मुसहर बस्तीमा देखिएको पहाडी- मधेसी प्रेम
महोत्तरीः पहाडी जिल्ला सिन्धुपाल्चोककी ५० बर्षीया बरीमाया तमाङ एकीकृत नमुना मुसहर बस्ती निर्माणमा श्रमदानमा खटिएकी छिन्। महोत्तरीको बर्दिबास नगरपालिका-२ मा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको मुसहर बस्ती निर्माणका लागि बरीमाया यतिखेर इँटा, बालुवा, सिमेन्ट ओसारपसारमा व्यस्त छिन्।
बिहानदेखि बेलुकासम्म उनी निरन्तर काममा खटेकी छिन्। बढ्दै गरेको प्रचण्ड गर्मीका बीच पनि बस्ती निर्माणका लागि बिहान साँढे ६ बजे नै चिया र खाजा खाएर बरीमाया काँधमा साबेल बोकेर निस्किन्छिन्। बिहान ११ बजे खाना खान विश्राम लिन्छिन्। दिउँसो ३ बजे हुसिल बज्दा उनी गाउँलेसंगै खाजा खान जान्छिन्। त्यसपछि उनी साँझ ७ बजेसम्म बस्ती निर्माणमा लागिरहन्छिन्।
'भूइचालोले हामीलाई हल्लायो। हाम्रो घर गर्ल्यामगुर्लुम ढल्यो। मुसहर दाजुभाइ दिदीबहिनीले हामीलाई भूकम्पले भत्किएको घर बनाउन १५ हजार चन्दा उठाएर पठाउनुभयो। उहाँहरुको सानो सहयोगले अहिले हाम्रो राम्रो घर बनेको छ,' २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले दिएको दुःख सम्झिदैं बरीमायाले भनिन्, 'मुसहरहरु आफू गरिबीको ब्यथाले छटपटाइरहे पनि हामीलाई भूकम्पले दिएको पीडामा मल्हम पट्टी गर्नुभयो। अहिले मुसहर बस्ती बनिरहदा उहाँहरुलाई सहयोग गर्न पहाडबाट मधेस झरेका हौं।'
मधेशी भू-भागमा निर्माण भइरहेको मुसहर बस्ती निर्माणमा सहयोग गर्न पहाडी भू-भागमा पर्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-८ गिरानचौर एकिकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन केन्द्रकी बरीमाया मात्रै होइन्न त्यस बस्तीका ५७ जना स्थानीय पहाडबाट मधेस झरेका छन्। काभ्रेको एकीकृत नमुना पहरी बस्ती निर्माणपछि २०७२ साल पौष १३ गते पूर्व-पश्चिम राजमार्ग सरसफाइको क्रममा हाँस्य कलाकार धुर्मुस, सुन्तली समाजिक अभियन्ता राजकरण महतोको सहयोगमा बर्दिबासको मुसहर बस्ती अवलोकनको लागि पसेका थिए।
रोग, भोक, अशिक्षाले पिछडिका मुसहर बस्तीको विकासका लागि धुर्मुस-सुन्तलीले आवाज उठाए। मुसहर बस्तीमा परिवर्तन देखा पर्न थाले। भूकम्पले घर भत्काएपछि छाना र नानाको अभाव झेल्दै बर्ष दिन बिताएका सिन्धुपाल्चोक गिरानचौरका बासिन्दाका लागि बस्ती बनाइदिन धर्मुस, सुन्तली त्यहाँ खडा भए।
धुर्मुस, सुन्तलीको प्रेरणाले आफूहरुको बस्तीको मुहार फेरिन थालेपछि गिरान्चौर बस्ती निर्माणको लागि बर्दिबासका मुसहरहरुले पनि १५ हजार चन्दा पठाए। दैनिक ज्याला मजदुरी गरेर जंगलबाट ल्याएको दाउरा बिक्री गरेर, खोलाको बालुवा चालेर कमाएको पैसा जम्मा पारी गिरानचौर बासीको घर बनाउन पठाएको एकीकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदाले बताए।
'नेपालको जुनसुकै क्षेत्रमा बसोबास गरेपनि हामी सबै नेपाली हौं। भूकम्प गएको समयमा दुःखमा परेका गिरानचौरका नेपाली दाजुभाई, दिदीबहिनीहरुको मुहारमा खुशी ल्याउन हामीले सकेका सहयोग गर्यौं,’ अध्यक्ष सदाले भने, 'त्यो सानो आर्थिक सहयोगले गिरान्चौर बस्ती पनि बन्यो र आज हाम्रो मुसहर बस्ती निर्माणका लागि गिरानचौर बासीले हामीसंगै पसिना बगाएर श्रमदान गरिरहनु भएको छ।'
सदाका अनुसार, मुसहर बस्तीमा नयाँ युग सुरु भएको छ। सहयोगी भावनाले सबैको विकास गराउँछ। त्यसैले सहयोग भनेको सानो ठूलो हुदैंन। 'मधेसका मुसहरहरुले हामी प्रति देखाएको माया, ममता र सद्भावले तानेर पहाडको डाँडापाँखाबाट हामीलाई तराइको समथर भूमिमा श्रमदान गर्न आउने वातावरण बनायो' बस्ती निर्माणमा श्रमदान गरिरहेका ५५ बर्षीय हिरालाल तमाङले भने, 'तराइका गरीब मुसहर जातिले अप्ठेरो समयमा हामी पहाडका तमाङ्ग जातिलाई ठूलो सहयोग गरे। आज हामी पहाडका तमाङ मधेशको मुसहर बस्ती बनाउन मधेश आएका हौं।, हामी मात्रै बनेर हुदैंन। हाम्रो देश बन्नु पर्छ, त्यही नाराका साथ हामी पहाडबाट मधेश आयौं।'
