गर्भपतनका लागि औषधि प्रयोग गर्ने घटे
बुटवलः रुपन्देहीमा औषधि प्रयोग गरेर गर्भपतन सेवा लिनेको संख्या घटेको छ । सरकारले गत आर्थिक वर्षदेखि सरकारी स्वास्थ्य संस्थाबाट गर्भपतनको औषधि वितरण गरेको थियो । यसअघि निजी क्लिनिकबाट डाक्टरको सिफारिसमा मात्रै औषधि पाउन सकिन्थ्यो ।
पहिलो वर्ष औषधि खाएर गर्भपतन गगराउने महिलाको संख्या ३ हजार १ सय ८८ थियो । तर, यो वर्षको पुस मसान्तसम्म औषधि सेवन गरेर गर्भपतन गराउनेको संख्या ज्यादै न्यून छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकृत ओमप्रकाश गुप्ताका अनुसार यो वर्षका नौ महिनामा जम्मा ४ सय ५० जना महिलाले मात्रै त्यस्तो औषधि खाएका छन् ।
गत वर्ष जिल्लाका १३ वटा स्वास्थ्य संस्थाबाट औषधि वितरण भएको थियो । अहिले भने १५ वटा स्थानबाट बिक्री भएको छ । बिक्रीकेन्द्र बढेपछि औषधि प्रयोग घटेको हो । यद्यपि, गर्भपतन गराउनेको संख्या नै भने कम भएको छैन ।
लुम्बिनी अञ्चल अस्पताल, युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल, देवदह मेडिकल कलेजलगायत १५ स्थानबाट औषधि वितरण हुन्छ । परिवार नियोजनका साधनको प्रयोग बढ्दै गएकाले औषधि सेवनबाट गर्भपतन गराउनेको संख्या घटेको जनस्वास्थ्य सूचना अधिकृत गुप्ताले बताए । मेडावोन नामक औषधिको प्रयोगले ९ हप्तासम्मको गर्भपतन गराउन सकिने चिकित्सकको भनाइ छ । १२ हप्तासम्मको गर्भपतनका लागि जिल्लामा ७ स्थान रहेको गुप्ताले जानकारी दिए । लुम्बिनी अञ्चल अस्पताल, युसिएमएस, भीम अस्पताल, देवदह मेडिकल कलेज, परिवार नियोजन संघलगायत स्थानबाट १२ हस्ताभित्रको गर्भपतन गर्न सकिन्छ ।
त्यस्तै, १२ हप्ताभन्दा माथिको गर्भपतन गराउनै पर्ने बाध्यता भए लुम्बिनी अञ्चल अस्पताल र लुम्बिनी मेडिकल कलेज गरी २ स्थानमा गराउन सकिन्छ । तर, जिल्लाका मेडिकलबाट डाक्टरको सिफारिसविना गर्भपतन गर्ने औषधि बिक्री हुने गरेका छन् । मेडिकलले एक चक्की औषधिको एक हजारदेखि ५ हजारसम्म लिने गरेको बताइएको छ ।
त्यसरी औषधि खाएर जोखिम मोलेका बिरामी लुम्बिनी अञ्चल अस्पतालमा पुग्ने गरेका छन् । अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले वर्षमा दुई सयभन्दा बढी जोखिमयुक्त गर्भपतन गराएर समस्या भएपछि उपचारका लागि आउने गरेको बताए ।