काँकडभिट्टा कार्निभल
बढ्दै गरेको घामले उकुसमुकुस बनाउँदैछ। त्योभन्दा चर्को बनेको छ 'मधेस बन्द'को राप र ताप। आधा बाटोमै रोकिन विवश गाडीले राजमार्गमा लामो लाइन बनाएका छन्। अलपत्र यात्रु भरिएका छन् सडकछेउको एउटै होटेलमा। हल्लाखल्ला त्यहीँ गएर थुप्रिएको छ। सबैको अनुहारमा अन्योल टाँसिएको छ।
अलपत्र यात्रुलाई स्कर्टिङ गरेर आन्दोलनकारी र आन्दोलन क्षेत्र कटाइदिने कि यत्तिकै राख्ने भन्नेमा प्रहरी चिन्तनमग्न छ। आन्दोलनकारीसँग प्रहरी पनि डराएको छ। 'तोडफोड हुन सक्छ' भन्नेमा प्रहरी सचेत छ।यस्तोमा थालिएको छ काँकडभिट्टा यात्रा, 'कला साहित्य उत्सव- २०७३' मा सहभागी हुनेगरी।
नेपालकै पूर्वी भित्तामा रहेको काँकडभिट्टामा फागुन १२ देखि सुरु भएको तीनदिने कला-साहित्य उत्सवको तेस्रो संस्करणमा सहभागी भएका लेखकहरू समयमै कार्यक्रमस्थल पुग्न मधेसी मोर्चाले आह्वान गरेको 'मधेस बन्द' बाधक देखियो। अघिल्लो साँझ काठमाडौं छोडेको माइक्रोबस बिहान १० बजे धनुषाको लालगढ नपुग्दै रोकियो- स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध मोर्चाले गरेको बन्दको कारण।
बन्दले आधा बाटोमै अलपत्र परेपछि हरियो रङको स्प्राइट-सिसीको घुट्की निल्दै एक मित्रले लेख्न नमिल्ने भाषण दिए एक मिनेट - 'यो देश भाँडमा गयो...।' यो वाक्य मेरो कानले पहिलोपटक सुनेको भने थिएन। यो र यस्तै वाक्य सुनेर मेरो जोवन पाक्न थालिसक्यो, तैपनि यो वाक्य पुरानो भएको छैन। लाग्छ, विशेषत: सहरिया साथीहरूको निरासाले आकाश छोएको छ। दिक्क त मलाई पनि नलागेको होइन। बन्दले सडकमै अलपत्र पर्नु परेको घडीमा सोचेँ- मित्रले भनेको ठीकै हो कि ?
दिनभरिको दिक्कलाग्दो सडक ढुकाइपछि बन्दअवधि सकियो र माइक्रोबस बेतोडले दौडियो। काठमाडौं छोडेको ठीक ३० घन्टामा काँकडभिट्टा पुगेपछि बोध भयो, यात्रामा आउने बाधा जे नामका भए पनि कति कर्कस हुने गर्छन्! यात्रामा निस्केको व्यक्ति दिनभर तातो घाममा सडकमा उभिएर दिक्किँदै बस्नुपर्दा उसको दिल-दिमागमा कस्ता कुरा खेल्दा हुन् ? मुखै नखोले पनि उसले मनमनै देश र नेतालाई गाली गरेन भनेर कसरी पत्याउनु ?
