माैरीपालनमा किसानको आकर्षण
डडेल्धुराः पछिल्लो समय डडेल्धुराका किसान मौरीपालनतर्फ आकर्षित भएका छन् । अन्य व्यवसायभन्दा मौरीपालनबाट छोटो समयमै राम्रो आम्दानी गर्न सकिने भएकाले किसान आकर्षित भएका हुन् ।
भौगोलिक रूपले डडेल्धुराको भित्रिमधेस मौरीपालनका लागि उपयुक्त भएकाले आफू यस व्यवसायतर्फ उन्मुख भएको किसान बताउँछन् । विगत दुई वर्षदेखि व्यावसायिक रूपमै मौरीपालन गरिरहेका आलिताल ७ का जनक कलौनी भन्छन्, ‘पहिले ५/७ वटा घार राखेर सामान्य किसिमले मौरीपालन गरिरहेका थियौं, तर साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाबाट आर्थिक सहयोग पाएपछि तीन सय घार राखेर व्यावसायिक मौरीपालन गरिरहेको छु ।'
गाउँका ३५ परिवार मौरीपालनमा लागेको उनले बताए । हामी युवाले रोजगारीका लागि भारत जाने समस्याबाटसमेत मुक्ति पाएका छौं । हामी बर्सेनि रोजगारीका लागि छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा जाने गथ्र्यौं । मौरीपालन गरेदेखि बिहान–बेलुका मह निकाल्ने र दिउँसो प्रशोधन गरेर प्याकिङ गर्नै भ्याइनभ्याइ भएको प्रकाश बोहराले बताए । फूल खेल्ने समय र चिउरी, तोरी फुल्ने समयमा एउटा घारबाट कम्तीमा ८ देखि १० किलो मह काढ्न सकिने र प्रतिकिलो ५०० देखि ७०० रुपैयाँमा बिक्री हुने हुँदा आम्दानी प्रशस्तै हुने कृषि प्राविधिक दुर्गा पन्तको भनाइ छ ।
अन्य महिनाको मह स्वास्थ्यका लागि लाभदायक मानिए पनि कात्तिकको महमा औषधीय गुण बढी हुने र ग्राहकले पनि कात्तिककै मह किन्न रुचाउने व्यापारी बताउछन् । माघ फागुन पनि मौरीका लागि उपयुक्त समय भएकाले मह काढ्न र मौरी चराउन भ्याइनभ्याइ भएको मह व्यवसायी बोहरा बताउँछन् ।
उनीजस्तै गाउँका अन्य किसान पनि मह निकाल्न तथा प्रशोधनमा व्यस्त छन् । ‘मौरी चराउने, स्याहार गर्ने, मह निकाल्ने, प्रशोधन गर्ने काममै दिन बितेको पत्तै हुँदैन,' मौरीपालक बोहराले भने, ‘अहिले त झन हामीले अर्गानिक मह उत्पादन गरिहेको हुँदा खाना खानेसमेत फुर्सद छैन । पहिले मुढा र परम्परागत घारमा मौरीपालन गर्दा त्यति फाइदा नहुने र मह काढ्दासमेत मौरी मर्ने, मौरीमा रोग लाग्ने समस्या हुन्थ्यो भने आधुनिक घारमा त्यस्तो समस्या नभएको मौरी घारका प्रोप्राइटर कर्ण बोहरा बताउँछन् ।
डडेल्धुरा जिल्ला पनि मौरीका लागि निकै प्रसिद्ध मानिन्छ । पारिलो ठाउँ र उपयुक्त चरन क्षेत्र भएकाले मौरीपालनका लागि डडेल्धुरा उपयुक्त मानिने वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टको भनाइ छ । डडेल्धुरामा मेलिफेरा जातको मौरी उपयुक्त मानिएको छ ।