झोराहाट कोलाज

झोराहाट कोलाज

'मित्र ! हामीले त यहाँ नाटकको भव्य प्रशिक्षण चलाइरहेका छौं। टाढाटाढादेखिका २०÷२५ जना तन्नेरी बडो उत्साहसाथ नाटक सिक्दैछन्। खोइ हामी गाउँलेलाई न मिडियाले देख्छ, न राजधानीले सुन्छ।' साउने झरीबीच खुलेको एक बिहान मोरङको झोराहाटबाट आएको भरत गुरागाईंको फोनले झसंग बनाएको थियो।

झट्ट हेर्दा भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको कपाल र कदका यी रंगकर्मीको अनुहार मेरा आँखामा नाच्न थाले। सधैंभरि उत्तिकै जाँगरका साथ गाउँमै रहेर रंगमञ्चमा जीवन भरिरहेका भरतदाइसँग म यत्तिकै नतमस्तकछु। कमजोर आर्थिक अवस्थाका बीच पनि हुँदाखाँदाको मास्टरी पेसासमेत छाडेर नाटक-नाटक भन्दै दगुरिरहेका यिनको सनक अचम्मकै छ।

भरतकै पहलमा झोराहाटमा एउटा सुन्दर नाटक घर बनेको छ। गाउँमा बनेको देशकै पहिलो नाटकघर दाबी गरिएको 'झोराहाट नाटक घर'को गत वैशाखमा नव वर्षको दिन उद्घाटनसमेत गरिसकिएको छ। नाटकविज्ञ अभि सुवेदी, कलाकार हरिहर शर्मा, सुनील पोखरेल, घिमिरे युवराज, लेखक कुमार नगरकोटीलगायतको उपस्थितिमा सम्पूर्ण गाउँलेमाझ नाटक घर उद्घाटन गरेको दिन जीवनकै सबैभन्दा खुसीको दिन रहेको भरतको अनुभव छ। तर अफसोच, जीवनकै सबैभन्दा खुसीको त्यस दिन भरत आफैं भने कार्यक्रम अवधिभर बस्न सकेनन्। व्यवस्थापनको तनावले एक्कासि रक्तचाप बढेपछि उनलाई अस्पताल भर्नै गर्नुपर्‍यो।

भरत दाइका सहकर्मी तथा छिमेकी टीका खतिवडा त्यस दिनलाई सम्झँदै भन्छन्, 'दाइ सात छोरी बिदाइ गर्दाको दिनमा झैं अधिक तनावमा हुनुहुन्थ्यो। मैले एम्बुलेन्स बाइक नचलाई सुखै पाइनँ।' यी टीका पनि कम्ताका छैनन्, निर्माण सक्न सक्न लाग्दा आर्थिक अभावले नाटक घर उद्घाटन गर्न नसकिने जस्तो भएपछि आफ्ना घरका गरगहना बेचेर पनि निर्माण सम्पन्न गरी छाड्न भरतको काँधमा काँध दिए यिनले।

मध्यरातको हुरी र बाँसघरको चचहुई
गत वैशाख अन्तिम साता म पनि विराटनगरको पाहुना थिएँ। त्यसैताका आयोजित विराट पुस्तक प्रदर्शनीको क्रममा सिर्जनात्मक लेखन कक्षाको सहजीकरण गर्ने मेरो जिम्मेवारी थियो। घोस्ट राइटिङ नेपालद्वारा आयोजित कार्यक्रममा १५ विद्यालयका करिब चार सय भाइबहिनीलाई भेट्न पाएर हौसला र पुनर्ताजगी पनि प्राप्त गरेँ।

सोही मेसोको एक साँझ कवितालाई नाटक बनाउँदै, भाव, विम्ब र प्रतीकमा अभिनय भर्दै रमाइरहेका भरत दाइले शनिहाटबाट मलाई उनको मोटरसाइकलमा लोड गरे। अनि म ७३ किलोको जिनिसलाई अनलोड गरिदिए पाँच किलोमिटर पर्तिरको झोराहाटमा।