०००
काँकडभिट्टा महोत्सवको परिसर निकै सफा देखिन्छ। पर्पल रङका फूलले वातावरण मोहक छ। त्यसै खुलेको। मानिसले दैनिक जीवनमा झेल्नुपर्ने अनेक तनावका फोटो प्रदर्शनीमा छन्। कलाकारले बनाएका पेन्टिङ, मूर्तिकारका मूर्ति आगन्तुकलाई स्वागत गर्छन्।
काठमाडौंको फोहोर, सडकबाट 'मेलम्ची- पोलिटिक्स'को कारण उडिरहने धूलो, पिच भइरहने र तत्काल भत्किने सडक, त्यहाँबाट निस्किने ढलको गन्ध, सडकमा हिँडिरहने महिला-पुरुषका काखीबाट आउने पफ्र्युम प्लस पसिनाको समागमबाट निकै टाढा आइपुगेका छौं हामी, महोत्सवको बहानामा। काठमाडौंबाट बाक्लो ज्याकेट लगाएर काँकडभिट्टा पुग्नेहरू ज्याकेट होटेलमै थन्क्याएर हाफ-सर्टमा सडक-सडक कुदिहिँड्न थाल्छन्। महोत्सवको धुनले मानिसको चालमा बेग्लै गति दिन थाल्छ।
विथ प्रपोज सुरु गरेका हुन् उज्ज्वल प्रसाईहरूले यो महोत्सव। रिडर्स झापाका अध्यक्ष हुन् उनी। त्यही संस्थाले आयोजना गर्छ यो भव्य कार्यक्रम। 'साहित्य, विचार, र कलालाई सामान्य मानिससम्म पुर्या उन एउटा उत्सवी माहोल सिर्जना गर्न जरुरी होला भनेर यो उत्सव सुरु गरेका हौं', उनको भनाइ सार्थक देखिन्छ। लाग्छ, सिंगो काँकडभिट्टा यहीँ आएको छ।
मेलाको रंगीन माहोलमा पसेका मानिसको ध्यान एउटै छ- सेसनमा उठेका अनेक प्रश्नमाथि घोरिनु, विमर्शमा भाग लिनु। केही बौद्धिक विमर्शले भने विषयमाथि निचोड निकाल्न सकेन र केही सेसनमा वक्ताहरूले बोलेका विचार सुन्दा लाग्थ्यो, उनीहरू चर्चित हुनकै लागि मात्र बहस गरिरहेका छन्। भोगाइबाट मानिसले निकाल्ने समवेत निष्कर्ष मानिसका जीवन हुन्। विडम्बना ती भोगाइलाई यथार्थको सडकपेटीमै छोडेर आग्रहमात्र अटाएका केही बहसले कुनै गुणात्मक परिणाम दिएन।
०००
अनेक सेसनमा उपस्थित महिलाहरू निकै महिलावादी बन्दैथिए। तीमध्ये चर्चा गर्न लायकको सेसन थियो- 'मायाको शासन'। वक्ता थिए- उमा सुवेदी, सावित्री गौतम, आहुति।
मोडरेटर: प्रणिका कोयू। सासू बुहारीका सम्बन्ध, घरभित्रको शासन र मायाबारे कुरा गरिएको यो सेसनमा प्रणिकाले भनिन्- 'मैले सासू नभएको केटा खोजेरै बिहे गरेको हुँ।' उनको उत्तरमा वक्ताहरू 'इन्जोय' गरिरहेका थिए। सायद, प्रणिकाकै जस्तो सोच्छन्, अधिकांश युवती। पछि काठमाडौं फर्कंदा समाजशास्त्री चैतन्य मिश्रसँग सोधेको थिएँ- 'हामी कस्तो समाजको कल्पना गरिरहेका छौं ?' चैतन्य सरको उत्तर थियो- '९० प्रतिशत सहरिया नेपाली युवती सासू नभएको घरमा बिहे गर्न चाहन्छन्।'
आमालाई माया गर्ने, आमा बन्न रहर गर्ने, आमाको अधिकारको पैरवी गर्ने तर आमाको उपस्थिति मन नपराउने चिन्तनले उनीहरूको परिकल्पनामा बन्ने परिवारको आकार-प्रकार, उचाइ-गहिराइ कस्तो हुन्छ ? मेरो मस्तिष्कले मेसो पाएन। गुजारामुखी अर्थ प्रणालीले निर्माण गरेको परिवार-संरचनामा 'सासू'को आफ्नैखाले तस्बिर थियो। त्यो चित्रमा बुहारी भान्साबाहिर हुन्थिन्, सासू भान्साभित्र।