हिमाल, पहाड, मधेशको जुनसुकै कुनामा बसेपनि हामी एउटै आमाका सन्तान हामी सबैं नेपाली हौं, भन्दै हिरालले अगाडि थपे, 'प्रेम, सद्भाव, एकता र मित्रताको सन्देश बाँड्न हामी तराई आयौं। एक अर्काको दुःखमा सबैले साथ दिनु पर्छ।'
मुसहर बस्तीमा श्रमदान गर्न आइपुगेका गोरखबहादुर तमाङका अनुसार मुसहर बस्ती निमार्णमा सहयोग गर्न गाउँबाट बस रिजर्भ गरी गिरानचौरका ५७ जना स्थानीय महोत्तरी आएका थिए। उनीहरुले खाना खर्च, बस भाडाका लागि एक लाख रुपैयाँ उठाएका थिए।
गिरानचौर बासीले मुसहर बस्तीका लागि पहाडी धानको चामल, लोकल खसी र आफ्नै करेसाबारीमा फलेको तरकारी कोसेली समेत लिएर आएका थिए। हिमाल, पहाड, भीरपाँख, डाँडाकाँडा छिचोल्दै गिरानचौर बासीहरु पाहुना बनेर मधेशको मुसहर बस्तीमा श्रमदान गर्न आइपुग्दा मुसहरहरुले दिल खोलेर अतिथी सत्कार गरे।
'गिरानचौरका तमाङ र बर्दिबासका मुसहर हामी एकै परिवारका सदस्य झैं भएका छौं। एक अर्काप्रति प्रेम बढेको छ। धर्मुस, सुन्तलीले हामीलाई जोडि दिनुभयो,' गिरानचौर एकीकृत नमुना बस्ती व्यवस्थापन समितका अध्यक्ष रामबहादुर तमाङले भने, 'एकीकृत बस्ती विकासले हिमाल, पहाड र मधेशलाई एकतावद्ध बनाएको छ। सबै क्षेत्रमा एकीकृत बस्ती विकास भए सरकारलाई सरकारी सेवा सुविधा पुर्याउन सहज हुन्छ। गरीब र धनी बीचको दुरी घट्छ। गरीब, दीन, दुःखीको दिन फेरिन्छ।
'हामी भूकम्पले हल्लाएर पीडित भएको समयमा धुर्मुस, सुन्तली हाम्रा लागि देवता भएर गिरान्चौर पसेको भन्दै अध्यक्ष रामबहादुरले भने, 'नेताको रेडिमेड भाषणले देश बन्दैन। उनीहरुको पछाडी लागेर जनताले दुःख पाए। पहाडी मधेशी भन्दै जनतालाई नेताहरुले लडाए। कहिले यो पार्टी, कहिले त्यो पार्टी भनेर जिन्दावाद, मुर्दावाद भन्दै सडकमा धकेले। नेताहरुले तल जनता लडाउने र माथि हन्डी थापेर खाने गर्छन्। हामी सबैले यो कुरा बुझ्नु पर्छ। हिमाल, पहाड, मधेशमा बस्ने तीन करोड नेपाली मिलेर आफ्नो देश आफैँ बनाउ।'
'मधेशलाई हाम्रो सहयोगको आवश्यकता भएको खबर पाउना साथ जुनसुकै बेला हामी गिरानचौर बासी मधेश आएर सहयोग गर्छौँ' मसला घोल्दै गरेका इन्द्रबहादुर तमाङले रामबहादुरको कुरामा थपे, 'पहाडमा भूकम्पले हल्लाएर घरहरु ध्वस्त बनाउँदा, मानवीय क्षती हुँदा मधेशका मधेशीहरुले पहाडमा पुगेर हाम्रो घाउमा मल्हम पट्टी गर्नुभयो।शरीरमा लगाउने लुगाफाँटो दिनुभयो। दुःख भएको बेला माया गर्नुभयो। यो भन्दा ठूलो सहयोग अरु के हुन सक्छ ?' दुःखको बेला सहयोग गर्ने र लिने हामी नेपालीको गुण हो। जो विश्वलाई थाहा छ।
'हिमाल, पहाड, तराइमा बसोबास गर्ने नेपालीहरु बीचको सम्बन्धलाई बलियो बनाउन 'सद्भावको माला' उन्ने अभियानमा हामी अहिले मानवता र सद्भावको लागि बर्दिबासको मुसहर बस्तीमा काम गरिरहेका छौं,' धर्मुसले भने, 'नेपाली-नेपाली बीचको प्रेम रे सम्बन्धलाई मजबुत बनाउन गिरानचौरबासी मधेश झर्दा हामीले देखेको सपना पुरा हुँदैछ। सैगरी देशभरिका नेपालीहरु एकताको सुत्रमा बाँधिएर सिङ्गो देश निर्माणमा जुट्नु पर्ने सन्देश नै हाम्रो अभियानको सन्देश हो।
'पुस २५ गते देखि निर्माण सुरु भएको मुसहर बस्ती निर्माणको ६० प्रतिशत काम सकिएको छ। बस्ती निर्माणका लागि अझैपनि दुई करोड रुपैँया अपुग्छ। आर्थिक अभावका बाबजुद पनि निर्माण कार्य रोकिएको छैन। बैशाख १ गते घरको भित्ताको पुरानो क्यालेन्डर फेरिएसँगै पुराना घरबाट मुसहरहरुको नयाँ बस्तीमा बसोबास हुने धुर्मुले वताए। स्थानीय सहित झन्डै चार सय जना बस्ती निर्माणको काममा खटिएका छन्। समयमा काम सक्नका लागि साँझमा बत्ती बालेर समेत काम गरिएको छ।