पुष्पन-गीत र भुइँचेतना

पुष्पन-गीत र भुइँचेतना

पुष्पन भुइँगायक हुन्। डुबर्स नेपाली साहित्य विकास समितिको तत्वावधानमा आयोजित साहित्य अनि कलालाई सम्मान जनाउने विशेष कार्यक्रममा गत माघ १६ गते (२९ जनवरी) बाख्रीकोटमा पुष्पनले गाएका भुइँगीतमा कमाने स्वर अक्कासिएको थियो। पुष्पनका गीतहरू कमाने पीडाको आवाज बनेर व्यवस्थाको कानको पर्दा भेद्न सक्षम थिए।

जनवादी गीतहरू कुनै विशेष अवस्थामा, तत्कालीन परिवेशमा मात्र सुहाउने मौसमी हुन्छन् भन्ने दाहिनेपन्थी मिथलाई पुष्पनले चुनौती दिइरहेका थिए। यहाँ उनले ६ वटा गीत गाए, तीमध्ये पहिलो 'हामी त भयौं दुखिया, लगेर गाउँको मुखिया'ले लामो कालखण्डमा आफूलाई उभ्याइरहन सक्ने क्षमता बोकेको थियो, अनि थियो ठूलो भूगोललाई प्रतिनिधित्व गर्न सक्षम। हामीलाई नेतृत्व दिन्छ भनेर विश्वास गरेको नेतालाई नै ठूलो व्यवस्थाले किनेर लगिदिएपछि अर्थात् उनीहरू आफैं बेचिएपछि जनताको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई यस गीतमा चित्रण गरिएको थियो।

मार्क्सवादको हातो समातेर राजनीतिको जाँतो घुमाउने नेताहरूले बिर्सिएको उनीहरूले गर्नुपर्ने संघर्ष र प्रयोगका विभिन्न प्रकारका औजार र अवसर फेरि उनीहरूलाई सम्झाउन सक्षम थियो यो गीत। ठूलो व्यवस्थाले नेतालाई लगिदिनु नेपाली भाषी बस्ने ठूलो भूगोलको एकैखाले समस्या हो। हामी सबै पीडित छौं यस अवस्थाबाट, अनि यसविरुद्ध सचेतना दिन सक्षम थियो पुष्पनले बाख्रीकोटमा गाएको पहिलो गीत।

पुष्पनले दोस्रो गीत, 'आठ बजी जान्छ पाँच बजी फर्किन्छ, रिस उठे आफैंसित झर्किन्छ, चिसोपानी पिउँछ जुस खाँदैन, भात-रोटी खान्छ घूस खाँदैन, कसरी भन्नु ठुल्दाजू, उसले देश बनाउँदैन' गाए। आजको सामाजिक÷राजनैतिक परिवेशमा गीतको आवश्यकता भनेको विपन्नताले ग्रस्त जनमानसमा जीवनको बोध गराउनु हो। अशिक्षा, उत्पीडन र शोषणले ग्रस्त जनमानसमा जीवनको मूल्यबोध गराउन सक्षम बनेको छ यो गीत। देश निर्माण गर्ने गरिब मजदुरलाई शोषक वर्गले जहिल्यै उपेक्षा गर्ने भए पनि राष्ट्रको निम्ति मजदुरको मूल्यांकनलाई सरल र प्रभावकारी रूपमा बुझाएको छ यस गीतले।

'बिहानी पाखा, मिच्दै नि आँखा, पुग्दछिन् चुल्होमा, सातको साइरनसँगै जाउँ साइँली पुग्नुछ मेलामा' बाख्रीकोटमा गाएको पुष्पनको यो तेस्रो यस गीतले एउटा चियाकमानको कमाने आमाले महिनाभरि श्रम गरेर बालबच्चाका लागि सपना सजाए पनि महिना मरेपछि पाएको आँखै नलाग्ने पसिनाको मोल साहूलाई बाँकी तिर्दा नै सकिने आम स्थितिलाई चित्रण गरेको छ। तर, गीतमा रहेको आशावादी शब्दहरूले भने यस गीतको सौन्दर्यलाई चुल्याएको छ।

पुष्पनको स्वरमा यस गीतले जीवन र सदैव चलिरहने जिउनुको भविष्यबारे आशावादी दृष्टि अवलम्वन गर्न प्रेरित गरेर मान्छेलाई क्रान्तिको निरन्तर प्रक्रियामा सामेल हुने मन्त्र दिएको छ। म स्वयं सोच्ने गर्थें, 'कस्तो हुनुपर्छ आजको परिस्थितिमा जनवादी चेतनामा लेखिएका भुइँ गीतहरू ? ' पुष्पनका गीतले त्यस तृष्णालाई मेटाएको छ। यस्तै भावमा उनले बाख्रीकोटको कार्यक्रममा आफ्नो चौथो गीत गाए, 'जुकाले बरू छाड्दिन्छ, अघाएपछि चुस्नलाई, साहूले चुस्न छाड्दैन सिद्रा नपारेसम्मलाई।'

