निर्वाचन सुरक्षामा सम्झौता हुँदैन : डीआईजी भट्टराई
विराटनगर : पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेशकुमार भट्राईले स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थाको सवालमा कुनै पनि सम्झौता गर्न नसकिने बताएका छन्।
क्षेत्रीय प्रहरी कार्यालयको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सुरक्षा चुनौतीको विश्लेषण गर्दै सबै सुरक्षाको व्यवस्था मिलाइने बताए । डीआईजी भट्टराईले निर्वाचन सुरक्षाका सवालमा कुनै पनि कसर बाँकी नराख्ने समेत दाबी गरे।
सुरक्षा निकायले निर्वाचनको सुरक्षा सवालमा भारतसँगको खुला सीमाना, भारतबाट नेपालतर्फ हुने साना हातहतियारको ओसारपसार, तराईमा हुने आन्दोलन, पहाडी तथा तराई क्षेत्रमा चुनाव बहिष्कार गर्ने समूहका गतिविधि मुख्य चुनौती भएको बताए।
‘२०७४ साल वैशाख ३१ गते घोषणा गरिएको स्थानीय निकाय निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न थालिएको छ,’ उनले भने, ‘सुरक्षा चुनौतीको विश्लेषण गरेर त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइने छ ।’
उनले भारतसंग सीमा जोडिएका पूर्वी तराईका सीमावर्ती जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहालाई निर्वाचन सम्पन्न गराउने सवालमा सुरक्षा निकाय चनाखो रहेको बताए।
‘अवाञ्छित गतिविधिलाई निस्तेज पार्दै उमेद्ववार र मतदाताको सुरक्षामा प्रहरी केन्द्रित हुनेछ,’ डीआईजी भट्राईले भने, ‘सरकारले दिएको जिम्मेवारी पूरा गर्ने विषयमा कुनै सम्झौता हुँदैन ।’