रूखहरू लाजले झुकिरहे

रूखहरू लाजले झुकिरहे

'ए साथी हेर त ! आज त महाराज सवारी हुने हो क्यारे, स्वागतद्वारहरू बनाइएका छन्।'
'स्वागतद्वारहरू भव्य छन्, साह्रै आकर्षक ढंगले सिंगारिएका छन्। द्वारमा टाँगिएको रातो तुलमा लेखिएका सेता अक्षर टलक्क टल्किएका छन्- हाम्रा प्यारा महाराजको जय जय होस्, हाम्रा राजा महाराज दीर्घायु रहुन् !'

दुईचारवटा त्यस्ता द्वारहरू र महाराजको जय होस् भन्ने कामना गर्दै राजाको स्वागतमा सक्दो बढी आफूलाई सिंगारिएका द्वारहरू देखेपछि हामीमा पनि खुसीको बाढी आयो।

'अहो ! महाराज सवारी हुने ! कस्तो सौभाग्य !'
जंगल भए पनि समथर ठाउँभरि मान्छे र मोटर थिए। पाइला राख्ने ठाउँ नै थिएन। मानिसहरूको खैलाबैलाले पूरै जंगल प्रतिध्वनित भइरहेको थियो। 'पख, महाराज सवारी हुने हेरेर मात्र जाऊँ !' भन्ने आवाज जताततै सुनिन्थ्यो। 'महाराज कहिले सवारी हुन्छ ? ' भन्ने उत्सुकताले भरिएको प्रश्न र राजालाई राम्ररी देखिने ठाउँमा बसेर हेरौं भन्ने आत्मीयताले भरेको आवाज पनि त्यहाँ गुञ्जिरह्यो। भनौं त्यो दिन त्यहाँ महाराजको मात्र चर्चा, सबैमा महाराजको दर्शन गर्ने मात्र अभिलाषा थियो।

सबैको मनमा राजामात्रै ! सबैको आँखा महाराज सवारी हुने बाटोतिर थियो। अहो ! राजाप्रति जनताको कस्तो आस्था, कति भक्ति ! लोकको राजाप्रति कति माया, कति श्रद्धा ! आफ्नै पितालाई भन्दा बढी मन पराउने, आफ्नै प्राणभन्दा पनि प्यारो, भगवान्भन्दा पनि महान् राजा !

जनताको मात्र के कुरा, त्यहाँको वातावरणसमेत राजा सवारी हुने भएकोले असाध्यै सुखद र चञ्चल थियो। शीतल हावाले पनि 'राजा सवारी हुने कुरा थाहा पायौ? ' भनी झ्याली पिटिरह्यो। खोला-नालाहरू 'महाराजाधिराजको जय ! महाराजाधिराजको जय !!' भन्दै हतारिँदै बगिरहेको भान हुन्थ्यो। मानौं महाराजको सवारीले गर्दा उनीहरूको सारा दुःख समाप्त हुने भयो। जंगलका रूखहरू पनि महाराज सवारी भएपछि अभिवादन गर्नुपर्छ भनी सिपाहीहरू झैं अनुशासित, शान्त र सजग भई स्थित उभिरहेका थिए।

स-साना रूख-बिरुवाहरूले पनि 'आज राजाको दर्शन नगरी हुँदैन' भनी शिर उचालेर मात्र नपुगेर पाइलासमेत उचालिरहे, मानौं राजालाई देख्नेबित्तिकै उनीहरूको दुःख कष्ट हरण हुनेछ। महाराजलाई चढाउन फूलका बिरुवाहरू रंगीबिरंगी फूलहरू लिएर लहरै उभिरहे- अलिकति पनि हलचल नगरी, सायद आफूलाई परिरहेका असुविधाका बारेमा उनीहरू पनि राजासमक्ष बिन्ती बिसाउन चाहन्छन्।

रूख, झाडी, फल, बिरुवा, चराचुरुंगी कीराहरू सधैं झैं चिउँचिउँ र झ्याउँझ्याउँ कराएनन्। किनभने त्यस दिन तिनीहरू 'महाराज', महाराज, महाराज, जय, जय, जय भनेर कराइरहेको भान हुन्थ्यो। कोइली पनि 'कुहु' नगरी 'अहो राजा' भनी मात्र गाइरहेको थियो। साँच्चै त्यो दिनको चाल-ढाल राजा सवारी हुने भएको हुँदा उल्लासमय थियो, असाध्यै मनमोहक, शीतल, रमाइलो वातावरण थियो।