भरत दाइको घरबाट पाँच मिनेट दुरीमा रहेछ झोराहाट नाटक घर। निर्मला भाउजूले खुवाउनु भएको प्रेमपूर्ण भोजनपछि हामी नाटक घरमा गयौं। दाजुलाई घरमा भन्दा नाटक घरमै सुत्न मन पर्दो रहेछ। बाँसैबाँसको मचानजस्तै कलाकार बस्ने त्यो घर साँच्चै रमाइलो रहेछ। हामी नाटक घर पुग्दा रातको १० बजिसकेको थियो।

गाउँ बाँसडोल भए पनि यस्तो बाँसको घरमा बसेको थिइनँ म। मानिस हिँड्दा पदचापसँगै लचकलचक हल्लने बाँसघर रमाइलो थियो। केही कलाकार भाइहरू पहिले नै बाँसघरको आधा भागमा सुतिसकेका थिए।

'ए केटा हो !', निर्देशक भरत दाइको निर्देशात्मक स्वर सुन्नासाथ हाम्रा लागि झिटीगुन्टा आइपुगिहाल्यो। हामी ओछ्यानमा पल्टेर नाटक घरबारे कुरा गर्दै थियौं। अलिअलि मातिएका र मातिनुभन्दा बढी त भावुकताले भिजेका तिनै टीका खतिवडा पो टुप्लुक्किए।

'यहाँ अनन्त वाग्ले आएका छन् रे। टीकाले थाहा पाएपछि स्वागत नगरी सुत्न सक्छ ? ', झोलाबाट खुरुखुरु तीन बोतल काल्र्सबर्ग निकाले अनि मलाई झ्वाम्म अँगालोमा बेरे टीकाले। उनलाई पहिले नै नभनेकोमा केहीबेर उनले खुब घुक्र्याए। घुक्र्याइसकेपछि घुट्याउन जिद्दी गर्न थाले। हामी खाना खाइसकेकाले सोमरसको पक्षमा थिएनौं भरत दाइ र म। तर टीकाको जोडजबर्जस्ती, धम्कीघुर्कीका सामु गल्दै हामीले 'सोसिएल ड्रिङ्क' गर्‍यौँ।

घुट्याइ त बहाना न थियो, हामीले दुई घन्टा जति सुखदुःखका कुरा गर्‍यौँ। धेरै समय त हामी नाटक घर बनाउँदाका कथा उपकथामै रुमल्लिइरह्यौं। यस बीचमा टीका तीन-चार पटक घुँक्कघुँक्क रोए। गम्भीर बन्दै भरत दाइले उसलाई सम्झाए। नाटकघरको यस बसाइमा म भने के नाटक के यथार्थको भ्रममा परिरहेँ। शेक्सपियरले भनेकै छन् त—सिंगो धरती रंगमञ्च हो र हामी सबै पात्र।

१२ बज्न लाग्दा टीका घरतिर लागे। हामी सुतेको केहीबेरमै सनन सनन हावा चल्न थाल्यो। हावा यस्तो थियो कि वैशाखमा पनि हामीलाई चिसो चिसो लाग्न थाल्यो। केहीबेरमा हावाको चाप झन्झन् बढ्न थाल्यो।

झन्झन् बढ्न थाल्यो। हुरी यस्तो बढ्यो कि बाँसघरमा हामी चचहुई चचहुई मच्चिइरह्यौँ। तीनचार पटकसम्म त भरतदाइले 'अनन्त डराउनु पर्दैन है, केही हुँदैन' भनिरहनुभएको थियो। 'दाइ, हिजो-अस्ति पनि यस्तो हुन्थ्यो ? ', दाइले जे जे भने पनि म भित्रभित्रै डराइसकेको थिएँ। हाम्रो बाँसेघर अँध्यारोमा बेस्सरी हल्लिइरहेको थियो।


चाडपर्वमा मात्र सीमित नाटक अब जुनसुकै बेला पनि मञ्चन हुन्छ झोराहाटमा। वर्षमा पाँच, सातवटा नाटक मञ्चन भइरहेको हुन्छ। नाटक देखाउन एक सय २० जना अटाउने नयाँ थिएटर छ। खुला डबली पनि छ। अनि घरघरमा छन् कलाकार।