बुहारी जुठो माँझ्थिन्, ढिकीजाँतो, घाँसदाउरा गर्थिन् र घरमा सबैभन्दा पछिबाट भए ताजा, नभए बासी खान्थिन्। 'बुहार्तन' गर्नुपर्ने कर्तव्यले थिचिरहन्थ्यो उनलाई। र, त्यो समाजले कोरेको चित्रमा सासू निकै कडा शासक लाग्थिन्। महिलाका अधिकार अहिलेभन्दा बढी कुण्ठित हुने त्यो समयमा ती सासूका अधिकार पनि कति थिए ? त्यो त बहसको छुट्टै पाटो भइगयो।
विडम्बना, नेपाली समाजको अर्थ-राजनीतिक प्रणालीमा भएको परिवर्तनबारे चैतन्य मिश्रको स्पिचबाट सुरु भएको उत्सवका सहभागी प्रणिका कोयूजस्ता महिला अधिकारकर्मीले आफूले चाहेजस्तो परिवार रोज्न सक्ने परिवर्तन त महसुस गरे तर, परिवारमा रहेको 'सासू-बुहारी' सम्बन्धमा भएको परिवर्तन देख्न सकेनन्, न त परिवर्तन गर्नुपर्ने कर्तव्यबोध नै गरे।
सासू नभएको परिवार खोज्ने महिलाले आफू कुनैबेला सासू हुनुपर्ने अवस्था कसरी बिर्सिए ? यो बिन्दुमा पुगेपछि म आफैंसँग प्रश्न गर्छु- 'नारीवादी'हरू खासमा कस्तो समाजको कल्पना गर्छन् ? नारी-अधिकारको विषयमा बोलिरहने प्रणिकाको यो आवाजलाई समकालीन नेपाली युवतीको प्रतिनिधि आवाज मान्ने कि नमान्ने ? सायद यही हो, पुँजीले परिवार भत्काउँदैछ भनेको।
'बजारवाद बराबर नाफावाद। मेरो लाइफ मेरो मर्जी। तर, मेरो मर्जीले अरूलाई केही असर परोस्, बाल मतलब!' फ्लोरमा बसेर सुन्नेहरू प्राय: विस्मित थिए त्यो धारणाले। लगत्तै मनमा उठ्यो अर्को प्रश्न: यस विषयमा महोत्सवले बोलेको कन्टेन्ट र असल नेपाली जीवनको अलग दर्शन के कतै मेल खाला ? सासू-बुहारी सम्बन्धमाथि प्रणिका र प्रणिकाहरूजस्तै सहरिया उच्च-मध्यमवर्गीयहरूको डिस्कसनले आम महिला-जीवनसँग कति प्रतिशत सम्बन्ध राख्छ ?
नेपालमा कति प्रतिशत महिला आफ्ना सासू- श्रीमान् वा समग्र परिवारसँग 'नोट अफ डिसेन्ट' लेखेर बाँच्न सक्छिन् ? अनि लोग्ने परदेशिएको परिवारमा सासू, ससुरा, बालबच्चा सबैलाई सम्हालेर समाजको चक्र घुमाइरहेका अधिकांश नेपाली महिलाको योगदानबारे को बोलिदिन्छ ? के परिवार वा श्रीमान्सँग मात्रै विद्रोह गरेर चल्छ समाज ? चलेको छ कुनै समाज ? अधिकार आन्दोलनको अर्थ ऊँचनिचयुक्त सम्बन्धलाई समतायुक्त बनाएर प्रेमिल सम्बन्धको निर्माण गर्नु हो वा सम्बन्धहरूको विध्वंसीकरण गर्नु ? प्रश्न गर्दैमा के 'पुरुषवादी' वा 'रुढिवादी' भइने हो ?
श्रीमान्, परिवार र सन्तानका रहर पूरा गरेर शिक्षकको करिअर बनाउने मेरी श्रीमती नेपाली महिलाको प्रतिनिधि पात्र कि आफ्ना आकांक्षा पूरा गर्न श्रीमान् र परिवारका सारा अवयव छोड्नेहरू ? दृश्यमा होइन चिन्तनमै अलमल छ।
०००
महोत्सवमा थुप्रै सेसनमा मोडरेटरहरू आफूले चलाउने कार्यक्रमबारे तयारी नगरी वा त्यस विषयमाथि नपढी आएको बुझिन्थ्यो। उपस्थित दर्शक छलफल गर्न आएका वक्तासँग उति सन्तुष्ट हुन सकेका थिएनन्। कवितावाचन भए। स्ल्याम पोयट्री नयाँ आकर्षण थियो। कुल मिलाएर भन्नुपर्छ, हाम्रोमा लेखक बढेका छन्। तर, लेखनीबारे चर्चा छैन। किताब विमोचन, समीक्षा, पुरस्कार वितरण गरम ढंगले भइरहेको छ। तर, हाम्रा लेखनी र रचनाबारे बहस भएको छैन।
