युनाइटेड फाइनान्स अन्तर बैंक विद्युतीय प्रणालीमा
काठमाडौः युनाइटेड फाइनान्स लिमिटेड अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध भएको छ । बैंक तथा वित्तीय संस्था अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध हुनेक्रममा फाइनान्सले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठ र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल क्लियरिङ हाउस लिमिटेडले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि एनसीएचएल-आईपीएस प्रणाली उपलब्ध गराउनेछ ।
एनसीएचएल-आईपीएस प्रणालीमार्फत कम्पनीसँग आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता कारोबार सञ्चालन गर्न सक्ने फाइनान्सले जनाएको छ । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ड पेमेन्ट, आईपीओ रिफन्ड, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्सलगायतका सेवा यस प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाले गर्न सक्नेछन् ।