राष्ट्रपति, पूर्वराजा, रविशंकर र शंकराचार्य एउटै कार्यक्रममा
काठमाडौं : उद्योगपति विनोद चौधरीले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको शाश्वतधाममाको मंगलबार हुने उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह, श्रीश्रीश्री रविशंकर, शंकराचार्य जयेन्द्र सरस्वती एउटै मञ्चमा उपस्थित हुने भएका छन्।
मंगलबार दिउँसो १२ बजे खजुराहो शैलीमा निर्माण भएको शाश्वतधाममाको मुल मन्दिरको गर्भ गृहमा प्राण सिञ्चित गरी यसको उद्घाटन हुने छ।
उक्त अवसरमा सयौँ पण्डितको उपस्थितिमा धर्मसभा हुनेछ। पशुपतिनाथबाट समेत पण्डित सभामा जाँदैछन्। शाश्वतधाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पीपल, अशोकलगायत रूखका बिरुवा लगाइएको छ।
शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुने चौधरी ग्रुपका अध्यक्ष तथा शाश्वतधाम संस्थापक विनोद चौधरी बताउँछन्। ‘पूर्वीय सनातन धर्मप्रति आस्थावान सबैको भावनाको कदर स्वरूप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक ऊर्जा प्राप्त गर्नेछन्’, संस्थापक चौधरी भन्छन्, ‘यहाँ मानिसले शान्तिपूर्ण तथा ऊर्जायुक्त वातावरणमा मानसिक शान्ति र आत्मीय आनन्दको अनुभव गर्न सक्नेछन्।’ सनातन कालदेखि सम्पदाको रूपमा रही आएको आध्यात्मिक ज्ञानको गंगामा डुबुल्की मार्न चाहनेका लागि शाश्वतधाम एक उत्कृष्ट गन्तव्य बन्ने उनको विश्वास छ।
शाश्वतधामका प्रमुख कार्यकारी अधिकृत आशुतोष चावलाले शाश्वतधाम स्थापनाका लागि उद्योगपति विनोद चौधरीलाई प्रेरणा दिएपछि यसको परिकल्पना गरिएको बताए। ‘शाश्वतधामको परिकल्पना जगद्गुरु शंकराचार्य आएका बेला १५ वर्षअघि नै भएको हो’, चावलाले भने, ‘नेपालभित्र रहेका पौराणिक महत्वका एक सय ३५ भन्दा बढी धार्मिकस्थलको भीडमा शाश्वतधाम बेग्लै पहिचान बोकेर उभिएको छ।’ शाश्वतधामभित्र आध्यात्मिक शिविर आयोजना भइरहने ध्यान र योग केन्द्रसमेत रहेको उनले जानकारी दिए।
शाश्वतधाम सर्वसाधारणका लागि सधैँ खुला रहने जानकारी दिँदै चौधरी ग्रुपका महाप्रबन्धक नारायण श्रेष्ठ भन्छन्, ‘बिहान सात बजेदेखि राति आठ बजेसम्म इच्छुक जोकोहीले शाश्वतधामको निःशुल्क अवलोकन गर्न सक्नेछन्।
शाश्वतधामको निर्माण औद्योगिक पार्कका लागि मात्र नभएर नवलपरासीवासी र सम्पूर्ण नेपालीकै लागि भएको बताए। मन्दिर निर्माणको सुरुदेखि अहिलेसम्म सक्रिय श्रेष्ठले जगद्गुरु शंकराचार्यको निर्देशन बमोजिम नै शाश्वतधामको निर्माण सम्पन्न भएको हो।