अक्सफोर्डमा र्याम्प नाप्दा
सन् २०१६ अक्टोबरमा बेलायतको अक्सफोर्डमा आयोजित ‘अक्सफोर्ड फेसन विक'मा र्याम्प नाप्दा अनिता लिम्बूलाई अनायसै जन्मथलोमा उकालीओराली गरेको याद आयो । यस फेसन विकमा हिँड्ने उनी पहिलो नेपाली मोडेल हुन् । उक्त सप्ताहको दसौं सिजनमा सहभागी हुने मौका पाएकी उनी बेलायतका चर्चित फेसन डिजाइनरले तयार गरेका पहिरनमा हिँडेकी थिइन् । ताप्लेजुङको इखाबुमा जन्मेकी उनले सानो छँदा बेलायती र्याम्पमा यसरी हिँड्न पाइएला भन्ने कल्पना पनि गरेकी थिइनन् ।
ताप्लेजुङमा जन्मे पनि सुनसरीको इटहरीमा बाल्यकाल बिताएकी अनिता विज्ञानकी विद्यार्थी हुन् । गणितमा अब्बल उनले आफूले अध्ययन गरेको विद्यालय लिटिल फ्लावर इङलिस बोर्डिङ स्कुलमा गणित शिक्षकको रूपमा केही समय अध्यापनसमेत गराइन् । इटहरीस्थित विश्वआदर्श कलेजबाट प्लस टु अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि सन् २०१० मा स्कटल्यान्डको एडेनब्रा पुगिन् । त्यहाँ हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विषयमा अध्ययन गरेकी उनले त्यहाँ ‘ट्रेनी डेन्टल नर्स'को रूपमा काम गरिन् ।
मोडलिङमा अनिताको अगाध रुचि छ । अन्य क्षेत्रमा अवसर हुँदाहुँदै पनि यस क्षेत्रतिर लहसिएकी हुन् । त्यसका लागि एउटा आधार र अवसर बन्यो, मिस स्पार्कलिङ ब्युटी यूके २०१६ प्रतियोगिता । आफू बस्दै आएको राज्य स्विन्डेनको प्रतिनिधित्व गर्दै उनले प्रतियोगितामा भाग लिएकी थिइन् । ‘प्रतियोगितामा म एकजनामात्रै नेपाली थिएँ । बाँकी सबै बेलायती युवती थिए', अनिताले भनिन्, ‘उनीहरूसँग प्रतिस्पर्धा गर्न सजिलो थिएन । तापनि मलाई डर भन्ने लाग्दैनथ्यो । रमाइलो पनि भयो । किनकि यो प्रतियोगिता राम्रो कामका लागि आयोजना गरिएको थियो ।'
प्रतियोगितामा ‘मिस ट्यालेन्ट', ‘मिस च्यारिटी'सहित ‘फस्ट रनरअप' हुन सफल उनले त्यसपछि बेलायतको रेम्बो चाइल्ड फाउन्डेसनमार्फत विश्वभरका असहाय बालबालिकाको लागि काम गर्ने अवसर पाइन् । ‘यो प्रतियोगिता भनेकै असहाय बालबालिकाको सहयोगका लागि हो । बेलायतमा स्थापित यस संस्थाले विश्वभरका बालबालिकाको लागि काम गर्दै आएको छ', उनले भनिन् । विशेषगरी विकासशील मुलुकका बालबालिकाको पौष्टिक खाना, शिक्षा, सरसफाइ क्षेत्रमा सहयोग गर्ने गरेको छ । ‘म विभिन्न च्यारिटी एवं चन्दा संकलनमा सक्रिय भएँ । सँगै मोडलिङलाई पनि निरन्तरता दिँइरहें', अनिताले भनिन् ।
मिस स्पार्कलिङ ब्युटी यूकेमा भाग लिनुअघि उनले ‘रुल द रन वे १०१६' पनि सहभागी हुने मौका पाएकी थिइन् । ‘सुरुमा वेभसाइटमा देखेर अप्लाई गरेँ । पछि आयोजकले भिडियो अडिसन पठाउन भन्यो', उनले भनिन, ‘प्रोफाइल पठाएपछि म छनोटमा परेछु । त्यसपछि मोडलिङमा झनै चाहना बढेर आयो ।' मोडलिङ क्षेत्रमा मजाले लागिपर्यो भने राम्रो कमाइ गर्न सकिन्छ भन्ने उनको अनुभव छ । ‘नेपाली समाजमा अझै पनि यस क्षेत्रलाई राम्रो दृष्टिले हेरिन्न रहेछ । तर युवापुस्ताले आफूमा जुन कुराको प्यासन छ त्यही गर्नुपर्छ', अनिता सुझाउँछिन् ।
परिवार खासगरी श्रीमान्को यसक्षेत्रमा खासै रुचि नभए पनि रोकतोक नभएकाले उनी स्वविवेकले यसक्षेत्रमा अघि बढीरहेकी छन । उनको अबको लक्ष्य ब्युटी थेरापिस्ट विषयमा अध्ययन गर्ने रहेको छ । ‘यस कोर्सबाट ब्युटीसम्बन्धी समग्रमा बुझन पाइन्छ । यो आफैंमा एउटा गहिरो अध्ययन हो', कोर्सका बारेमा उनले भनिन्, ‘यो कोर्स दुई वर्षको हुन्छ ।'
घरायसी कामका सिलसिलामा तीन महिनाअघि नेपाल आएकी अनिताले नेपाल बसाइका क्रममा पनि र्याम्प एवं भिडियो मोडलिङ गर्न भ्याइसकेकी छन । काइरा रनवे फाइभ, रेक्स फेसन शो, नेपाल इन्स्टिच्युट अफ फेसन शोजस्ता र्याम्पमा हिँडिसकेकी छन् । त्यस्तै, यम बरालको नयाँ एकल एल्बमको म्युजिक भिडियोमा समेत मोडलिङ गरीसकेकी छन् । यसबीचमा उनले केही चलचित्रबाट पनि प्रस्ताव पाएकी छन् । तर नेपालमा बस्न धेरै समय नभएको र कथा चित्तबुझ्दो नभएकाले चलचित्रको प्रस्ताव स्वीकारेकी छैनन् ।