त्रिशूलीमा क्याम्पसमा नेविसंघ विजयी, महादेवमा सर्वसम्मत
नुवाकोट: जिल्लामा ११ वटा क्याम्पस भएपनि दुई वटामा मात्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ। त्रिशूलीवजारमा रहेको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा भएको स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। रातमाटेमा रहेको महादेव बहुमुखी क्याम्पसमा भने सर्वसम्मत रुपमा स्ववियु गठन गरिएको छ ।
नेविसंघका पारस अधिकारीको प्यानल नै निर्वाचित भएको हो। गएराति सम्पन्न मतगणना अनुसार अधिकारीले एक सय ५९ मत ल्याएर स्ववियु सभापतिमा विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी अखिलका राजकुमार तामाङले ५३ मत मात्र ल्याए। सचिवमा पंकज रोक्का र कोषाध्यक्षमा शान्ति तामाङ विजयी भइन्।
निर्वाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियन पनि सहभागी भएको थियो। तीन सय २६ मतदाता रहेको त्रिभुवन त्रिशूली वहुमुखी कलेजमा दुर्इ सय ७८ मत खसेको निर्वाचन अधिकृत रमेश पाण्डेले जानकारी दिए ।
यस्तै, नुवाकोटको रातमाटेमा रहेको महादेव बहुमुखी क्याम्पसमा भने स्ववियुमा पदाधिकारी सर्वसम्मत चयन गरिएको छ। उक्त क्याम्पसमा पहिलो पटक स्ववियु गठन गरिएको हो। एमाले निकट अनेरास्ववियुका प्रदीप नेपाललाई सभापतिमा सर्वसम्मत चयन गरिएको हो। अन्य पदहरु अखिल क्रान्तिकारी, नेविसंघको प्रतिनिधत्व रहेको क्याम्पसले जनाएको छ।
सहसचिव सुस्मिता नेपाल र कोषाध्यक्ष रवि श्रेष्ठ अनेरास्ववियुको तर्फबाट चयन भएका छन्। उपसभापति नेविसंघको तर्फबाट रमला लामा र सचिव रवीन्द्र पण्डित नेविसंघको तर्फबाट चयन भएका छन्। अन्य तर्फबाट सदस्यहरूमा सुशीला लामिछाने, नवराज ढकाल, पुष्कर गुरूङ र बिमला विक सर्वसम्मतिले चयन भएको प्रदीप नेपालले जानकारी गराएका छन्।
जिल्लाकै सवैभन्दा पुरानो क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भने स्ववियु निर्वाचन हुन सकेन। क्याम्पसको उच्च मावि तहका विद्यार्थीले निर्वाचनमा मतदान गर्न पाउने कि नपाउने भन्ने विषयमा विद्यार्थी संगठनहरुबीच विवाद भएपछि क्याम्पसले एक साता अघि निर्वाचन स्थगित गरेको सूचना टाँस गरि यहि फागुन २७ गतेसम्म क्याम्पस समेत विदा गरेको छ।
विद्यार्थी संगठनहरुले भने निर्वाचन स्थगित गरेर क्याम्पसले लाचारी देखाएको जनाउदै निर्वाचन गराउन माग गरिरहेका छन्। आठ वर्ष अगाडि सो क्याम्पसमा अनेरास्ववियु विजयी भएको थियो।