नुहाउने ठाउँमा नपुग्दै काकाभाइ दाइले नाक बजाउँदै भन्नुभयो- 'नुहाउनलाई त हामी दुईजना मात्र जानुपर्ला। यी आइमाईहरूसित गएर राम्रो हुँदैन, साँच्चै राम्रो हुँदैन।'
'नुहाउने र ? '- मैले सोधेँ।
आश्चर्य मानेझैं मुख बिगारेर काकाभाइ दाइले भन्नुभयो- 'अहो ! यहाँसम्म आएर कसरी ? बाह्रवर्षे मेलामा त जसरी पनि नुहाउनैपर्छ।'
ममा पनि नुहाउने विचार आयो।

नुहाउने ठाउँमा पस्ने बाहिरको ढोकामा नुहाउने मान्छेहरूको भीड ठूलो थियो। दसैंमा नेपाल भित्र्याइने भोटका भेडाच्याङ्ग्राभन्दा तीन दोब्बर बढी !
ढोकाबाट छिर्न ठेलमठेल भयो। चीन र भारतबीच हलचल नै गर्न नमिल्ने गरी नेपाल च्यापिएर रहेझैं हामी पनि च्यापियौं। लामो समयको ठेलम-ठेल्लापछि बल्ल हामीभित्र पुग्यौं, हामी दुवै निथु्रक्क भिज्यौं। एउटा-एउटा गर्दै पाकेको आलु भाँडाबाट निकालेसरी, ढोकाबाट भित्र पसेपछि एउटा चोकमा झैं दुईचार देवल थिए। भित्र पनि त्यत्तिकै भीड। गोदावरीको कुण्डमा पुग्न त अझै अर्को ढोकाबाट भित्र पस्नुपर्ने थियो। एउटा पंक्तिमा पुरुष र अर्कोमा महिला, भित्र पस्ने ढोकादेखि पंक्तिमा उभिरहेका, दुलोमा पसिरहेका दुरुस्त कमिलाहरूको ताँती झैं थियो।

हामी दुईजनाको सल्लाह भयो। सल्लाह भएबमोजिम पहिला काकाभाइ दाइ लुगा फुकालेर नांगाहरूको पंक्तिमा उभिन जानुभयो, भोट खसाल्न उभिन गएको मानिसझैं काकाभाइ दाइको लुगा लिएर म पर्खिबसेँ।

एक घन्टा जति पछि काकाभाइ दाइको भित्र जाने पालो आयो। उहाँ भित्र जानुभयो र नुहाएर एक छिनपछि बाहिर आउनुभयो। अनि म पनि लुगा फुकालेर नांगाहरूको पंक्तिमा उभिन गएँ, लुगा काकाभाइ दाइको जिम्मामा छोडेर।

बल्ल कुण्डमा पस्ने मेरो पनि पालो आयो, भित्र गएँ। भित्र पसेको मात्र थिएँ, प्रहरीहरूले बाटा र डिक्चीले पानी छ्याप्न थाले आफूले नुहाउनै नपर्ने गरी ! त्यतिखेर मैले भन्नै सकिनँ। म नुहाउन आएको कि प्रहरीबाट नुहाइदिन ? जाडोले काँपेर मैले हरहर मात्र भन्न सकिरहेको थिएँ।

'हर-हर' भन्दै जीउ माडेर नुहाउन भ्याएको पनि थिइनँ, 'बाहिर निस्क' भन्दै प्रहरीहरू मलाई धकेल्न थाले। म बाहिर निस्कँदै थिएँ, अरुले कुण्डको पानी अञ्जुलीमा लिएर पितृलाई चढाइरहेको देखेर ममा पनि आफ्नी दिवंगत आमाको नाममा एक अञ्जुली कुण्डको पवित्र पानी चढाउने श्रद्धाभाव पलायो।

एक अञ्जुली पानी लिएँ, तर आमालाई चढाउन नपाउँदै पछाडिको प्रहरीले टुप्पी समातेर मलाई तान्यो र गलहत्याइएँ। आफ्नी दिवंगत आमालाई चढाउन अञ्जुलीमा लिइसकेको जल पनि चढाउन नपाउँदै गलहत्याइँदा म छक्क परेँ। त्यतिखेर मलाई रिस उठ्यो या चित्तमात्र दुख्यो, म भन्न सक्दिनँ। बाहिर आउँदा काकाभाइ दाइ हुनुहुन्थेन। न त अघिजस्तै नुहाउने ठाउँमा पस्न लाइन कसिराखेका मानिसहरू नै थिए। त्यहाँ त रातो टोपी लाउने प्रहरीहरू मात्र थिए।