काँकडभिट्टामा भर्खरै सकिएको कला-साहित्य उत्सवले यिनै अमेलहरू चर्चामा ल्याएको छ। 'दक्षिण एसियाको बौद्धिक परम्परा' विषयमा सीके लालले बुद्धिजीवी र बौद्धिकबारे फरक बताए। दर्शकहरू ध्यानमग्न भएर उनको सम्भाषण सुनिरहेका थिए।
प्रदीप गिरीले 'इतिहास, साहित्य र राजनीति'माथि दिएको सम्भाषणमा सेयर गरेको आफ्नो जीवनबाट पाएको शिक्षा नेपालको आमजीवनसँग घनिष्ट देखिन्थ्यो। 'जनजातीय चेतना र साहित्य' विषयमा गरम बहस गरे- भूपाल राई, हेमन यात्री, चन्द्रवीर तुम्बापोले। आफूलाई 'जातिवादी' भन्नेहरूलाई चन्द्रवीरको उत्तर थियो- 'जातिवाद ठूलो पोलिटिक्स हो। मलाई जातिवादी भन्नेहरू नै सबैभन्दा ठूलो जातिवादी हुन्।'
'कविताको राजनीति' विषयमा विनोदविक्रम केसी, राजा पुनियानी, गुरुङ सुशान्त र सरिता तिवारीले गरेको बहस निकै सार्थक थियो। गुरुङको प्रश्न, 'कविताले गर्ने राजनीतिको भाषा कस्तो हुन्छ ?' मा विनोदविक्रमको उत्तर कोट गर्न लायक छ। कवितामा राजनीतिको उपस्थिति स्वीकार्दै विनोदले भने, 'न्यूनतम कविता तत्वको मान त राखिनुपर्छ।' 'वैदेशिक सहयोग र लोकतन्त्रको संकट', विषयमा डा. देवेन्द्रराज पाण्डेसँग भाष्कर गौतमको संवाद निकै रुचिकर थियो।
'आलोचनात्मक चेतना र बहस' शीर्षकमा सञ्जीव उप्रेती, सावित्री गौतमले गहन बहस गरे। 'सिनेमाको बदलिँदो सूत्र'मा नवीन सुब्बा, अनुभव अजित, तुलसी घिमिरे र संगीतश्रोताले बदलिँदै गरेको सिनेमाको चित्रबारे कुराकानी गरे। 'युवाका सपना र बाकसको बिम्ब' सेसनमा ब्रबिम कुमार, देवेन्द्र भट्टराई र प्रणिका कोयू थिए। यो सेसन सञ्चालन गरेका थिए भर्खरै विदेश जानेहरूका दु:खबारे 'कहर' लेखेका जनकराज सापकोटाले।
युवाहरूको विदेश सपना र रातो बाकसमा प्याक भएर फर्किने युवाहरूको लासमाथि राज्यले कस्तो राजनीति गर्छ भन्ने तथ्य जनकले प्रस्तुत गरेका डाटाहरूले पुष्टि गथ्र्यो। किशोर नेपाल, केदार शर्मा, तुलानारायण साह, राजन मुकारुङ, बसन्त बस्नेत, श्याम साह, गुरुङ सुशान्त, मुनाराज शेर्मा, सरिता तिवारी, चन्द्रकिशोर, अर्चना थापा, प्रवीण अधिकारी, कुमारी लामा, नयन सिन्धुलीयहरूले महोत्सवमा अनेक विषयमा गम्भीर बहस गरे।
भित्री अँध्यारोबाट बढेर उज्यालोतिर हेर्दा देखिन्छ : साहित्य र समाजमा गहिरो उथलपुथल-मारामारी छ। मतमतान्तरसँगै अखबारमा हुने साना-साना विवाद र अवसरको विलक्षणताको यस्तो समय छ- जहाँ एउटा घातक हिंसा पैदा भइरहेको छ। साहित्य र राजनीतिबीचको धर्सो कतै गायब भएको छ। जहाँ प्रज्ञा प्रतिष्ठानले गर्ने कविता प्रतियोगितामा समेत राजनीतिक भागबन्डा हुन्छ त्यहाँ राजनीति र साहित्य उस्तै लाग्नु कुन अनौठो भयो र ?
