ट्याक्सीमा बिलिङ मिटर जडान नगर्नेलाई कारवाही हुने
काठमाडौंः ट्याक्सी चालक र मालिकले ट्याक्सीमा बिलिङ मिटर जडान गर्न अटेर गरेपछि सरकारले उनीहरूमाथि कडा कारबाही गर्ने तयारी गरेको छ । बिलिङ मिटर जडानका लागि सरकारले पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि कारबाहीको तयारी गरिएको हो । बिलिङ मिटरसहितको प्रिन्टर जडानमा व्यवसायीको सहयोग नहुँदा काम प्रभावकारी हुन सकेको छैन । उपभोक्ता ठगी गर्न पल्केका ट्याक्सी व्यवसायीलाई अब भने सरकारले पाँच हजार रुपैयाँसम्म जरिबान गर्ने तयारी गरेको छ ।
गुणस्तर तथा नापतौल विभागले बिलिङ मिटरसहितको प्रिन्टर जडानमा अटेर गर्नेलाई अनुगमन गर्दै कारबाही गर्ने तयारी गरेको हो । विभागले यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहयोगमा सोमबारबाट अनुगमन गर्दै कारबाही गर्ने भएको छ । आगामी सोमबारबाट अनुगमन हुने र बिलिङ मिटर जडान नगर्ने ट्याक्सी चालकमाथि कारबाही हुने विभागका महानिर्देशक विश्ववाबु पुडासैनीले जानकारी दिए ।
यसका लागि विभागले आइतबार सरोकारवाला निकायसँग छलफल गर्ने तयारी गरेको छ । बिलिङ मिटर जडानमा असहयोग गर्ने ट्याक्सीको कागजपत्र जफत गर्ने तयारी गरेको पुडासैनीले बताए । कागजपत्र जफतसँगै एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिबाना गर्ने तयारी भएको उनले अन्नपूर्णसँग बताए ।
उपभोक्ता ठगी नियन्त्रण गर्दै तोकिएको भाडामा यात्रा गर्नु पाउने अधिकार रक्षाका लागि ल्याएको नियम उलंघन गर्नेलाई अब विभाग हेरर बस्ने नसक्ने पुडासैनीको भनाइ छ । सरकार तीन महिनासम्म केही लचिलो हुँदा पनि अटेर गर्नेको सीमा नाघेपछि बाध्य भएर कारबाही अगाडि बढाउनु परेको पुडासैनी बताउँछन् ।
विभागले करिब तीन सातासम्म कुनै पालो नलगाई आफूखुसी बिलिङ मिटरसहितको प्रिन्टर जडानका लागि आग्रह गरेको थियो । त्यसपछि विभागले पुस १७ गतेबाट २७ सातासम्म आलोपालो गर्दै साउनसम्म बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ मिटर जडान गर्ने समय तालिका तय गरेको थियो ।
माघ २० गतेसम्म बा १ ज ९००० हजार देखि बा २ ज ३२०० नम्बर प्लेटका ट्याक्सीमा बिलिङ मिटर जडान गर्ने पालो लगाएको थियो ।
तर, यस अवधिमा १३ सय २३ वटा ट्याक्सीमा मात्रै बिलिङ मिटर जडान भएको विभागको ट्याक्सी तथा टेम्पो इकाइका प्रमुख विकास ध्वन्जुले जानकारी दिए ।
यो संख्या अन्यन्तै न्यून हो । यस अवधिमा करिब चार हजारवटा ट्याक्सीका बिलिङ मिटर जडान हुनपर्ने ध्वन्जुको तर्क छ । पालो बाहेकका नवीकरण गर्ने ट्याक्सीसमेत बिलिङ मिटर जडानमा आएका छैन् । बिलिङ मिटर जडान गर्न सरकारले कुनै रकम समेत लिएको छैन । इकाइले आफ्नो पालामा आर्थिक अभाव भएकालाई समेत केही समय अवधि दिइरहेको छ । समय अवधि लिने ट्याक्सी पनि ४० वटाभन्दा बढी नभएको उनी बताउँछन् । व्यवसायीमा ठगी गर्ने बानीका विकास भइसकेका कारण बिलिङ मिटरमा अटेर गरेर बसेको हुन सक्ने उनको बुझाइ छ । इन्फोगुणस्तर तथा नापतौल विभागले बिलिङ मिटरसहितको प्रिन्टर जडानमा अटेर गर्नेलाई कारबाही गर्ने तयारी गरेको हो ।