म बाहिर आएँ। बाहिर मूल सडक सुनसान थियो। कोही मान्छे नदेख्दा मलाई डर लाग्यो, केही भयो कि भनेर ! यसो नियालेर हेर्दा सबै मानिसहरू परपरसम्म नदीका दुई किनाराझैं विभक्त भएर बसिरहेका थिए। दायाँ लामका मानिसहरू बायाँ र बायाँ लामका मानिसहरू घाँटी तन्काई-तन्काई, कुर्कुच्चा उचाली-उचाली हेरिरहेका थिए। बीचबीचमा प्रहरीहरू थिए। त्यहाँ दुईचार जना ठूलठूला भुँडी भएका मानिसहरू राष्ट्रिय पोसाकमा थिए।

मलाई कता जाउँ कता जाउँ भयो। काकाभाइ दाइ यता हो कि उता, कसरी थाहा पाउने ? उहाँलाई भने नभेटी हुँदैनथ्यो। मेरो लुगा नै उहाँसित थियो। त्यसैले यता बसुँ कि उता जाउँ हुँदाहुँदै नजिकैको मानिसहरूको भीडतिर म पनि कुदेँ र मिसिन पुगेँ।

मानिसहरूलाई पन्छाउँदै म काकाभाइ दाइलाई खोज्दै हिँडें। तर, लाखौं-लाख मानिसको अनुहार हेर्दा पनि काकाभाइ दाइको सीँ सीँ बज्ने नाक भएको अनुहार फेला परेन।म हैरान भएँ किनभने मेरो शरीरमा लगौंटी एउटाबाहेक अरू एउटा धागो पनि थिएन। 

महाराज सवारी भएको होइन रहेछ ! म जस्तै लगौंटीमात्र लगाएको मान्छेलाई उताबाट यता आउन खोज्दा पुलिसले मलाई झैं गोल हान्न मान्छेको भीडसम्म तानेर पो लगेको रहेछ !


लौ फसाद पर्‍यो ! यता काकाभाइ दाइ हुनुहुन्न, उतैतिर हुनुहोला। तर, उता जाने कसरी ? एउटा समस्या ! ठूलै समस्या। बाटो छेकिरहेका त्यतिका प्रहरीहरू थिए। भट्ट्ट गोली चलिरहेको ठाउँमा गोली छलेर जान सकिएला तर पुलिसहरूको आँखा छलेर त्यहाँ जान सकिएला जस्तो लागेन। जंगलबाट घुमेर जाउँ भन्नलाई पनि झन् गाह्रो, पिस्तोल, राइफल बोकेका सिपाहीहरूले घेराबन्दी गरिरहेका थिए। के गर्ने लौ फसादै पर्‍यो ! नांगैमात्र नभएको भए त जे पर्ला-पर्ला भन्ने थिएँ।

पछि उतैतिर जाने ममा साहस आयो। के गर्ने ? पर्‍यो त्यस्तै। सके पुलिसको आँखामा छारो हालौंला भनेर भएभरको साहस निकालेँ, सक्दो होसियारी अपनाएँ र रिसल्ला घोेडा दौडेझैं उतातिर कँदें। उतातिरको भीडमा पुग्न लागेको बेला चारपाँचजना पुलिसहरूले हे-हे भन्दै कुद्दै मलाई लखेटे।

समात्न पनि उनीहरूले मेरो कपालैमा समाते। मलाई अन्त समात्न पनि मिल्दैनथ्यो। मसँग लुगा नभएको हुँदा कपडा भन्नु नै मेरो शरीरमा लगौंटी एउटामात्र थियो। लगौंटीको फेद त समात्न मिलेन। मेरो कपाल लुछ्दै तिनीहरूले जताबाट गएको थिएँ, त्यतैतिर फाले।

ढुंगेबगरमा माछा पछारिए झैं मानिसको भीडमा पुलिसबाट पछारिएको म, राष्ट्रिय रंगशालामा उसले एकचोटि त्यसले एकचोटि हानेर फुटबल गोल हुन पुगेजस्तै मानिसको भीडबाट बाहिर गोल हानिएँ।

म गोलमात्र हुन पुगेको होइन, मेरो सात्तोपुत्लो उड्यो। एक मनले बेकारमा आएछु भनी पछुताउन पनि थालेँ। धर्म गरुँ भनी आएको त पापले पो गाँज्यो। असाध्यै चित्त दुख्यो, दिवंगत माताको याद आयो। 'मरिसकेको देहलाई स्वर्ग पुर्‍याउने के बुद्धिले नुहाउन हिँड्यो', भनी आमाले रिसाउँदै मसँग बोल्नुभएको आभास भयो। अर्कोतिर काकाभाइ दाइ सम्झेर रिसले चूर भएँ। 'आउँदिन' भन्दाभन्दै ल्याउने पनि उही र अहिले लुगाको पोको बोकेर बेपत्ता हुने पनि उही ! लुगा लगेपछि देखिने ठाउँमा त बसिराख्नु नि। के गर्ने रिसको पोकोमात्र मसित, लुगाको पोको त काकाभाइ दाइसितै !

