राजेशपायलको गोजीमै खुर्सानी(भिडियाेसहित)
देशमा मात्र होइन, विदेशमा पनि चर्चित छन्, गायक राजेशपायल राई । लाखौं श्रोता, दर्शकले रुचाएका गायक राईको गायकीको बयान हामीभन्दा धेरै श्रोताले गरिरहेका हुन्छन् । आफूलाई मनपर्ने गायकको गायकी मात्र होइन, हेयरस्टाइल, लवाइ खवाइमा पनि फ्यानहरूमा उत्तिकै रुचि हुने गर्छ ।
हिँडाइ, लवाइ र बोलाइ त दर्शक/ श्रोताले देखेरै बुझेका हुन्छन् । गायक राजेशपायल राईको खुवाइ कस्तो छ ? भन्ने बुझ्ने मौका भने कमैले पाउँछन् । गायक राईको खुवाइ बुझ्न र उनका फ्यानहरूसम्म पस्कन उनलाई काठमाडौंको उत्तरढोकास्थित ग्रिन लिभ्स रेस्टुराँमा निम्त्यायौं । फोटो पत्रकार मित्र र पंक्तिकार रेस्टुराँ पुगिसक्दा पनि गायक राईले फोन रिसिभ गरेनन् । लाग्यो ‘पाहुनाका रूपमा निम्त्याएका अतिथि नआएपछि कस्लाई के पस्कनु ? '
केही क्षणमै ग्रिन लिम्भको डायनिङ हलमा आइपुगेका गायक राईले भने, ‘तपाईंको कल आउँदा म सुतिरहेको रहेछु, म्यासेज गरेर राम्रो गर्नुभयो ।' चिन्ता दूर भयो । सामान्य भलाकुसारीपछि सुरुमा उनले फ्रेस लेमनसोडा पिउने इच्छा गरे । रेस्टुराँका कर्मचारी भीमबहादुर आलेले उनको अर्डर लिए । गायक राईको टेबलमा उनले रोजेको स्टिम राइस, प्राउन चिल्ली, दाल तड्का, एग पउच, लसुन काँचो, ग्रिल सि-फुड आइपुग्यो । उनले खल्तीमा हात हाले । चारवटा सुक्नै लागेको डल्ले खुर्सानी झिके । हाँस्दै भने, ‘गायकहरू पिरो खान्नन् तर म पिरोको सौखिन हुँ ।' कतिपय ठाउँमा कार्यक्रममा सहभागी हुन जाँदा बानी बुझेका श्रोता/दर्शकले उनलाई खुर्सानी उपहार दिने गरेको पनि उनले बताए ।
घरमा हुँदा गायक राईको खानामा कुनै निर्देश हुँदैन । छोरी (दाइकी) एकता राईले जे पस्किन्छन्, त्यो उनी रमाएर खाइदिन्छन् । ‘आज के ल्याउने, के पकाउने मेरो मर्जी हुँदैन', राईले भने, ‘छोरीको चल्छ, मैले खाइदिनेमात्रै हो ।' तर साथीभाइ र बाहिर खाँदा भने आफूले पनि रुचि देखाउने गरेको उनले बताए । कन्सर्टका लागि काठमाडौंभन्दा बढी जिल्ला र विदेश घुमिरहने गायक राईलाई देशअनुसार खाना मनपर्छ । उनलाई हङकङको सि-फुड, सुमै र जम्सुरी खुबै मनपर्छ । युरोपको पास्ताले उनको मन लोभ्याउँदो रहेछ । कोरियन खानामा सांगेविशाल निकै रुच्छ । उनलाई देशअनुसारको खाना मन परे पनि नेपाली खानामा भने दालभात, ढिँडो असाध्यै मन पर्ने गर्छ ।
भिडियाे हेर्नुहाेस्
