खाँडी कपडा बुन्नै नथाली बैना
दिक्तेलः हिजोआज खाँडीको कपडा बुन्ने र लगाउने चलन हराउँदै गएको छ । यसको व्यवसाय गर्नु भनेको त एकादेशको कथा बनिसकेको छ । तर, खोटाङको याम्खा-९ रातामाटाका महिलाले खाँडी व्यवसायलाई ब्युझाएर विगत आठ वर्षदेखि राम्रो आम्दानी गर्दै आएका छन् । बाबुबाजेको पालादेखि चल्दै आएको खाँडी व्यवसाय हराएपछि २०६५ सालदेखि गाउँका महिला एकजुट भएर खाँडी उद्योग संरक्षण एवं व्यावसायिक उत्पादनमा लागेका छन् ।
हाल याम्खा रातामाटाकै इन्दिरा राई, चन्द्रकुमारी राई, लक्ष्मी प्रधान, शान्ता राई, रामकुमारी राईलगायत महिलाले घरैमा खाँडी उद्योग चलाइरहेका छन् । तालिम लिएका १५ महिलामध्ये ६/७ जनाले व्यावसायिक रूपमा खाँडी व्यवसाय सञ्चालन गरिरहेको खाँडी उद्यमी इन्दिरा राईले बताइन् । घरको काम गरेर बचेको समयलाई सदुपयोग गर्दै स्थानीय महिलाले खाँडीको कपडाबाट राम्रो आम्दानी गर्दै आएका छन् । राईका अनुसार प्रतिघर वार्षिक ७०/८० हजारको खाँडी अर्डरमै बिक्री हुने गरेको छ ।
उद्यमीका अनुसार घरेलु कपासबाट बनाइएको एक सेट खाँडीको मूल्य १२ हजार र किनेको धागोबाट बनाइएको कपडा प्रतिसेट ६/७ हजारमा बिक्री हुन्छ । १८ हाते एक सेट कपडा तयार पार्न १० देखि १२ दिन समय लाग्छ । तर, मेहत गरेअनुसार उत्पादित खाँडीका कपडालाई बजारको समस्या छैन । बुनेका कपडा प्राय घरैबाट बिक्री हुने गरेको छ । उत्पादित कपडा बजार लैजान नपर्ने र अर्डरमै बनाउन भ्याइनभ्याइ छ । उत्पादित खाँडीका कपडा जिल्लाबाहेक काठमाडौं र यूकेसम्म पुग्ने गरेको छ ।
विशेषगरी किरात राईको चाडबाड र शुभकार्यका खादीका दौरासुरवाल र छिटको गुन्यु लगाउने प्रचलन छ । स्वास्थ्यका दृष्टिकोणलेसमेत खाँडीका कपडा राम्रो मानिन्छ । यसकारण खाँडीका कपडाले राम्रो मूल्य पाउने गरेको छ । गाउँमै उत्पादन भएका खाँडीका कपडा जिल्लाको दिक्तेल, रतन्छा, लफ्याङलगायत राई समुदायको बस्तीमा खपत हुने गरेको छ । खाँडीको कपडा बुनेर उनीहरूले मासिक ७/८ हजार आम्दानी गर्दै आएका छन् ।
बाबुबाजेका पालासम्म याम्खाका प्रत्येक घरका महिलाले खाँडीका कपडा बुन्थे, तर अहिले गाउँभरीमा खाँडीका कपडा बुन्न जान्ने महिला चार जना मात्र छन् । पुर्खादेखि चल्दै आएको खाँडी उद्योग संकटमा परेपछि पुनः ब्युझाउन अजम्बरी आमा समूहको अगुवाइमा अभियान चलाइएको समूहकी अध्यक्ष सत्यवती राईले बताइन् ।
‘खाँडीका कपडा बुन्ने मान्छे गाउँमा पाउन मुस्किल थियो,' अध्यक्ष राईले भनिन्, ‘तालिमपछि ६/७ जना महिलाले व्यावसायिक रूपमा खाँडीको उद्योग सञ्चालन गर्दै आएका छन् ।' आत्मनिर्भर र व्यावसायिक बन्ने अन्य भरपर्दो विकल्प नभएपछि ओझेलमा परेको पुर्खौली पेसालाई पुनः अपनाउन थालिएको समूहले जनाएको छ । १२ वर्षको उमेरदेखि खादीका कपडा बुन्न थालेकी याम्खा-९ की मि श्रा श्रेष्ठले खाँडी बुन्न छाडेको २५ वर्षपछि त्यही पेसालाई निरन्तरता दिएको बताइन् ।