 हुरीसँगै जब मुसलधारे पानी पर्न थाल्यो- पर्न मात्र थालेन, छड्के पानी सबै हाम्रो बिस्तरामाथि ओइरिन थाल्यो। अब भने भरत दाइ बेस्सरी आत्तिए। उनी चर्किए, 'ए केटा हो ! केटा हो !!' जवान कलाकारहरू भिजेका कम्बल गुटुमुटु पार्दै झरे। छिनभरमै ती सँगैको थिएटरको स्टेजमा ओभानो ठाउँ खोज्दै गुँडुल्किए। केहीबेरको हुरी बतासको वि श्राममा भरत दाइ र म बाइकमा घरतिर लाग्यौं।

भरत दाइको हातमा बाइकको ह्यान्डिल र शरीरमा भिजेको हाफ पाइन्टमात्र थिए। मध्यरातमा नाङ्गै बाइक बत्ताउँदै थिए उनी। तर, भोलिपल्टको बिहान सफेद र सामान्य उदायो। भरत दाइले बताइरहेको गए रातिको घटना गाउँलेले पत्याइरहेका थिएनन्। दायाँबायाँ बाँस झाङ र बीचको गल्छेडोबाट सोहोरिएर आउने भयानक हावाबारे सायद उनीहरू अनभिज्ञ पो थिए कि।

गाउँमा नाटक, घरघरमा कलाकार
यिनै भरत दाइका चेला रहेछन् राजधानीको शिल्पी थिएटरका हर्ताकर्ता एवम् रंगमञ्चका जाज्वल्यमान् युवा घिमिरे युवराज। युवराजले पनि गुरु भरतको अभियानमा राम्रो सहयोग गरिरहेका छन्। गाउँमा रंगमञ्चको विकासका खातिर। त्यसो त झोराहाट नाटकमा इतिहास बोकेको गाउँ हो। झन्डै ६ दशक अघिदेखि नै यहाँ नाटक मञ्चनको परम्परा रहेछ।

त्यो बेला गाउँका तन्नेरी साँझमा कुस्ती र कबड्डी खेल्दा रहेछन्। बेलुका खाना खाएपछि जुनेली रातमा कपर्दी खेल्ने प्रतियोगिता नै चल्थ्यो रे। बर्माबाट नातेदारकोमा झोराहाट आइपुगेका एकजना पाहुना भवानीशंकर पोखरेलले पनि युवाहरूले कपर्दी खेलेको देखेछन्। उनैले ती उत्साही युवालाई अलि सिर्जनात्मक बनाउन भनी नाटक खेल्न सिकाइ दिएछन्। ती युवाहरूले पनि नाटकमा अभिरुचि लिएछन्।

सिर्जनशीलता र उत्साह देखाएछन्। अनि पहिलोपल्ट २०१६ सालको दसैंमा कविशिरोमणि लेखनाथ पौड्यालको 'लक्ष्मीपूजा' नाटक प्रदर्शन भएछ। नाटक गाउँलेले खुब मन पराएछन्। त्यो बेलाका झोराहाटे तन्नेरी नित्यानन्द लुइँटेल, यादव लुइँटेल, श्रीकान्त खतिवडा पालेबा, देवीप्रसाद ढुंगाना, रोहिणी लुइँटेललगायतले सुरु गरेको नाटक परम्परालाई २०१६ यता हरेक दसैं र अरू चाडपर्वमा नाटक मञ्चन गर्दै निरन्तर दिइएको थियो।

नाटक खेल्ने कलाकार घरघरै हुन्थे झोराहाटमा। अहिले पनि हरेकजसो घरमा नाटक खेल्नेहरू भेटिन्छन्। यी भरतदाइले निर्मला भाउजू र छोरा नितेशलाई समेत कलाकार बनाइसकेका छन्। भाउजू र छोरा दुवैजनाले धेरैवटा नाटक खेलिसकेका छन्। परिवारै नाटकमा समर्पित हुनु चानचुने कुरा कहाँ हो र ?

