के महिला रहस्यमयी हुन्छन्?

के महिला रहस्यमयी हुन्छन्?

मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर जब लैंगिक समता र महिला अधिकारको प्रसंग चल्छ मभित्र किन दन्दनी आगो बल्छ ? किन आफैंलाई थाम्न सक्तिनँ? यो मुद्दामा जति चाहे पनि नरम, सरस र सलिल शैलीमा बोल्न सक्तिनँ । बेलाबेलामा सोध्छु आफैंसँग मभित्र यो आगो किन दन्दनी दन्कन्छ दिनहुँ ? निभाउन खोज्दा झन् किन हुरहुरिन्छ ?

युद्धको चपेटा र राजनीतिक अस्थिरताले थिलथिलिएका हामीलाई साहित्य उत्सवहरू थेरापी हुने गर्छ । यस्ता उत्सवहरूमा एकै मञ्चबाट अनेकन विषयमाथि छलफल हुने हुँदा समकालीन कला, साहित्य र राजनीति बुझ्ने र नयाँ मान्यताको स्थापना गर्न पनि मद्दत पुग्छ । विभिन्न बहसले नयाँ सोच र सिर्जना जन्माउँछ।

चिया गफ वा अनौपचारिक भेटघाटमा हुने ठट्टा हैन नारीवादको बहस । यो एकदमै संवेदनशील र गहन विषय हो । हिजोभन्दा आज यो बहस झनै पेचिलो बन्दै गएको छ । अब नारीवाद महिलाको सरोकारमात्र होइन । पुरुषले पनि आवाज उठाउनुपर्ने अवस्था छ । केही हदसम्म पुरुषहरूले उठाइरहेका पनि छन् । तर अब नारीवादका प्रसंगहरूलाई नयाँ धाराबाट उठाउन जरुरी छ । हिजोका दिनमा नारीवादका प्रसंग पुरुष धरातलबाट उठेका थिए । अबका प्रसंगहरू महिलाकै धरातलबाट उठ्न आवश्यक छ ।

कुन हो पुरुषको धरातल ? कुन हो महिलाको धरातल ? यो अर्को गम्भीर प्रश्न हो । हाम्रो सामाजिक संरचना पुरुषको शारीरिक बनावट र उसको मनोविज्ञानमा आधारित भएर बनाइएको छ । जस्तै भाषा, धर्म, संस्कार, कानुन यी सबै विषय पुरुषलाई केन्द्रमा राखेर स्थापित गरिएको छ । त्यही स्थापित मान्यतामाथि हामी उभिएका छौं । हामी जहाँ उभिएका छौं त्यो पुरुषको धरातल हो ।
स्मरण रहोस् यहाँ मैले पुरुष भन्ने सम्बोधन गरिरहँदा पुरुष व्यक्ति नभएर पुरुष प्रवृत्ति हो । किनकि लामो अभ्यासपछि शक्तिआर्जन गरेर स्थापित हुने हुनाले त्यो प्रवृत्ति महिला र पुरुष दुवैमा पनि हुन सक्छ । पुरुष होस् वा महिला व्यक्ति आफैंमा गलत हँदैन । उसको धरातलले सिकाएअनुसार ऊ गलत र सही बन्न पुग्छ ।

सन्दर्भ रिडर्स झापाले आयोजना गरेको त्रिदिवसीय कला साहित्य उत्सव २०७३ कार्यक्रमका सिलसिलामा गरिएको बहस ‘साहित्यमा नारीवाद’मा केन्द्रित छ । ‘टेलिङ अ टेल’, ‘स्वअस्तित्वको खोज’ पुस्तकका सम्पादक तथा प्रकाशक अर्चना थापा, नाटककार, कथाकार तथा कवि हरिमाया भेटवाल र म साहित्यमा नारीवाद शीर्षकमा छलफल गर्न तम्तयार थियौं । मेचीपुल नाघेर अँध्यारोले काँकडभिट्टालाई छोपिरहेको थियो । हामी तीन नारीवादी (घोषित÷अघोषित) लाई प्रश्न सोध्न उपन्यासकार तथा पत्रकार नारायण वाग्ले मोडरेटरको रूपमा उपस्थित हुनुहुन्थ्यो।

