राप्रपाको चुनाव चिन्ह गाई नै हुने
काठमाडौं : विवादका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह गाई नै रहने भएको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले चुनाव चिन्ह गाई रहनेलगायत विभिन्न निर्णय गरेको छ।
बैठकका निर्णयबारे जानकारी दिँदै राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले भने, ‘केही बेरमा पत्रकार सम्मेलन गरेर सबै निर्णय सार्वजनिक गर्दैछौँ, चुनाव चिन्ह गाई नै हुने भएको छ ।’
नेता डा. प्रकाशचन्द्र लोहनीलगायतले चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने अडान लिएका भए पनि बहुमत केन्द्रीय सदस्यले गाई नै हुने अडान लिएपछि गाई नै चुनाव चिन्ह रहने निर्णय भएको श्रेष्ठको भनाइ छ।
बैठकले चैत ८ गतेदेखि देशका विभिन्न ठाउँबाट एकसााथ राष्ट्रिय एकता यात्रा गर्ने निर्णय समेत गरेको नेता श्रेष्ठले जानकारी दिए। राष्ट्रिय एकता अभियान पाँच दिनसम्म चल्ने छ। झापा, गोरखा, काठमाडौँ र कञ्चनपुरबाट सुरु हुने मेची महाकाली यात्राको उद्घाटन चार स्थानबाटै अध्यक्ष कमल थापा, शीर्ष नेता प्रकाशचन्द्र लोहनी, पशुपति शम्शेर राणा र लोकेन्द्रबहादुर चन्दले गर्ने कार्यक्रम रहेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्न राप्रपाले केही बेरमा पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दैछ।