गाउँका कविता
चाडपर्वमा मात्र सीमित नाटक अब जुनसुकै बेला पनि मञ्चन हुन्छ झोराहाटमा। वर्षमा पाँच सातवटा नाटक मञ्चन भइरहेको हुन्छ। नाटक देखाउन एक सय २० जना अटाउने नयाँ थिएटर छ। खुला डबली पनि छ। अनि घरघरमा छन् कलाकार। यतिमात्र कहाँ अब, नाटक तथा अभिनय पढ्ने पढाउने स्कुलिङ पनि सुरु भइरहेको छ यहाँ। यो सबै कार्यक्रमको संयोजन गर्छन् भरत दाइले।

नाट्यकेन्द्रले थिएटरका लागि भाडामा लिएको दस कट्ठा जग्गामा कलाकार युवाहरूले आफैं खेतीपाती पनि गर्छन्। यसैको आयस्थाले यहाँ होस्टेलमा बस्ने प्रशिक्षार्थी र कलाकारका लागि रासन-पानीको व्यवस्थासमेत गरिन्छ। कृषि व्यवसाय तथा स्थानीय सरोकारका विषयमा बहस, पैरवी तथा कचहरी थलोका रूपमा पनि नाटक घर स्थापित हुँदैछ। स्थानीय पर्वहरू सामूहिक रूपमा मनाउन तथा विशेष सांगीतिक, सांस्कृतिक कार्यक्रम, झाँकी, नृत्य तथा लोककथा वाचन र चित्रकलाका लागि पनि यही ठाउँ गाउँको केन्द्र भएको छ।

अझ महत्वको कुरा त यहाँ हरेक महिना 'गाउँका कविता' कार्यक्रम आयोजना गरिन्छ। यसमा देशका ख्यातिप्राप्त तीन, चारजना कविहरूलाई आमन्त्रण गरी कवितावाचन गराइन्छ। कविता सुन्न के बालक, के वृद्ध सबै उमेरसमूहका मानिसको घुइँचो लाग्ने गरेको यस कार्यक्रमको संयोजन गर्दै आएका कवि गण्डकी पुत्र बताउँछन्।

श्रवण मुकारुङ, विप्लव ढकाल, विवश पोखरेल, सीमा आभास, मि श्र वैजयन्ती, लीला अनमोल, तारा पराजुली, शुभलक्ष्मी लम्साल, खगेन्द्रा खुसी, राधिका गुरागाईंलगायतका कविहरूको कवितावाचन कार्यक्रम सम्पन्न भइसकेको छ यसमा। 'जनस्तरसम्म यस कार्यक्रमले कविताको राम्रो छाप छाडेको छ', संयोजक गण्डकी पुत्र भन्छन्, 'सहरमा मात्र होइन, गाउँमा पनि कविताका भावक छन् र कविलाई गाउँमा पनि मञ्च छ भन्ने यसबाट प्रमाणित भएको छ।' यसले गाउँगाउँमा पुस्तक र साहित्यको महत्व बढाएको उनको अनुभव छ।

चिन्ता निरन्तरताको
'थुक-तेल गरेर नाटक घर त बनाइयो। अहिलेलाई मज्जाले चलाइएको पनि छ तर यसलाई चिरकालसम्म कसरी लैजाने ? ', भरत गुरागाईं, टीका खतिवडा र गण्डकी पुत्रमात्र होइन, सिंगो झोराहाटलाई यसको चिन्ता छ। निर्माणभन्दा निरन्तरतामा उनीहरूको चिन्ता रहनु स्वाभाविक हो। सहरबजारमासमेत टिकाउन मुस्किल थिएटरलाई गाउँमा निरन्तरता दिइरहनु पक्कै चुनौतीपूर्ण छ।

'अब हाम्रा लागि झन् जीवन-मरणको सवाल आएको छ,' टीका भावुक हुँदै भन्छन्, 'यति नगरेको भए भरत दाइ बाँच्न कठिन थियो। एउटा मान्छे त बचाइयो। एउटा विजय त हासिल भयो। तर यो संस्था सम्हाल्न र बचाउन अर्को घोर चुनौती ठडिएको छ हामीसामु।' तर भरत, टीका र गण्डकी यत्तिकै हिम्मत हार्नेवाला छैनन्।

उनीहरू यसलाई निरन्तर अघि बढाउन पलपल खटिरहेका छन्। बालबालिकादेखि वृद्धवृद्धा, महिला, वुद्धिजीवी सबैसँग नजिकिएको र सबैको मन मुटुमा छाप छाड्दै गइरहेको उनीहरूको एउटा सांस्कृतिक अभियान पक्कै पनि एउटा गौरव बनेर सबैका सामु उभिइरहनेछ। हार्दिक शुभकामना !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.