ठूलै कौतुहल र जिज्ञासाका साथ दर्शकदीर्घामा नेपालका मूर्धन्य साहित्यकार, समालोचक, पत्रकार, लेखक, कलाकारको जमातले काँकडभिट्टाको रौनक बदलिरहेको थियो । तीन महिना बाह्र दिनको छोरो चेपेर त्यस उत्सवमा सहभागी हुन विराटनगरदेखि काँकडभिट्टा पुगेकी मैले नारीवादबारे केही त भन्नु नै थियो । यस्सो बटारिदियो भने किरिक्क भाँचिएलाजस्तो ज्यान भएका नेपाली पत्रकारिताका एक बलिया हस्ती नारायण वाग्लेले नारीवादको सन्दर्भ कसरी उठाउँलान् भनेर मलाई ठूलो कौतुहल थियो । छुट्याएको समयभन्दा झन्डै एक घन्टा ढिलो सुरु भएको कार्यक्रममा सबैको व्यग्रता चिर्दै आफ्नो पुरानै शैलीमा नारायण दाइले मलाई पहिलो प्रश्न गरे, नेपाली साहित्यमा मनपर्ने नारीपात्र को छन् ?

मलाई लागेको थियो कुनै पुरुषमुखी प्रश्न त सोधिने नै छ । भयो त्यस्तै । कलाकार हुन् वा साहित्यकार महिलालाई पुरुष प्रश्नकर्ताले सोध्ने केही रेडिमेड प्रश्नहरू हुन्छन् । त्यस्ता प्रश्नको अपेक्षित जवाफ पनि लगभग उस्तै नै हुने गर्छ । त्यही रेडिमेड पहिलो प्रश्नले मेरो मथिंगललाई राम्रै झड्का दियो । दिनुपर्ने रेडिमेड जवाफ हुन्थ्यो मलाई फलानो पात्र मन पर्छ । तर मलाई रेडिमेड जवाफ दिनु थिएन ।

नारीवादबारे सही ढंगको बहस गरेर सानो निकास भए पनि निकाल्नुपर्छ भन्ने मानसिकतामा थिएँ म । हाम्रोजस्तो समाजको सन्दर्भमा नारीवाद निक्कै गम्भीर विषय हो । यदि नारीवादलाई सही ढंगले बुझ्न सकिएन र सही अवतरण गरिएन भने हामी रहेको यो समाजको अनुहार अर्कै हुनेछ । जसरी सही बाटो नलिँदा गाउँ र वडासम्मै राजनीतिको नकारात्मक असरले गाँजेको छ त्यसैगरी नारीवादलाई हल्का ढंगले बुझियो भने र खेलाँची पारामा लियो भने हाम्रा घरका धुरीहरूले घामपानी र हावा हुरी छेक्न सक्ने छैनन् ।

हल्का रूपमा सोधिएको भए पनि मलाई यो प्रश्न साह्रै गम्भीर लागेको थियो । छोटोमा जवाफ दिएँ, आजसम्म मैले पढेकोमध्ये कोही पात्रभित्र पनि म आफूलाई पाउँदिन । विश्वमा नारीमाथि यति धेरै साहित्य लेखिएको छ किन आफूलाई कतै नपाउनु भएको भन्ने प्रश्न आउँला भन्ने मलाई आशा लागेको थियो । तर प्रश्न आएन ।


पुरुषका पाखुराको सामथ्र्य लेखियो तर महिलाको पाठेघरको सामथ्र्य कतै लेखिएन । प्रत्येक मास रजस्वला हुँदा बग्ने रगतको सौन्दर्य कतै लेखिएन । रजस्वला हुनुअघि, भइरहेको समयमा र भइसकेपछिको आवेग, संवेग र उत्तेजनाबारे आजसम्म दुनियाँले थाहै पाएन।


अर्को प्रश्नको झटारो थियो, नारीहरू रहस्यमयी हुन्छन् भनिन्छ नि ? ठट्टाजस्तो लाग्ने यो गम्भीर प्रश्नको पहाड अर्चना थापालाई सोधिएको थियो । जब अर्चना थापालाई यो प्रश्न सोधियो मभित्रको आगो दन्दनी दन्किन थालेको थियो । हुर्रहुर्ती बलिरहेको थियो मभित्रको स्त्री । यी उखान र तुक्काले हामीलाई कतिसम्म हेपेको छ भन्ने जान्न लागि यो प्रश्न पर्याप्त थियो । महिलाहरू किन रहस्यमयी हुन्छन् र पुरुषहरू हुँदैनन् ? के पुरुष रहस्यविहीन खुल्ला कितााब नै हुन् त ? प्राकृतिक रूपमै मान्छे रहस्यमयी हुन्छ । ऊ कहाँबाट आयो ? कसरी आयो ? किन आयो र कसरी जान्छ ?