आज राजनीतिक पहँुचले प्राज्ञ बनेको लेखक प्रज्ञा प्रतिष्ठानभित्र बसेर आफ्नो राजनीतिक दलका लेखकलाई सदस्यता बाँड्छ। सामान्य पुरस्कारले समकालीन दुनियाँमा बबाल र तुफान खडा गर्न सक्छ। ठूला पुरस्कार, त्यसले बजारमा ल्याउने तरंगको जुन सांसारिक तत्व छ, त्यो साह्रै चम्किलो र भड्किलो छ। अरुन्धती रोयले भनेकी छन्- उच्च समाजमा पनि लेखकले पाएको पुरस्कारको चर्चा उसको कृतिको भन्दा अधिक हुन्छ।
०००
हरेक दिनजसो हुने किताब विमोचन, पुस्तक प्रदर्शनी, कवितावाचन, साहित्य महोत्सव र त्यहाँ हुने उपस्थिति देख्दा लाग्छ- देश पूरै साहित्यमय छ। देशका सबै मानिस बौद्धिक छन्। तर, सत्य त्यही हो त ?
हाम्रो लेखनमा कसरी इतिहास गायब छ ? इतिहासप्रति युवा लेखक किन उदासीन छन् ? नेपाली साहित्यमा आएका विभिन्न 'वाद' सग्लो रूपमा आएका छन् कि बटारिएर ? काँकडभिट्टा महोत्सवमा आयोजित 'सेसन' र लेखकका निजी संवादमा यस्ता अनेक विषयमा चर्चा चले ।
बजारमा आइरहेका किताब कति बिक्री भइरहेका छन् ? कति फ्लप भइरहेका छन् ? अनि पाठकमाझ तिनको आयु कति छ ? झिल्के स्टाइलमा बजारमा आयो, तीन सातामा चुपचाप टाप कस्यो। कतै यस्तै त भइरहेको छैन हाम्रो साहित्य ? किन कतै हुँदैन चर्चा ? हाम्रो लेखनमा कसरी इतिहास गायब छ ? इतिहासप्रति युवा लेखक किन उदासीन छन् ? नेपाली साहित्यमा आएका विभिन्न 'वाद' सग्लो रूपमा आएका छन् कि बटारिएर ? महिला लेखकको संख्यामा किन वृद्धि हुन सकेन ? काँकडभिट्टा महोत्सवमा आयोजित 'सेसन' र लेखकका निजी संवादमा यस्ता अनेक विषयमा खुब चर्चा चले। र प्राय: विषय त्यतै कतै छुटे।
काँकडभिट्टाको कला-साहित्य उत्सवबाट फर्केपछि, लेखकका कुराकानी सुनेपछि यस्तो लाग्न थालेको छ- हामी आकाश छोइरहेका छौं तर जमिन छोडिरहेका छौं।
०००
'समाजवाद उन्मुख संविधानको चिरफार' शीर्षकमा चैतन्य मिश्रको कि-नोट स्पिचबाट सुरु भएको महोत्सवमा 'संविधान घोषणापछिका सकस', 'नेपालको वित्तीय नीति', 'भाषाको राजनीति', 'नेपाली सिनेमाको बदलिँदो सूत्र'जस्ता विषयमा चर्का बहस भए।
कला-साहित्य उत्सव भनिए पनि छलफलका विषय त्यतिमा सीमित थिएनन्। कार्यक्रमको नामले तोकेको सीमा नाघेर भएका राजनीतिक, आर्थिक सम्बद्ध विषयले स्पेस पनि पाए। चर्चामा पनि आए। 'साहित्य कर्म आइसोलेटेड, छुट्टै टापुमा सम्भव नहुने भएकाले यी सबै अन्तरसम्बन्धित हुन्छ भनेर नै हामीले सबै विषयको सम्मिश्रण गरेका हौं', उज्ज्वलको जिकिर छ। त्यो सम्मिश्रण फलदायी नै लाग्छ। देशको धर्ती र आकाशको विषय छुन्छ सेसनले।
देशसँग जोडिने मुख्य तत्व हो- भौगोलिक आयाम। तर, भूगोलमात्रै देश हो भन्ने बुझियो भने त्यो पूरै गलत हुन्छ। देशका मुख्य नसा धेरै हुन्छन्। देश बाँच्नका निम्ति भूगोल जत्ति महत्वपूर्ण छ, त्योभन्दा बढी चेतना मुख्य हुन्छ। संस्कृतिको निर्माण चेतनाको अन्तरघुलनले हुने हो। देश भनेको सांस्कृतिक विम्ब पनि हो। हरेक देशको आफ्नै गन्ध, स्वाद र आवाज हुन्छ। काँकडभिट्टाको कला साहित्य उत्सवले देशले बनाइरहेका र भत्काइरहेका त्यस्तै साहित्य, संस्कृति, कलाबारे लामा-लामा 'सेसन'हरूमा बहस गर्योस।
०००
आँखा काँकडभिट्टाको कार्यक्रमप्रति मोहित छ। अनेक आकर्षक 'सेसन'हरू छन्। अनेक बहस-भाषा, राजनीति, साहित्य, इतिहास, नारीवाद, युवा-सपना आदि विषयमा।
