घरघरमा प्रहरीको साइकल गस्ती
नेपालगन्जः अपरिचित नम्बरबाट फोन आयो । प्रहरी निरीक्षक राजन गौतमले फोन उठाए । एउटी छात्राले आफन्तबाट यौन दुव्र्यवहारमा परेको भन्दै प्रहरीसँग सहयोग मागिन् । गौतमले सोधे, ‘मेरो नम्बर कसरी पायौ ? ' छात्राले जवाफ दिइन्, ‘अस्ति तपाईंले पठाउनुभएका पुलिस दाइले दिएर जानुभएको ।' तत्काल महिला प्रहरी पठाएर उनको समस्या समाधान भयो ।
त्यस्तै अर्काे नम्बरबाट पनि फोन आयो । नेपालगन्ज बजारदेखि केही परको गाउँबाट फोन आएको थियो । एउटी महिलाले श्रीमान्ले रक्सी खाएर कुट्ने गरेको गुनासो गरिन् । प्रहरी निरीक्षक गौतमले तुरन्तै प्रहरी पठाएर कुरा मिलाइदिए ।
गम्भीर मुद्दाका उजुरीसमेत प्रहरी चौकीमा ल्याउन डराउने आमसर्वसाधारण अहिले सीधै प्रहरीका हाकिमलाई फोन गरेर आफ्ना समस्या भन्न थालेका छन् । दुई महिनादेखि नेपालगन्ज वडा प्रहरी कार्यालयले थालेको घरदैलो ‘साइकल गस्ती'का कारण अहिले प्रहरीसम्म पुग्न सर्वसाधारण हिच्किचाउँदैनन् ।
अभियानअन्तर्गत प्रहरी गाउँगाउँ पुग्छन् साइकल चलाउँदै । घरघर छिर्छन्, परिवारका मान्छेसँग भेटघाट र भलाकुसारी गर्छन् । केही नभए पनि सन्चो-बिसन्चो सोध्छन्, केही समस्या भए प्रहरीलाई फोन गर्नुहोला भन्दै नम्बर छाड्छन् ।
वडा प्रहरी कार्यालयले दैनिक छजना प्रहरीलाई साइकल गस्तीमा पठाउने गरेको छ । एकजना असईको कमान्डमा एकजना महिला प्रहरीसहित साइकलबाट गस्ती गर्ने प्रहरी टोलीले आम नागरिकको घरघरमा पुगेर प्रहरीप्रतिका गुनासा, चौकीमा आउन नसकेका मुद्दासमेत टिपेर ल्याउँछन् । त्यस्तै नागरिकका अन्य समस्यासमेत उनीहरूले सुन्छन् र कार्यालयमा फर्केर प्रमुखलाई ‘ब्रिफिङ' गर्छन् । प्रहरी-प्रशासन पुग्न नसकेका भित्री बस्तीमा पनि प्रहरी पुर्याउने र नागरिकसँगको सम्बन्ध सुधार्ने उद्देश्यले अभियान थालिएको कार्यालयले जनाएको छ ।
दुई महिनादेखि नेपालगन्ज वडा प्रहरी कार्यालयले थालेको घरदैलो ‘साइकल गस्ती' का कारण अहिले प्रहरीसम्म पुग्न सर्वसाधारण हिच्किचाउँदैनन् ।
‘यसले गर्दा प्रहरीप्रति सर्वसाधारणको धारणा धेरै राम्रो हुन थालेको छ, सामान्य किसिमका मुद्दा उनीहरूकै आँगनमा टुंगिन्छन्', वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख गौतमले भने, ‘ससाना मुद्दा सकभर त्यतै मिलाएर आउनू भनेर टोलीलाई पठाइएको हुन्छ, उसलाई त्यो अधिकार हुन्छ ।'
प्रहरी देखेर पहिला नै डराउने नागरिकलाई प्रहरीले आत्मीयपन दिलाउन थालेको छ । ‘यसले गर्दा प्रहरीलाई मानिसले विश्वास गर्न थालेका छन्, प्रहरीसँगको सामीप्य अझै बढेको छ', उनले भने, ‘गाउँघरमा हुने सामान्य घटनाको समेत हामीलाई सूचना आउन थाल्यो भने अपराध नियन्त्रणमा सजिलो हुन्छ, नागरिकसँगको सम्बन्ध पनि राम्रो हुन्छ ।'
अभियानमा प्रहरी निरीक्षक गौतम साताको एकपटक आफैं साइकल चढेर गस्तीमा निस्किन्छन् । गाउँलेसँग भलाकुसारी गर्छन् । खासगरी स्कुलका विद्यार्थीलाई प्रहरीको काम र नागरिकसँगको सम्बन्धबारे बुझाउँछन् । ‘एकजना विद्यार्थीलाई प्रहरीको बारेमा बुझाउन सकियो र हामी नजिकिन सक्यौं भने त्यसले धेरै सराकात्मक प्रभाव पार्छ', गौतमले भने, ‘एउटा विद्यार्थीले घरपरिवार अनि समाजमा धेरै कुरा भन्न र सिकाउन सक्छ ।'
गस्ती टोलीले घरघरबाट टिपेर ल्याएका गुनासा र मुद्दाको प्रकृति हेरेर सोहीअनुसार तत्काल कारबाही अघि बढाउने गरेको उनको भनाइ छ । अहिले ससाना उजुरीसमेत प्रहरीकहाँ आउन थालेका छन् । तर धेरैजसो सामान्य प्रकृतिका मुद्दा प्रहरीले घरआँगनमै मिलाइदिन थालेको छ । ‘यसरी ससाना सुखदुःखका कुरा पनि नागरिकले हामीसँग सेयर गर्नुबाट नै प्रहरीप्रतिको विश्वास बढेको छ भन्ने पुष्टि हुन्छ', गौतमले भने ।