आफू को हो भन्ने नजानी नै जान्छ । कहाँ जान्छ पनि थाहा छैन । अनि के पुरुषले स्वयं आफ्नोबारे भोलि के हुन्छ भनेर किटेर भन्न सक्छन् ? आफ्नो भोलिको दिनबारे वा आफूभित्र के छ भनेर खुल्लमखुल्ला भन्न सक्छन् ? महिला होस् वा पुरुष कसैले पनि भन्न सक्दैन । तर उखानमार्फत लाञ्छनाको जाल महिलामाथि मात्र किन ? किनकि महिलासँग केही त्यस्ता शारीरिक अवस्था छन् जुन पुरुषसँग छैनन् ।

जस्तै, स्तन र पाठेघर । संसारको सबैभन्दा ठूलो शक्ति महिलाको यही पाठेघरमा सञ्चित हुन्छ भनेर सायद चाणक्यले बुझेका थिए । सायद आफूसँग त्यो शक्ति नहुनुको कुण्ठा बिर्सन भनेका थिए ‘स्त्रीको चरित्र दैवले पनि जान्दैन भनेका ।’ तर पुरुषको चरित्र जान्ने दैव कुन हो भनेर पनि त उनले भन्न सकेनन् । स्त्रीको चरित्र बुझिँदैन । स्त्रीहरू रहस्यमयी हुन्छन् भनिरहँदा यो कारणले रहस्यमयी हुन्छन् भन्न सक्नुपर्‍यो नि । अब पनि विपत्ताको लाञ्छना लगाएर हुन्छ ?

नेपाली भाषामा धेरै यस्ता उखान छन् जसले महिलालाई हेप्ने भाव बोकेका छन् । किन यस्ता उखानलाई निरन्तरता दिइन्छ ? किन उखान सच्याउने काम गरिँदैन ? अब भाषा, उखान, उक्तिले महिलालाई हेपेको सह्य हुनेछैन । महिलाहरू चेतनामा आगो बोकेर उभिन सुरु गरिसकेका छन् । यो आगोलाई समाजले टुंगोमा राख्न सक्यो भने दियो बन्न सक्छ । टुंगोमा राख्न सकेन भने डँढेलो पनि हुन सक्छ । आशा गरौं डँढेलो नबनोस् ।

नारीमाथिको शासन
समाजले महिलालाई जस्तो देख्न चाहेको छ त्यस्तै बनाउँदै ल्याएको छ । भानुभक्तले कल्पना गरेकी वधूशिक्षाकी वधू र आजसम्मका दिनमा महिलालाई समयको मागअनुसार कहिले आज्ञाकारी बनायो । कहिले दुःखका पहाडमा उभिएकी आदर्शवान् बनायो । कहिले त्यागी बनायो त कहिले भोग्या । वा कहिले बनायो विद्रोही । उपभोक्तावादको यो युगसम्म आउँदा अधिकारका नाममा पुँजी बजारको एक उपयोगी साधन बनायो । तर महिलालाई महिला हुन कहिल्यै पनि दिइएन ।

कारण के छ भने महिला र पुरुष एकै घरमा बस्ने, एकै समाजमा हुर्कने भएकाले एकअर्कासँग परस्पर अनोन्याश्रित सम्बन्ध छ । स्वाभावैले मान्छे कसै न कसैमाथि शासन गर्न चाहन्छ । शासन कसमाथि गर्नेभन्दा जो आफ्नो नजिक छ, जो नभई आफ्नो अस्तित्व रहँदैन र जो आफूजस्तै छ त्यसैमाथि शासन गर्ने हो । पुरुषले आदिकालदेखि विभिन्न तवरले शक्ति सञ्चय गर्‍यो र त्यही शक्तिको आडमा आजसम्म पनि महिलामाथि शासन गरिरहेको छ ।

