गरिमाको शाखा तल्लो गगनगौंडामा
काठमाडौः पोखरामा केन्द्रीय कार्यालय रहेका गरिमा विकास बैंकले लेखनाथको तत्लो गगन गौंडामा शाखा विस्तार गरेको छ । शाखाको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष दिलिपप्रताप खाँण, प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल उपस्थित थिए । यो सहित बैंकका शाखा संख्या ३९ पुगेका छन् ।
म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको साविक निलगिरि विकास बैंक र चितवनको नारायणगढमा केन्द्रीय कार्यालय रहेको साविक शुभेच्छा विकास बैंक लिमिटेडलाई गाभेर सशक्त बन्दै अगाडि बढिरहेको बैंकले हाल राजधानीलगायत देशका विभिन्न स्थानमा ३९ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । काठमाडौंको लाजिम्पाट, चाबहिल र कलंकी, रूपन्देहीको फर्साटिकर, मणिग्राम र खैरेनी, गुल्मीको तम्घास र शान्तिपुर र कपिलवस्तुको चन्द्रौटा गरी नौ वटा शाखा कार्यालय खोली सेवा विस्तार गर्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले करिब १३ अर्ब ३७ करोड निक्षेप संकलन गरेको छ भने लगानीमा रहेको कर्जा करिब १२ अर्ब पुगेको छ । सो अवधिमा विकास बैंकले २५ करोड सात लाख सञ्चालन मुनाफा कमाउन सफल भएको छ ।