उनको चौथो गीत भने केही अलग थियो। विपन्नता, माटो, गाउँको माया, प्रेम, त्याग अनि विपन्नताको कारणले पेट बोक्न बाध्य आमाको संघर्षलाई चित्रण गरिएको थियो। 'सुन रे सियाराम, सुन ले सियाराम, अब म तँलाई पर्खन्न, अब म देहात फर्कन्न', गीतले एउटा नारीको संघर्ष गर्ने अठोटलाई जुन शब्द र स्वरमा चित्रण गरेको छ त्यो अतुलनीय देखापरेको छ। उपरोक्त पाँचवटा गीतमध्ये दुईवटा गीतहरू गाउँबस्ती, बगान-कमान, खेत-खलिहान अनि दैनिक ज्यालामा बाँच्ने मजदुरका समस्याप्रति गम्भीर गीतकार तथा सहप्राध्यापक डा.पुष्कर पराजुलीका गीत थिए।


जनवादी भुइँगीतहरू लेखिने, गाइने अनि सुनिने मञ्च र तृष्णा दुवै खतरामा उभिएको छ। यसैले अबका गीतहरूले सोझो संवाद गरेको हुनुपर्छ अर्काको विचारमा पस्न।

 

पुष्पन केवल भुइँ गीत गाउने गायकमात्र होइनन्, उनको व्यवहार पनि अक्कासिएको छैन भन्ने परिचय उनले दिए। पहिलो कुरा, उनले कमान छोडेर गएको भए पनि आफू जन्मेको, हुर्केको गाउँमै आएर गीत गाउँदा कमानमा पत्ति टिप्दा लगाउने पुरानो, थोत्रे, च्यातिएको पहिरन लगाएका थिए। पहिरनले दिएको सौन्दर्यमा टिपेका कलिलो चियाका मुनाहरूले दिएको सुगन्धले मात्तिएर उनले हृदयबाट गीत गाएका थिए। शब्द, स्वर अनि संगीतको मि श्रणबाट विस्फोट भएका सामाजिक चेतका तरंगलाई आफूभित्र बोकेर हिँडेका छन् उनले।

जनवादी सोच, गाउँले अनि कमाने संस्कृति, सापेक्षिक चेत सबैको संवाहक हुन् उनी। उनी केवल गायक नभएर समाज अनि संस्कृतिको मूल्यबोध गर्ने सचेत आजका युवा हुन् अनि हुन् समाज-रूपान्तरणका लागि जनतालाई सचेत पार्ने एक औजार।

भुइँगीतहरू समाजका आधार निर्माणका सामग्री हुन्, घडेरी हुन् मुक्तिबोधका। मुक्तिबोधको भावना मानिसमा मार्क्सवादभन्दा अघिदेखि नै आएको हो। मार्क्सले नियमसंगत दिशा दिएका हुन्, फर्मुला बनाएका हुन्, दास नारीहरूको मुक्ति सन्दर्भमा लगभग एक सय ५० ख्रिष्टपूर्वअघि सिदोन (आजको लेबाननस्थित एक सहर) का कवि एन्टीपैत्रोसले त्यसबेला पानीघट्टाको निर्माण भएपछि गीत लेखेका थिए। मार्क्सले यस कुराको उल्लेख आफ्नो पुस्तक 'पुँजी' मा पनि गरेका छन्-

ए आँटा पिस्ने युवतीहरू,
अब ती हातहरूलाई आराम देऊ
जसले तिमी जाँतो पिस्थ्यौ,
अब विस्तारै निदाऊ,
भाले बासेर घाम झुल्केको घोषणा गरे पनि,
तिमी नउठ ! (घट्टा, एन्टीपैत्रोस, १५० ख्रिष्टपूर्व)

सम्भवतः यस संसारमा मुक्तिबोधको यो नै पहिलो गीत थियो। लगभग दुई हजारभन्दा अधिक वर्षहरू बितेर जाँदा पनि आज पनि शोषण, दासत्व सकिएको छैन। किन जनवादी विचारहरूले एक सयभन्दा अधिक वर्षहरू बितिसक्दा पनि विश्वका सबै शोषित वर्गलाई मुक्ति आन्दोलनमा सामेल गर्न सकेन भनेर हामी आफैंलाई प्रश्न गर्न सक्छौं ?