समाज निर्माणको क्रममा धर्मसंस्कार संस्कृति रीतिथिति, भगवान्, पद र भाषाको निर्माण र विकास हुँदै गए । यी सबै पुरुष अनुकूल बने÷बनाइए । समाजका अधिकांश नियम, कानुन र धर्मको जालझेलका माध्यमबाट महिलामाथि पुरुषले शासन गर्दै गयो । यद्यपि त्यो शासनको स्वरूप भने समय र परिस्थितिअनुसार फरकफरक छ । ढाँचा र शैली फरक छ ।

पुुरुषका पाखुुराको सामथ्र्य लेखियो तर महिलाको पाठेघरको सामथ्र्य कतै लेखिएन । प्रत्येक मास रजस्वला हुुँदा बग्ने रगतको सौन्दर्य कतै लेखिएन । रजस्वला हुुनुुअघि, भइरहेको समयमा र भइसकेपछिको आवेग, संवेग र उत्तेजनाबारे आजसम्म दुुनियाँले थाहै पाएन ।

आवाज फरक छ । कहिले महिलालाई सती जान लगाएर मानसिकता खल्बल्याइएको छ । कहिले शृंगारको जालझेलमा बाँधेर शासन गरिएको छ । कहिले विद्रोही बन भनेर शासन गरिएको छ । पछिल्लो समयमा महिला अधिकारको चर्चा चलाएर शासन गर्ने क्रम जारी छ । यसको भित्री पाटोलाई रौंचिरा बनाएर हेर्दा सार एउटै हुन्छ, महिलाहरू आफ्नो स्वत्व र चेतनाअनुसार होइन कि समाजको अह्रनखटनमा चल्नुपर्छ । र, त्यसको केन्द्रीय तह वा शासनसत्तामा पुरुष हाबी हुनैपर्छ ।

त्यसैले हरेक कालक्रममा महिलाहरू यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ, महिलाहरूले यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भनेर बारम्बार उपदेश, निर्देशन चलिरहन्छ । तर, महिला महिलाजस्तो हुनुपर्छ भनेर कतैबाट आवाज आउँदैन । महिलाले महिलाजस्तो भएर बाँच्न पाउनुपर्छ भन्दा मात्र पनि चिच्याएको सुनिन्छ, बुझिन्छ ।

पुरुष मनोविज्ञानले समयसापेक्ष जस्तो महिलाको चाहना राख्यो त्यस्तै महिला साहित्यमा बनाइएका छन् । साहित्यमा निर्माण गरिएका महिलाका ती काल्पनिक चरित्रलाई त्यस समाजमा रहेका जीवित महिलामाथि थोपरिन्छ र त्यस्तै बन्न अभ्यास गराइन्छ । स्वयं महिलाहरूलाई पनि भ्रम हुन्छ, त्यस्तो हुनु नै हाम्रो नैसर्गिक गुण हो । हाम्रै समाजको सन्दर्भमा कुरा गर्ने हो भने भानुभक्तीय समयमा महिलाको धर्म पुरुषलाई खुसी पार्नु, पुरुषभक्त हुनु थियो ।

पुरुष भनेको ईश्वरका रूप हुन् भन्ने मान्यता थियो । समाज परिवर्तनसँगै मान्यताहरू परिवर्तन भए । समाजले नयाँ मान्यता अँगालेर शासन गर्न खोजेकैै छ । अहिले भन्छन् समाजका जञ्जाल तोड । कुरीति र बेथितिविरुद्ध आवाज उठाऊ । तिमीले अधिकार लिनुपर्छ । त्यो भन्न अह्राउने मान्छे त्यही पुरानो शासक हो । हामीलाई अर्कैजस्तो लाग्छ तर शासकको पोसाक र शृंगार फेरिए पनि भित्री चरित्र उही छ ।

त्यो शासकले कहिल्यै भन्दैन समाजमा विद्यमान यी कुरीतिहरू म तोड्छु । महिलामाथिका कुसंस्कारविरुद्ध म लड्छु । महिलामाथि म हिंसा गर्दिनँ । महिलालाई म हेला गर्दिनँ । महिलालाई सहज हुने गरी समाज बदल्छु । महिलालाई सम्मान गर्ने गरी धर्मका नियम बदल्छु । महिलालाई पूर्ण नागरिक बनाउन कानुन बदल्छु । ऊ कहिल्यै त्यसो भन्दैन । भन्छ, महिलाहरू फेरिऊ । जागरूक बन । अब पुरुषहरू बदलिनुपर्छ । पुरुषहरू जागरूक हुनुपर्छ । र, शासनको स्वरूप र ढाँचामा परिवर्तन ल्याउनुपर्छ ।

