सेञ्चुरी बैंकद्वारा सगरमाथा फाइनान्स प्राप्ति
काठमाडौः सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आवको मुनाफा समेतबाट ७८ करोड पुँजी रहनेछ । हाल सगरमाथा फाइनान्सको १४ वटा शाखा कार्यालय छन् ।
त्यसैगरी सो संस्थाले २०७३ पुस मसान्तमा ५ करोड ६१ लाख खुद मुनाफा गर्न सफल भएको छ । त्यस्तै बैंकले यसअघि इनोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न सैद्धान्तिक सहमति गरिसकेकोे छ । सेञ्चुरी बैंकले तीन संस्था प्राप्तिबाट करिब एक अर्ब ५० करोड पुँजी प्राप्त गर्नेछ भने नपुग पुँजी हकप्रद सेयर जारी गरी चालू आवको मुनाफाबाट पुर्याउने लक्ष्य लिएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ३२ करोड ७४ लाख तथा खुद मुनाफा २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमासभन्दा २०१.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । हाल सेञ्चुरी बैंककोे चुक्ता पुँजी तीन अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।