भारतसँग सीमा जोडिएको नेपालको सिमान्त सहर काँकडभिट्टा शब्दको बास्नामा लठ्ठ छ। 'केटाहरूले सानो सहरमा ठू...लो कार्यक्रम गरे', मध्यघाममा हिँडिरहँदा किशोर नेपाल फ्याट्ट यस्तो कमेन्ट गर्छन्। ठूलो पनि कति भने तीन दिनसम्म जारी कला साहित्य उत्सवमा हरेक कार्यक्रममा मानिसहरू भिडमभीड थिए। हरेक विषयलाई ध्यान दिएर सुन्थे र जमेर बहसमा भाग लिइरहेका थिए। कुनै 'सेसन'मा पनि मानिस निरास लाग्थेनन्।
काँकडभिट्टा महोत्सवका केही आकर्षण छन्। यिनमा डा. चैतन्य मिश्र, प्रदीप गिरी, सीके लाल, सञ्जीव उप्रेती, घनश्याम भुसाल, आहुति, तुलसी घिमिरे, किशोर नेपाल, नारायण वाग्ले, देवेन्द्रराज पाण्डे, नवीन सुब्बा, खगेन्द्र संग्रौला, चन्द्रकिशोर, राजेन्द्र महर्जन, अनुभव अजित, अर्चना थापा, राजन मुकारुङ पनि पर्छन्। तीमध्ये अधिकांश लेखक पहिलो दिनदेखि नै फेस्टिभलमा उपस्थित थिए।
किशोर दाइले भनेझैं सानो सहर निकै उत्साहित देखिन्थ्यो। कुनै पनि साहित्यिक सत्र खल्लो थिएन। नेपालका ठूला लेखक, राजनीतिकर्मी, चिन्तकले फेस्टिभललाई रंगीचंगी बनाएका थिए। मञ्चमा हुने बहस यति चुलिन्थ्यो, लाग्थ्यो - यो सहर 'विवादको सेन्टर' हो। जे भए पनि बौद्धिक खोज गर्नेका लागि निकै फाइदाकारी सेसन सञ्चालनमा थिए। दर्शकले अनेक लाभ लिए, दिमागी कसरत गरे।
काठमाडौंको लेखक जमात लेखपढभन्दा बढी 'रामरमाइला साँझ'मा रमाइरहेको उदाहरण यहाँ पनि मिल्थ्यो। मध्यरातसम्मै गफगाफ, नाचगानले महोत्सवलाई झन् रमाइलो बनाइदिएकै थियो।
हल र परिसर गरी दुई ठाउँमा भिन्नाभिन्नै बहस भइरहेका हुन्थे। त्यसमा पनि 'नेपाली कम्युनिस्ट आन्दोलनमा झापा विद्रोह', 'इतिहास, साहित्य र राजनीति' जस्ता 'सेसन'को पालो आएपछि हलमा एक्कासि भीड बढ्थ्यो। अघिसम्म नदेखिएका मानिस एक्कासि कसरी आइपुगे ? अचम्मै लाग्थ्यो।
०००
नेपाली समाजमा थुप्रै थोक बदलिएको छ। पूरै एउटा नयाँ पुस्ता अगाडि आएको छ, जो अनेक विषयमा बहस गर्न अघि सर्छ। पुरानो पुस्ता र ट्रेन्डमाथि प्रश्न गर्छ। यो ग्लोबल समयको पुस्ता हो। यहाँ मूल्य, विचार, चिन्तन, जीवनशैली, वास्तुशिल्प सबैमा फेरबदल आएको छ। सहर, गाउँ, महानगरबीच दूरी कम हुँदैछ। सञ्चार सहज भएको छ, जीवनका भित्ताहरू छेडिने भएका छन्।
पहिलो दिनको अन्तिमतिरको सेसन- 'नेपाली साहित्यमा नारीवाद'ले तीनदिने फेस्टिभलमै सबैभन्दा बढी तरंग ल्यायो। 'सबैभन्दा तरंगीत र जीवन्त यो सेसनले नारीवादको बहसलाई व्यापक बनाइदियो' - यो खगेन्द्र संग्रौलाको टिप्पणी हो।
दु:खलाई जित्ने कोसिसमा लागेका छन् महिला हजारौं वर्षदेखि। तर, दु:ख कन्ट्रोलमा आएन, कहिल्यै। थाहा छैन, दु:ख कहाँ कहाँबाट जीवनमा प्रवेश गर्छ। दु:खको अनेक तरिकाको भाष्य र दर्शन छ। कसैसँग आफ्नो भाषा नहुनु, आफ्नो शरीरमा आफ्नो अधिकार नहुनु कत्ति दु:ख हो ? 'नेपाली साहित्यमा नारीवाद' सेसनमा सीमा आभास, अर्चना थापा र हरिमाया भेटवालले यही विषयमा छलफल गरे। सीमाले भनिन्, 'हाम्रा दु:खका चाङ जति नै खोतले पनि कम हुँदैन।'
प्राचीनकालदेखि आधुनिक कालसम्म हाम्रो सामाजिक परिवेश बदलिएको छ, तर महिलाहरूको समस्या आज पनि उस्तै छ। सोच्नुपर्छ- महिलाले भोगिरहेका अनेकौं समस्यालाई लिएर पूर्वज कति गम्भीर थिए र वर्तमान समयका हाम्रो दृष्टिकोण के हो ?