महिलाका नैसर्गिक गुणहरू के के हुन् ? महिलाहरूको प्राकृतिक स्वभाव कस्तो हुन्छ ? यी विषय लेखन र छलफलका विषय कहिल्यै बनेनन् । किनभने यो समाजको निर्माण पुरुषलाई केन्द्रमा राखिएर बनाइएको छ । धर्म पुरुषमुखी छ । उसलाई जस्तो सजिलो र सहज हुन्छ त्यस्तै ढाँचामा तयार गरिएको छ । पुरुषले महिलाबाट जे जे अपेक्षा गर्छन् त्यो साहित्यमा आएको छ ।

जस्तो, अधिकांश लेखनमा कि प्रेमका क्रम र उपक्रमहरू आउँछन्; कि महिला पीडित भएर आँसुको सागरमा चुर्लुम्म डुबेको कथा आउँछ; कि विद्रोहको आगो निलेर दन्दनी दन्किएको पात्र आउँछ । झरीमा घुम र घाममा छाता ओढेझैं महिलाका रूप र स्वाभाव समायानुकूल सहज किसिमका चाहिरहेको हुन्छ । जस्तो, रामायण पढिने समयमा सीताजस्ती आदर्शवान् नारीको कल्पना गरिन्थ्यो । अहिले विद्रोही र साहषी महिलाको कल्पना गर्छ समाज । तर महिलाभित्रको महिला देख्न कहिल्यै चाहँदैन।

फरक छन् नारी–पुरुष
बजारमा नारा छ– नारी पुरुष बराबर हुन् । म यो नारासँग कहिल्यै सहमत हुन सकेकी छैन । नारी–पुरुष दुवै मानव हुन् । एकअर्काका सहयात्री हुन् । तथापि ती फरक छन् । न त पुरुष नारी जस्तो छ । न त नारी पुरुषजस्ती छ । यी एकअर्कासँग बराबरा हुँदैनन् । बरू आ–आफ्ना फरक पहिचान बोकेर समानान्तर दुरीमा सँगै हिँड्न सक्छन् ।

पुरुष र नारी शारीरिक रूपमै एकअर्कासँग मेल खाँदैनन् । हाम्रा आवश्यकता र चाहना हाम्रो शारीरिक बनावटले पनि निर्धारित गर्ने गर्दछ । हाम्रो सौन्दर्य, हाम्रो सबल पक्ष या दुर्वल पक्ष पनि शारीरिक बनावटले निर्धारण गर्ने गर्दछ ।

मान्छेलाई पूर्ण बनाउने माध्यम प्रेम हो । प्रेमलाई पनि पूर्ण बनाउने माध्यम यौन हो । नारी र पुरुषलाई एकअर्काका परिपूरक बनाउने र छुट्टिनै नसक्ने राख्ने प्रेम र यौनले नै हो । नारी र पुरुषबीचको प्राकृतिक यौनसम्बन्ध बीचमा निकै गहिरो राजनीति छ । समाजका मूल्य–मान्यता, धर्म र ईश्वरको परिकल्पना पनि यही यौनमा आधारित रहेर गरिएको देखिन्छ । हाम्रो साहित्य पनि यही यौनको वरिपरि चक्कर मारिरहेको हुन्छ ।

महिला र पुरुषबीचको शारीरिक बनावटलाई आधार बनाएर अनेकन साहित्य लेखिए, फिल्म बनाइए, चित्रहरू कुँदिए । मैले पढेको साहित्य, हेरेको फिल्म र देखेका नारीचित्र सबैको अन्तिम बिन्दु बैंसमा टुंगिन्छ । सारमा भन्दा अक्सर पुरुष पाखुराले महिलाको सम्पूर्ण अस्तित्व बोकेको कल्पनामा हाम्रो कला साहित्य उभिएको छ ।

