने पनि शैली र प्रवृत्ति कति फरक देखिन्छ ।
आफूले अभिनय गरेकामध्ये मन परेको चलचित्र ?
रानी । यस चलचित्रबाट निकै अपेक्षा गरेकी छु । निर्देशक दयाराम दाहालसँग काम गर्न साह्रै सजिलो । उहाँ कलाकारको मुड बुझ्नुहुन्छ ।
काम गर्न चाहेको निर्देशक ?
म खासै धेरै निर्देशक चिन्दिनँ । आलोक नेम्बाङको निर्देशनमा चलचित्रमा काम गर्ने चाहना थियो । मैले पहिलो पटक मोडलिङ गरेको म्युजिक भिडियो उहाँले नै निर्देशन गर्नुभएको थियो । सायद त्यो प्रभावले पनि म यो क्षेत्रतिर आकर्षित भएँ ।
हिरो चाहिँ कस्तो होस् भन्ने लाग्छ ?
अग्लो होस् ताकि मैले हिल लाएर काम गर्न सकुँ । मेरो उचाइ पाँच फिट सात इन्च भएकाले हिल लगाएर अभिनय गर्न कमैमात्र पाएकी छु ।