०००
यो आधुनिक समयको सबैभन्दा ठूलो मानिस रैछ- माक्र्स। आजमात्रै होइन आदिदेखि आजसम्मै मानिसमा सबैभन्दा बढी चर्चाको विषय माक्र्स नै भयो। माक्र्सले पुरानो आचार, विचार, धर्म, संस्कार आदिसँग जीवनभर संघर्षरत भएर सधैं विद्रोह गर्योक। पुरानो व्यवस्था फालेर सधैं नयाँ व्यवस्थाको कुरा गर्ने माक्र्सका विचारमाथि आज पनि अनेक कार्यक्रम आयोजना गरिन्छन्।
जस्तो काँकडभिट्टामा भएको उत्सवको दोस्रो दिनको सेसन थियो- 'नेपाली समाजमा वर्ग र वर्ण।' पत्रकार बसन्त बस्नेतले सञ्चालन गरेको सेसनमा घनश्याम भुसाल र आहुति चर्को बहस गरिरहेका थिए। नेपालको सामाजिक-सांस्कृतिक पर्यावरणमा माओवादी विद्रोहले के असर पारेको छ ? आहुतिको निष्कर्ष थियो- 'मानिसहरूले आफ्ना कुरा भन्न, आफ्ना अधिकारको माग गर्न थालेकै माओवादी विद्रोहपछि हो।'
आफ्ना सुप्रिमो प्रचण्डको बचाउ गर्न आहुति फ्रन्टलाइनमै उभिए । भन्दैथिए- 'यो देशमै गरिब, सिमान्त र उत्पीडितका पक्षमा सबैभन्दा बढी सोच्ने र लड्ने मानिस प्रचण्ड हुन्, त्यसैले आजका मितिसम्म म यो पार्टीमा छु।'
प्रश्न त फेरि पनि उठ्छ कसले भन्न पायो आफ्नो कुरा ? कसले सुनाउन पायो ? 'जनयुद्ध'को भारी बोकेर परदेश गएका युवाले कि 'जनयुद्ध'को भर्यानङ चढेर सत्ता चढेका सीमित नव-शासकले ?
