लोडसेडिङ् हटाउन भारतको सहयोग: अर्थमन्त्री महरा
काठमाडौ: उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालको लोडसेडिङ् अन्त्य गर्न भारतको महत्वपूर्ण सहयोग रहेको बताएका छन् । नेपाल भ्रमणमा आएका भारतीय वित्तमन्त्री अरुण जेट्लीसंगको भेटमा मन्त्री महराले यस्तो बताएका हुन् ।
'भारतले हामीलाई ३८० मेगावाट बिद्युत् जाडो मौसम भर निर्यात गरिदिएर देशका अधिकांश भूभागमा लोडसेडिङ् हटाउन मद्दत गर्यो । यसका लागि म भारत सरकारलाई धन्यवाद दिन चाहन्छु' महराले भेटमा भने । सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलनमा भाग लिन नेपाल आएका जेट्लीले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गरे ।
उनले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्ण बहादुर महरा र उद्योगमन्त्री नवीन्द्र राज जोशीसँग भेटेका थिए । नेपालका नेताहरुले भारतले नेपालको पुर्ननिर्माणमा दिएको सहयोगका लागि धन्यवाद दिएका थिए ।
काठमाडौस्थित भारतीय दूतावासका अनुसार उच्चस्तरीय भेटवार्ताहरुमा भारतीय वित्तमन्त्रीले नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्न भारत प्रतिवद्ध रहेको बताएका थिए । सीमापार रेल, एकीकृत सुरक्षा जाँच चौकी, हुलाकी राजमार्ग, बिद्यालय र स्वास्थ्य संस्था निर्माणमा नेपाललाई सहयोग जारी राख्ने उनले बताए । 'यहाँको पूर्वाधार विकासमा सहुलीयतपूर्ण ऋण उपलब्ध गराउन भारत तयार छ' जेट्लीले भने ।
भारतसँगको बढ्दो ब्यापार घाटा कम गर्न नेपालले निर्यातमुखी उद्योगहरुमा भारतीय लगानीकर्तालाई आकर्षित गर्न उनले सुझाव दिए । माथिल्लो कर्णाली र अरुण तेश्रो जलबिद्युत् परियोजना निर्माण सम्पन्न भएपछि नेपालले भारतमा बिद्युत् निर्यात गर्न सक्ने जेट्लीको भनाई थियो । माथिल्लो कर्णाली र अरुण तेश्रो जलबिद्युत् परियोजना चाँडै सम्पन्न गर्न नेपालले वन तथा जमिन अधिग्रहणको प्रक्रिया टुंग्याउने कामलाई चाँडै सम्पन्न गर्नुपर्ने उनले बताए । अर्थमन्त्री महराको निमन्त्रणामा जेट्ली नेपाल आएका हुन् ।