जातीय पहिरनमा युवा आकर्षण
दमकः झापाको गौरीगन्जमा लागेको राजवंशी ताजपुरिया सांस्कृतिक पर्यटन महोत्सवमा राखिएको सांस्कृतिक पहिरनको स्टलमा युवकयुवतीको घुइँचो बढेको छ। महोत्सवमा राजवंशी तथा ताजपुरिया जातिका महिलाले लगाउने मौलिक जातीय पहिरन पेटानी, गन्जी, बर्हती र पुरुषहरूले लगाउने पाझल, धोती, गन्जी, कमिज र गम्छामा भीड बढेको हो।
महोत्सवमा राखिएका स्टलमध्ये जातीय पहिरनको स्टलमा बढी भीड लागिरहेको कृष्ण राजवंशीले बताए। स्टलमा दैनिक ५० देखि ६० वटासम्म पहिरन बिक्री भइरहेको उनले बताए। स्टलमा राखिएका सम्पूर्ण पहिरन स्थानीयस्तरमै निर्माण गरिएका हुन्। अहिले ती स्थानमा तान लगाएर आफ्ना मौलिक पहिरन निर्माणमा स्थानीय राजवंशी तथा ताजपुरिया जुटेका छन्। 'पहिला त एकदुई घरमा मात्र तान थिए, खासै पहिरन निर्माण हुँदैनथ्यो तर अहिले स्थिति त्यस्तो छैन। सबैका घरमा तान राखिएका छन्', राजवंशीले भने।
जातीय पहिरनप्रति युवापुस्ताको झुकाव बढ्नु आफ्नो मौलिक संस्कृतिको महत्वप्रति सचेत भएको महोत्सवका प्रेस संयोजक आत्माराम राजवंशीको भनाइ छ। आफ्नो मौलिक परम्पराको संरक्षणमा राज्यस्तरबाट चासो नदेखिए पनि यस समुदायमा आफ्ना सन्ततीलाई मात्र नभई समाजलाई नै संस्कार र संस्कृतिको महत्व बुझाउन महोत्सवले भूमिका खेलेको राजवंशी विकास समितिका पूर्व केन्द्रीय सदस्य देवी राजवंशीले बताए।
आफ्ना लोपोन्मुख कला, संस्कृति र संस्कार संरक्षण गर्न राजवंशी समाज विकास समिति र ताजपुरिया समाज कल्याण परिषद् केन्द्रीय समितिले संयुक्त रूपमा महोत्सव आयोजना गरेको ताजपुरिया कल्याण परिषद्का अध्यक्ष गंगाराम ताजपुरियाले बताए। स्टलमा खानाका परिकारमा पन्ताभात, खरखराभात, भाका, पीठ, पेरपेरी, प, छेका–पेल्का, सुकाती, सिदल, सुकटा आदि राखिएका छन्।
यसैगरी यस समुदायका पौराणिक वस्तुसमेत प्रदर्शनीमा राखिएका छन्। महोत्सवमा दैनिक रूपमा जातीय मौलिकता झल्कने गीतसंगीत, नाचगान, लोकगीत, सामाजिक लोकगीतहरू प्रस्तुत हुँदै आएको छ। धार्मिक लोकगीतभित्र गाइन, राबनिया, तिस्ताबुढी गाअन, डोलेर गाअन, हरिलोट, कुआलिर र सामाजिक लोकगीतअन्तर्गत नटुवा गाअन, पाचाली गाअन, सास्तरी गाअन, लाहाङकारी गाअन, हुदुरधुरा गाअन लगायतका गीत प्रस्तुत हुँदै आएको छ।
महोत्सवमा भारतको बिहार, आसाम, कोचबिहार, पश्चिम बंगालबाट पनि यस समुदायको उपस्थिति रहेको कोच राजवंशी कल्चरल सोसाइटीका सेक्रेटरी डेबिड रोयले बताए। आसाम कोक्राझारका राजवंशी ताजपुरिया कलाकारले आफ्नो सांस्कृतिक तथा लोकनृत्य प्रस्तुत गर्दै आएका छन्। फागुन ७ गते सुरु भएको महोत्सव शनिबार समापन हुँदैछ।