झापाले विद्रोहको इतिहासमा आफ्नो नाम गाढा रातो रङले लेखाएको छ- झापा विद्रोहबाट। 'नेपाली कम्युनिस्ट आन्दोलनमा झापा विद्रोह' सेसनमा बोल्न आएका थिए सीपी मैनाली, रविन कोइराला र अभिजित मजुमदार। सोचेको थिएँ, त्यो विद्रोहका नायक मैनालीले त्यस आन्दोलनलाई सजीव ढंगले चित्र प्रस्तुत गर्नेछन्, उनको स्मृतिमा आन्दोलनको जुन गाढा रङ छ त्यो जस्ताको तस्तै देख्न पाइएला। तर, मैनालीले जार्गन बढी फलाके, आन्दोलनबारे खासै बुझाउन सकेनन्।
'सञ्चारमाध्यम र उपाख्यानको निर्माण'माथि बोल्न उभिएका थिए- नारायण वाग्ले, किशोर नेपाल र राजेन्द्र मर्हजन। अहिले पनि मिडियामा दलित, जनजातिहरूले स्थान पाउन सकेका छैनन् भन्ने मत थियो महर्जनको। मिडियाले कसरी समाचारमाथि राजनीति गर्छन् भन्ने विषयको सेसन निकै जमेको थियो।
'गीतमा जनताका सुखदु:ख' विषयमा बोल्दै थिए- विप्लव प्रतीक, खेम नेपाली र संगीतश्रोता। हाम्रा गीत कसरी जनताको दु:खबाट टाढा भाग्दैछन् भन्ने विषयमा संगीतश्रोताले सुन्दर व्याख्या गरेका थिए। उनले गाएको चर्चित गीत 'चरी लैजा समाचार'ले त ठूलै हुटिङ पायो।
राष्ट्रले सधैं मानिसको चेतना, विवेकभन्दा बढी महत्व उनीहरूको हात-पाखुरालाई दिन्छ। तर, देश बदलिने त चेतनाबाटै हो। सिर्जना मानिसको मस्तिष्कबाट सिर्जित हुने सबैभन्दा प्रिय राग हो। गायक गणेश रसिकले करिब तीन घन्टाभन्दा बढी एकल गायन गरे। उनको एकल गायनले धेरैलाई ध्यानस्थ बनाइदिएको थियो, संगीत र रागमा डुब्न।
०००
महोत्सवमा 'बौद्धिकता'माथि, संविधानको सकसमाथि, लोकतन्त्रको संकटमाथि, हाम्रो वित्तीय नीतिमाथि, हाम्रो राजनीति, सञ्चारमाध्यम, समृद्धि र अधिकारबारेको बुझाइ एवं अधिकार प्राप्तिका प्रयत्नबारे थुप्रै बहस भए।
समकालीन पुस्ताले आफ्नो छोटै जीवनमा सही, अनेक उतारचढाव देखेको छ र हजारौं उतारचढाव देख्नै बाँकी छ। युवाहरूको मस्तिष्कमा उठेका अनेक झिल्का र सपनाहरूले नै हो, हाम्रो लोकतन्त्र बलियो बनाउने। लोकतन्त्र र गणतन्त्रको स्थायित्व चाहने यो पुस्ता आफ्ना कुरा खुला राख्छ, बिनाडर, बिनालाज। कम्तीमा यहाँ उठेका बहस, मन्थन भएका विचारले यत्ति त भन्न सकिन्छ।
लेखक, कलाकारहरूका आफ्ना कुरा सिद्धिएका थिएनन्। उज्ज्वलले लेखकहरूसँग अर्को संस्करणमा भेट्ने वाचा गर्दै विदा माग्नुपर्ने क्षण आइसकेको जनाए। 'विचारको घर्षण होस् भन्ने चाहेका थियौं, विविध विचारबीच त्यो घर्षण घनिभूत रूपमा भएको छ,' उज्ज्वलको विश्लेषण छ। 'सबैले खुला हृदयले नसघाएको भए, कला र विचारको महायज्ञ सम्भव नै हुन्थेन', स्थानीयदेखि काठमाडौंसम्मको सहयोगका लागि उनी अनुग्रहित पनि छन्।
समग्रमा, कला-साहित्य उत्सव बहस सिर्जना गर्ने र बहसलाई जनतासमक्ष पुर्या उने आफ्नो उद्देश्यमा सफल भएको हो। फेस्टिभलमा पहिलो दिनदेखि नै विमर्श र छलफलमा व्यस्त बसन्त बस्नेत भन्दैथिए, 'नेपालको बौद्धिक मानचित्र खिचियो भने काँकडभिट्टा परैबाट चिनिने लोकेसन बन्ने आधार कला साहित्य उत्सवका तीन संस्करणहरूले पुष्टि गरे। स्वस्थ आलोचनात्मक बौद्धिक विमर्श कसरी गर्नुपर्छ भन्ने पाठ काठमाडौं र बाँकी नेपालले अब झापाबाट सिकुन्। अनि झापाले चाहिँ काँकडभिट्टाबाट सिकोस्।'
केही दिनको लागि काँकडभिट्टा निकै सिर्जनशील सहर बनेको थियो। लेखक-कविहरू मध्यरातपछिसम्मै गीत गाएर फेस्टिभल सेलिब्रेट गरिरहेका हुन्थे। यो घडी भने मधेसको तनाव केही मत्थर भएको थियो।