कार्यक्रममा दर्शकदीर्घाबाट प्रश्न सोधिएको थियो ‘क्यान म्यान राइट वम्यान’ पुरुष कलमले महिलालाई पात्र बनाएर कैयौं ठेली पुस्तक लेखिए । तर पूर्ण महिला आजसम्म कतै पनि लेखिएको मैले पाएकी छैन । म पूर्ण महिला भएका नाताले भन्न सक्छु, पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन । एउटा हदसम्म लेख्न सक्छ तर पूर्ण लेख्न सक्दैन । त्यसको पनि कारण छ ।

महिलापुरुषको सम्बन्धसम्मको दुरीमा पुरुषले महिलालाई लेख्न सक्छ । जस्तै, महिला र पुरुषको प्रेमको सम्बन्धलाई जोडेर लेख्न सक्छ । प्रेम पछिको यौनलाई लेख्न सक्छ । पुरुषहरूको निम्ति यौन एउटा कडीका रूपमा उभिन्छ । यौनसम्म आइपुग्दा एउटा सम्बन्धको उचाइ सकिन्छ । त्यही यौनको उचाइबाट महिलाको जीवन आरम्भ हुन्छ । पुरुषको जीवन अभीष्ट यौनमा आएर टुंगिँदा महिलाको जीवनको अभीष्ट त्यहीँबाट सुरु हुन्छ । त्यसैले महिला र पुरुष दुवै मानव भए पनि फरक प्राणी हुन् ।

यौनसम्बन्ध सकिएपछि आरम्भ हुने नारी जीवनको गति र त्यसको सौन्दर्य मैले पढेको साहित्यमा कतै भेटेकी छैन । मानव सृष्टिको केन्द्रबिन्दु महिलाको पाठेघर हो । यो पाठेघरको सौन्दर्य कतै लेखिएको छैन । पुरुषका पाखुराको सामथ्र्य लेखियो तर महिलाको पाठेघरको सामथ्र्य कतै लेखिएन । प्रत्येक मास रजस्वला हुँदा बग्ने रगतको सौन्दर्य कतै लेखिएन । रजस्वला हुनुअघि, भइरहेको समयमा र भइसकेपछिको आवेग, संवेग र उत्तेजनाबारे आजसम्म दुनियाँले थाहै पाएन ।

स्वयं महिलाले पनि राम्रोसँग अनुभव गर्न पाएका छैनन् । किनभने हाम्रो समाजले रजस्वलालाई उत्सवको रूपमा लिनुभन्दा पनि लुकाउनुपर्ने विषय बनाउँछ । त्यस समयमा अछूत ठहर्‍याएर हीन भावना जगाइदिन्छ । धर्मले त यसलाई पापकै संज्ञा दिएको छ । हाम्रो आधुनिक साहित्य योबारे मौन छ । पुरुषले लेख्न सक्ने त कुरै भएन महिलाले पनि यसलाई लेखनको विषय बनाएर लेख्न सकेका छैनन् । एक उसले समाजमा विद्रोह गर्नुपर्ने बाध्यकारी परिस्थिति छ । अर्को यो लेखिनेभन्दा पनि लुकाइने विषय हो भन्ने मान्यता स्थापित छ ।

अर्कोतर्फ महिलाहरू आफ्नोबारे लेख्ने ठाउँसम्म आइपुगेकै छैनन् । आफ्नो शरीर र हाम्रा आवेग संवेग कौतुहलबारे लेख्ने कामको सुरुवात भएकै छैन ।
यौन सम्बन्धसम्म महिलाको जीवन आधामात्र हुन्छ भने पुरुषको जीवन त्यही पूर्ण हुन्छ । महिलाको बाँकी आधा जीवन यौनसम्बन्धपछिको गर्भाधारणबाट सुरु हुन्छ । कलम चलाउने पुरुषलाई भ्रम छ यौनसम्बध नै महिलाको जीवनको अन्तिम बिन्दु हो । र हाम्रो साहित्य पनि त्यहीसम्म मात्र लेखिएको छ ।
ऊ गर्भवती हुँदा कस्तो आवेग, संवेग हुन्छ ? कस्तो पीडा या आनन्द हुन्छ ? प्रसूति व्यथा लाग्दा बीसवटा हड्डी भाँच्चिएबराबरको पीडा हुन्छ भनिन्छ । त्यो पीडाबीचबाट सन्तानको अनुहार देख्दा पाउने आनन्द साहित्यमा कहाँ लेखिएको छ र ?