त्यतिखेरै मानिसहरू अलिअलि हलचल गर्न थाले। 'अहो ! महाराज सवारी भयो क्यारे ? ' भनी छिट्छिटो फेरि म त्यही हूलमा पुगेँ, गोल हुन पुगेको फुटबल गोलपोस्ट पछाडि रहेका बच्चाहरूले हानेर मैदानमा फर्काएजस्तै। किनभने शरीरमा लगौंटी एउटामात्र भए पनि राजाको अनुहार पुलुक्क मात्र भए पनि हेर्ने इच्छा मसित हराएको थिएन।

तर, महाराज सवारी भएको होइन रहेछ ! म जस्तै लगौंटी मात्र लगाएको मान्छेलाई उताबाट यता आउन खोज्दा पुलिसले मलाई झैं गोल हान्न मान्छेको भीडसम्म तानेर पो लगेको रहेछ !

त्यसरी उताबाट यता, यताबाट उता जान खोज्ने लगौंटीमात्र भएकाहरूको हविगत देखेर अरू नांगाहरू मुखै निन्याउरो पारी स्तब्ध भई केवल ठिंग उभिरहे। सबैको ओठ सुकिसकेको थियो। त्यतिखेर सबैको मुख काँपिरहेको थियो, भोकाएका थिए यद्यपि राजाको एकचोटी दर्शन गर्ने आशा र इच्छाले गर्दा दुःख, कष्टलाई त्यति ठूलो ठानिएन। निक्कै समय गइसक्दा पनि राजा सवारी भएन। पर्खिरहेका सबै प्रजा गाह्रो मान्न थालेका थिए।

राजा सवारी हुने बाटो हेरिरहेका आँखाहरू पनि थाके। मेरो छेवैमा बस्ने एकजना नांगो मान्छे कराउन थाल्यो- 'होइन, राजा सवारी हुने समय नभएको भए नुहाउनेहरूलाई नुहाउन दिएको भए त भइहाल्थ्यो नि ! राजा सवारी हुने भनी ढोका बन्द गरेको, बाटो बन्द गरेको तीन घन्टा भइसक्यो।' 'हो त नि बिना काम कतिबेरसम्म उभिरहने'- अर्को नांगो पनि थर्थर् काँप्दै कराउन थाल्यो -'हेर्नुस् न, यताको एकजना पनि जान दिएको होइन। मेरो लुगै उता पर्‍यो। के गर्ने, कति नांगै बसिराख्ने ? '

एकजना बूढीले कारुणिक स्वरमा बिन्ती गरिन्, 'पुलिस दाइ बिन्ती मलाई उता जान दिनुस्। अघि भीड हटाउँदा मेरी सानी छोरी उता परिन्। उनी 'बुबा, बुबा' भनी रोइराखेकी होलिन्, उनलाई भीडले पो कुल्च्यो कि ! उनलाई घर जान आउँदैन। मेरो घर काठमाडौं बाहिर हो। बिन्ती पुलिस दाइ।'

पुलिसले कुरै सुनेन, मुन्टो बटार्‍यो। त्यतिखेर एउटा बच्चा रोएको आवाज सुनियो। आमा जाने। 'आमा ! मलाई लिन आउनुस्। हँ.....हँ...।'
बच्चाको रुवाइलाई पनि पुलिसले नसुनेझैं गर्‍यो।

बुबा एकातिर परेकाहरू, छोरी अर्कोतिर परेकाहरू, श्रीमती एकातिर, श्रीमान् अर्कोतिर परेकाहरू, लुगा हराएकाहरू, खाजा ठेगान नभएकाहरू मात्र थिए सबै ! तर के गर्ने सबै विवश थिए- पुलिसको लठ्ठी र सिपाहीहरूको बन्दुकको अगाडि। तर सहने सीमासम्म मात्र मान्छेले सहने रहेछ।