के यसको कारण यस्ता विचारहरू केवल नारामा मात्र सीमित राखेर व्यवहारमा इमानदारिता नराख्नु नै हो ? के साहित्य र संस्कृतिलाई केवल रुमानी कागज अनि तथाकथित बुद्धिजीवी मानिने साना घेराहरूभित्र मात्र सीमित राखिने विश्व मानसिकता यसका कारण हुन् ?

यस्तो स्थितिमा अब चेतनालाई जनसमुद्रमा पसाउनका लागि त्यसै जनसमुद्रको एकांश भएर भुइँ चिन्तनहरू उमारिनु आवश्यक छ। मैले पुष्पनको गायनमा भाव अनि व्यवहार तथा प्रयोग तरिकामा त्यसको झलक देखेँ। त्यो बढेर जानु राम्रो हो, घटेर नजाओस् भन्ने लाग्यो।

उनले गाउनलाई गरेको ऊर्जावान् शब्दको छनोट, गायनमा आन्तरिक ऊर्जाको प्रयोग अनि गीतहरूका ऊर्जाशील संगीत- सबैले पुष्पनलाई न्याय गरिरहेको थियो, उनका गीतहरू भविष्यमा यस क्षेत्रका भुइँ मान्छेहरूलाई न्याय दिन सक्षम बनोस्।

सामाजिक मूल्य, परम्परा अनि विश्वास नै संस्कृतिको बीज हो। तर, आज अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरूले परम्परालाई हेर्ने दृष्टिकोण नै बदलिदिएको छ, स्थापित विश्वासहरू रूपान्तरणको संघारमा छ अनि सामाजिक मूल्यलाई अघोर भौतिकवादले टाउको उठाउन दिएको छैन।

यस्तो स्थितिमा जनवादी भुइँ गीतहरू लेखिने, गाइने अनि सुनिने मञ्च र तृष्णा दुवै खतरामा उभिएको छ। यसैले अबका गीतहरूले सोझो संवाद गरेको हुनुपर्छ अर्काको विचारमा पस्नलाई। भविष्यका थुप्रै पुष्पनहरूलाई त्यो वातावरण दिन, त्यस्ता संवादका अवसर दिन समाजले पनि त्यत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुनुपर्छ।

भुइँमान्छेविरुद्ध उभिएको आजको अर्को बृहत् समस्या भनेको भूमण्डलीकरण हो। भूमण्डलीकरणले क्षेत्रीय संस्कृतिहरूलाई गहिरो रूपमा प्रभावित गर्दैछ अनि नवसंस्कृतिको जन्म हुँदैछ। क्षेत्रीय संस्कृतिहरूले दिने अनुभवको फाइदा, विविधताले दिने तुलनात्मक ज्ञान, मान्छेको क्षेत्रीय आचरण, समूहगत खानपानको तरिका अनि त्यसको स्वास्थ्यप्रतिको पुरातन वैज्ञानिक मान्यतादिलाई पनि यसले प्रभावित गर्दैछ। यस्तो स्थितिमा उत्पीडकहरू झनै शक्तिशाली बन्दै गइरहेको अवस्था छ।

यस्ता कुराहरूका मूल्य र मान्यतालाई बचाएर मानव सभ्यतालाई भविष्यको समाजमा उभ्याउनका लागि पनि अब भुइँमान्छेसँगै बसेर, खाएर, गफ गरेर, उनीहरूको पीडालाई सम्बोधन गर्दै उनीहरूलाई भविष्यको अपेक्षित समाजका लागि तयार गरिएको हुनुपर्छ भन्ने चेत पनि पुष्पनका भुइँगीतहरूले दिइरहेका थिए। यस चेतनालाई बाख्रीकोटको उक्त कार्यक्रममा पुष्पनको अन्तिम गीत 'पारितिर हिउँको वर्षा वारि सिरेटोको पीर, बादल र कुहिरोको युद्ध चलेको छ मौसम बनेछ वधिर'ले चुल्याइरहेको थियो।

डुवर्स नेपाली साहित्य विकास समिति आयोजित उक्त कार्यक्रम समापनपछि म घर आइपुग्दासम्म मेरो कानमा गुञ्जिरहेको थियो.....'कर्म नै यस्तो भनेर, नबस दमन सहेर..., ओई जोजो झट्टै उठन, ओई आनी मुठ्ठी कसन, ओई आमा झट्टै उठन, ओई बाबा मुठ्ठी कसन...।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.