विदेशतिर बढी साथीभाइ भएका राई मध्यरातिसम्म सुत्दैनन् । ‘कुरा गर्छु, केही कामहरू गर्छु, रातिको २ बजिहाल्छ', राईले भने, ‘म उठ्ने भनेको मध्याह्न १२ बजेतिरमात्रै हो ।' यो सुताइले खानाको तालिका नै भताभुंग भएको उनले बुझेका छन् । ‘तालिका त भद्रगोल नै छ, झुर छ भन्छु', राईले भने, ‘तर जे खान्छु, हाइजेनिक, सफा र ताजामा भने ध्यान दिन्छु ।' उनी महँगो वा सस्तो, सडकको वा डिपार्टमेन्ट स्टोरको भन्दैनन् तर सफा, ताजा, अग्र्यानिकमा भने ध्यान दिने गरेको बताउँछन् ।
सुताइले समस्या
चर्चित गायक राईको अबेरसम्म सुत्ने बानी परेको करिब १८/२० वर्ष भयो । यो बानी उनलाई चिन्नेजान्ने धेरैलाई थाहा छ । ‘त्यसैले म जानुपर्ने कार्यक्रमहरू बिहान राखिँदैनन्', राईले भने, ‘मिडियाहरूले पनि बिहानको समयमा बोलाउँदैनन् ।' सुताइकै कारण उनले पाँचथरको राँकेमा राखिएको कार्यक्रममा निकै सकस व्यहोर्नुपरेको किस्सा सुनाए । ‘११ बजे राँकेमा कार्यक्रम थियो, म इलाममै सुतिरहेको थिएँ', राईले भने, ‘यताउता फोन गर्दै जाँदै गर्दा २ बजे कार्यक्रममा प्रस्तुति दिन भ्याएँ ।' तर यो सुताइले विदेशमा भने समस्या खासै नपार्ने उनले बताए ।
राजेशपायलको टिप्स
आफ्नो खानाको शैली ‘झुर' नै भए पनि गायक राई आफ्ना श्रोता/दर्शक र शुभचिन्तकलाई खानपानमा अनुशासन अपनाउन आग्रह गर्छन् । जे पनि खाने, जतिबेला पनि खाने र जति पनि खाने नेपाली खानपान शैलीमा सुधार हुनैपर्ने उनको मत छ । उमेर समूहअनुसार खानपानमा ध्यान नदिने हो भने स्वास्थ्य जोखिममा पर्ने उनको बुझाइ छ । ‘२० देखि ४० वर्षको उमेरमा खान सकिने र पच्ने कुरा ४० पछि विचार गर्नैपर्छ', राईले भने, ‘यदि त्यसो नहुँदो हो त सानो बालबालिकालाई लिटो, अलि ठूलो हुँदा खाना, अनि विस्तारै अरूथोक किन खुवाइन्छ ? हो उमेरअनुसार खानामा ख्याल गर्नैपर्छ ।' जिब्रोको स्वादमात्रै भन्दा पनि शरीरको स्वीकार्यतालाई हेरेर खाना खान उनी सुझाउँछन् । ‘मैले के गरेँभन्दा पनि के गर्नुपर्छ भन्ने कुरा आम श्रोताले बुझिदिए उहाँहरूको स्वास्थ्य राम्रो हुन्छ', राईले भने ।
राईको आँखामा ग्रिन लिभ्स
‘आजको ‘भगवती' (खाना) साह्रै उत्तम लाग्यो', राईले भने, ‘यहाँको खाना स्वच्छ, स्वस्थ्य र मीठोमात्रै लागेन वातावरण पनि सफा र सुन्दर लाग्यो ।' हाइजेनिक खानाका लागि मौका मिलेसम्म ग्रिन लिभ्सलाई सम्झने बताउँदै उनले भने प्रायः रेस्टुराँमा खाना खान जाँदा पनि फ्यानहरू झुम्मिने र ‘जर्क' हुने वातावरण यहाँ नभएको उनले बताए । ग्रिन लिभ्सका अध्यक्ष गणेश कार्की र सञ्चालक गजेन्द्र नेपालको आत्मीय स्वागतको प्रशंसा गर्नसमेत गायक राईले कन्जुस्याइँ गरेनन् । ‘म धेरै समय रेस्टुराँमा बस्दिनँ', राईले भने, ‘यहाँको वातावरणले मलाई बस्न मन लाग्यो ।' सञ्चालक गजेन्द्रले बिदाइमा अग्र्यानिक ग्रिन-टीको अफर गरेपछि उनले हाँस्दै भने, ‘हुन्छ, यो बिदाइ टी ।'