आफूलाई साह्रैसाह्रै अप्ठ्यारो भएपछि लठ्ठी, बन्दुक त के एटम बमले दबाउन खोजे पनि दबाउन नसकिने रहेछ। त्यसैले त होला त्यतिका पुलिसहरू अगाडि भए पनि मानिसहरू चल्मलाउन थालेका। मानिसहरू एकले अर्कोलाई घचेट्दै थिए। जति घचेट्दै गयो त्यति मानिसहरू अगाडि सर्दै गए। एकछिनपछि पुलिसले रोकेर रोक्न नसक्ने गरी मानिसहरू हूल बाँधैर उठ्न थाले।

पुलिसले समातेका जतिलाई त धमाधम चुट्न थाल्यो। हूलले किचेको एकजना बूढोलाई पुलिसले लात्तीले हान्यो। तर, बूढो एक्लै नभई साथमा उनकी बूढी पनि भएकीले पाखुरा समातेर उठाउँदै असह्य भएर उनी चिच्याइन् 'मर्न पनि नसकेका पुलिसहरू।'

'के भनिस् बूढी ? ' पुलिसले मारुँला जस्तो गरी लठ्ठी सोझ्याउँदै भन्यो।
'तेरो आँखा फुट्यो कि भनेको नि। सबैले उसलाई कुल्चेको देखेनौं। अझै उसैलाई हो पिट्ने ? तिमी मान्छे कि पशु हौ, हँ ? ' बूढीले नडराई भनिन्।
'तैं पशु।' -कुटुँला झैं गरेर पुलिसले भन्यो- 'महाराज सवारी हुने तँलाई थाहा छैन ? '

'तिमीजस्तो अन्धो र विवेकहीन भए पो हामीलाई थाहा नहुनु।' बूढीले रिसाउँदै भनिन्।
'थाहा छ भने किन भीडभाड' -पुलिसले पनि दारा किट्दै हकार्‍यो।

'भीडभाड त तिमीहरूले गर्‍यौ'-बूढीले नडराई अघि सर्दै भनिन् - 'कसैलाई जानै नदिई बाटो छेकेर, खानै नदिई, सास्ती गरेर राजा सवारी हुने भन्दैमा तिमीहरूले मनपरी गर्न पाउँछौ ? '

'ओई, त्यसलाई जुरो समातेर तानेर लग्।' सँगै आएको पुलिसको हबल्दारले आदेश दियो- 'नचाहिने कुरामा कराउँदैछे, जिब्रै काट्नुपर्ने बूढी।'
बूढीले केही भन्न नपाउँदै अगाडिको पुलिसले उनलाई तानेर लग्यो। बूढीलाई लगेपछि 'मलाई पनि लग !' भन्दै बूढो चिच्याउन थाल्यो। बूढोलाई पनि पुलिसले चुट्दै लग्यो। हेरिरहनेहरूको मन रोयो। चारैतिरको जंगल यो अन्याय हो भन्दै चिच्यायो।

नजिकै उभिरहेका दुईचारजना आइमाईहरू 'भैगो, राजाको दर्शन नगरी हुन्न भन्ने के छ र !' भन्दै मुन्टो बटारेर गए। 'जाऊँ जाऊँ हामी पनि जाऊँ। लुगा नभए जंगलैजंगलबाट भए पनि जाऊँ। जाऊँ दर्र्शन गरेर के पाइन्छ र जाऔं, त्यति टाढासम्म पुग्नुछ !' भन्दै अरू पनि आ-आफ्नो बाटो लागे। म पनि भीडबाट बाहिर निक्लेँ। किनभने भोकले मेरो आन्द्राभुँडी सुकिसकेको थियो।

मैले चारैतिर आँखा दौडाएँ। अघि जस्तै रूख, बिरुवा, खोला, पानी, हावा खुसी मानिरहेको पाइनँ। रूखहरूले मुन्टो बटारे, फूलका बोटहरूले आँखा चिम्ले। खोलाको कलकल सुनिएन, हावा रोकियो। हूलका हूल मानिसहरू फर्केरसम्म पनि नहेरी बाटो नभए पनि जंगलै जंगल, खेतै-खेत, पहाडै-पहाडबाट बाटो बनाउँदै हिँडिरहेका थिए।

म पनि जंगलै जंगलबाट बिना पोसाक घर फर्कें। घर नपुग्दै ठूलठूलो आवाजमा रेडियोले समाचार फुकिरहेको सुनेँ-' आज दिउँसो बाह्रवर्षे मेलामा महाराजाधिराज सवारी होइबक्स्यो। मौसुफको दर्शन गर्दै मेलामा सहभागी लाखौंलाख प्रजाले सडक किनारमा बसी हर्षले गद्गद् हुँदै आफ्ना प्यारा राजाको स्वागत अभिवादन गरे।'

नेपालभाषाबाट उल्थाः सुरेन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.