हामी क्रिकेट खेलेर र हेरेर आनन्द लिन्छौं । बञ्जीजम्प गरेर वा र्‍याफ्टिङबाट अथवा ट्रेकिङ गएर आनन्द लिन्छौं । त्योभन्दा कयौं गुना बढी पीडा—आनन्द रजस्वलाबाट उत्पन्न हुने रगतले दिन्छ । त्यस समयको पीडा र त्यही पीडासँग घोलिएको आनन्द लेखिन बाँकी नै छ । गर्भावस्थामा कोखमा बच्चा खेल्दाको आनन्द र कुत्कुतीलाई हाम्रो लेखनले सम्बोधन गरेकै छैन ।

काखमा बच्चा चेपेर स्तनपान गराउनुको मज्जा हाम्रा कलमले थाहै पाएका छैनन् । एउटी महिला हुनुको गर्व उसको पाठेघर हो । गर्भाधान गर्न सक्ने रजस्वला हुने, स्तनपान गराउने क्षमता हो । महिलाका यी गुणलाई सम्मान र सम्बोधन गरेर अधिकारको प्रश्न उठाउनु नै सच्चा नारीवाद हुन्छ । केवल विद्रोही हुनु मात्र नारीवाद हैन । जबसम्म नारीका नैसर्गिक गुणलाई सम्मान गरेर सम्बोधन गरिँदैन तबसम्म नारीवाद नारीवाद नभएर नारावादमात्र हुन्छ।

‘वाद’को घनचक्कर
लेखक, पाठक, समालोचक माझमा अर्को भ्रम छ । नारीवाद भनेको पुरुषको विरोध गर्नु हो । माथि नै भनियो नारी र पुरुष मानव भए पनि फरक हुन् । हामीले पुरुषको विरोध गरेकै हैन । विरोध गर्नुको तुक पनि छैन । पुरुषसँग सहकार्य गर्ने नै हो । हामी एकअर्काका सहयात्री नै हौं । विमति त सामाजिक चरित्रमाथि हो । धार्मिक चरित्रमाथि हो ।

हाम्रो समाजमा सांस्कृतिक जेलभित्र हुन्छन महिलाहरू । जस्तो कि विवाहित पुरुष फुक्काफाल हुन्छ । विवाहित या अविवाहित जनाउने कुनै चिह्न हुँदैन । तर महिलाहरूले सिन्दूरपोते र शृंगार गरेर शिरमा लोग्नेलाई बोकेर हिँड्नुपर्छ । यो सिन्दूरपोते र शृंगार एक किसिमको सांस्कृतिक जेल हो ।
धर्मले महिलालाई निश्चित दायराभित्र रहन निर्दिष्ट गरेको छ । पुरुष जति स्वतन्त्र छ त्यति स्वतन्त्र महिलाले हुन खोज्नुलाई राम्रो मानिँदैन । कानुनले पनि महिलाका सीमा तोकेको छ । जस्तै, नागरिकताको सवाल, बच्चा पाउने सवाल । महिलाहरू विवाहिता कि अविवाहिता छुट्ट्याउने कडी छ । पुरुष सधैं फुक्काफाल रहन्छ । जन्मदेखि नै कुनै न कुनै तवरले महिलाहरू सांस्कृतिक जेलमा रहने गर्दछन् । त्यही जेलको जालझेललाई रंगरोगन गरेर साहित्य लेखिने गरेको छ ।

नारीवादबारे निकै बहसहरू भइसकेका छन । नारीहरू पनि कस्सिएर लागेका लागेकै छन् । तथापि समाज टसको मस गरेको देखिँदैन । रूप बदल्छ, भेष बदल्छ तर नारीप्रतिको सोंच बदल्दैन । नारीले आफ्ना कुरा मात्र लेखे पनि कि त पुरुषविरोधी भन्छन् कि त रोनाधोना लेखे भन्छन् । नारीले जे लेखे पनि नारीवाद हुने र त्यो वाद साहित्यको मूलधारमा कहिल्यै आउन नदिने । अनि पुरुषले लेखे सामाजिक विषय भनेर साहित्यको मूलधारमा आउने । यो कस्तो प्रवृत्ति हो ?

हामीले बारम्बार नारीवादको मात्र कुरा उठायौं । अब पनि साहित्यमा नारीवादमात्र भनेर करायौं भने जुनी नै जान्छ तर परिवर्तन हुँदैन । यदि हामीले नारीवादलाई स्थापित गर्नु छ वा हाम्रा विषय भन्नु छ भने सर्वप्रथम पुरुषवाद भन्ने पदावलिलाई स्थापित गर्नुपर्छ । पुरुषले लेखेको साहित्यलाई पुरुषवादी साहित्य नभनी मूलधार मात्र मानिरह्यौँ भने पुरुषवादी निरंकुश सत्ता रहिरहनेछ । पुरुषवादी चस्मा लगाएर हामीले लेखेको साहित्यलाई नारीवादी भनेर आलोचना या समालोचना गर्नेहरूले स्वीकार गर्नुपर्छ हामी पुरुषवादी हौं भनेर ।

नारीवाद र पुरुषवाद एकअर्काका दुश्मन नभएर परिपूरक हुन् भन्ने ढंगबाट हामीले बहस गर्नु जरुरी छ । पुरुष लेखकले नारीमाथि नै लेखिएका कतिपय साहित्यलाई नारीवादी साहित्यकार भनिन्छ । यो गलत हो । नारीलाई पात्र बनाएर लेखिएको पुरुषवादी साहित्य हो जस्तो कृष्ण धरावासीको राधा उपन्यास पौराणिक राधामाथि पुरुषदृष्टिले लेखिएको किताब हो । हामीलाई भ्रम छ धरावासीले नारीवादी भएर लेखे । त्यसो होइन । नारीमाथि सकारात्मक धारणा राखेर लेखिएको पुरुषवादी लेखन हो । यस्ता थुप्रै कृति छन् जसमा पुरुषवादी भएर नारीमाथि पुरुष लेखकले लेखे । तर हामीलाई भ्रम छरे नारीवादी लेखन हो भनेर । हामीले पनि हो मा हो भन्यौं ।

कुनै कार्यक्रममा गयो भने उद्घोषकले भन्ने गर्छन सशक्त नारी हस्ताक्षर अथवा बौद्धिक सुन्दरी भनेर बोलाउँछन् नारी लेखकलाई । तर पुरुषलाई बोलाउनुपर्‍यो भने सशक्त लेखक वा हस्ताक्षरमात्र भन्छन् । सशक्त पुरुष हस्ताक्षर या पुरुष लेखक भनेर किन नबोलाउने ? महिलालाई लिंगीय पहिचान दिएर बोलाइन्छ भने पुरुषलाई पनि लिंगीय पहिचान दिएर बोलाउन जरुरी छ । लिंगीय पहिचान दिएर बोलाउँदा पुरुषले पनि गर्वका साथ स्वीकार गर्नुपर्छ।

साहित्यमा वाद आउनु नराम्रो कुरा हैन । वादले जहिल्यै नयाँ आविष्कार र मान्यता लिएर आउँछ । हामीले पुरुषवादलाई स्थापना गर्नसक्यौं भने पुराना मान्यताहरू उखेलिएर महिलावाद स्वतः स्थापित हुन्छ । अनि साहित्यको मूलधारमा नारीवाद र पुरुषवाद एकअर्काका पूरक हुनेछन् । नारी लेखन किनारीकृत हुनुपर्ने छैन । पुरुषहरूलाई रुनुहुन्न भनेर लगाइएका बन्देजहरू फुक्नेछन् । पहलमान भइरहनुपर्ने बोझबाट मुक्ति पाउनेछन् । उनीहरूले पनि आफ्ना सुखदुःख साट्न सक्नेछन । कुण्ठाबाट मुक्ति मिल्नेछ ।

यदि नारीवाद र पुरुषवादको अस्तित्व एकअर्काले स्वीकारेपछि नारी लेखनलाई नारीकै धरातलमा बसेर समालोचना गरिनेछ र अनावश्यक टीकाटिप्पणीमा कमी आउनेछ । पुरुष लेखनलाई पुरुषकै धरातलमा बसेर समालोचना गरिनेछ । अनि एकअर्कालाई ससम्मानका साथ हेरिनेछ ।
सारमा, नारीवादसँगसँगै पुरुषवादलाई पनि लिएर जानुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.