प्रधानमन्त्री दाहाल र रविशंकरबीच भेटवार्ता
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल र आर्ट अफ लिभिङ फाउन्डेसनका अध्यक्ष रविशंकरबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ । चौधरी ग्रुपद्वारा नवलपरासीमा स्थापित शाश्वतधाम उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागी हुन रविशंकर नेपाल आएका हुन् ।
भेटमा रविशंकरले सनातन धर्मले देशलाई एकताबद्ध बनाउन सहयोग पुग्ने धारणा राखे । आफूले शान्तिपूर्ण र समृद्ध नेपाल देख्न चाहेको र यो प्रयासमा सदैव नेपालको साथ रहेको धारणा पनि उनले व्यक्त गरे । प्रधानमन्त्री दाहालले शान्तिपूर्ण समाज निर्माण गर्दै समृद्ध नेपाल निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको बताए । उक्त अवसरमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि सहभागी भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २४ गते उद्घाटन गर्ने शाश्वतधामको समारोहमा रविशंकरले सम्बोधन गर्ने कार्यक्रम छ ।
शाश्वतधाममा गत शुक्रबारदेखि प्राणप्रतिष्ठाको पूजा प्रारम्भ भएको छ । शाश्वतधामको प्राणप्रतिष्ठा पूजामा हिन्दु धर्मका विश्वविख्यात आराध्यदेव पशुपतिनाथ, काञ्ची कामाकोठी पीठ र श्री श्री सेन्टरबाट सम्पन्न हुनेछ । यो पूजा प्रारम्भ भएको मितिले ४५ दिनसम्म जारी रहनेछ । समुद्घाटनकै अवसरमा शाश्वत धाममा कुम्भाविशेषम सम्पन्न हुनेछ ।
चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउन्डेसनले सनातन धर्मप्रति आस्थावान् आमसमुदायको चाहनालाई सम्मान गर्दै नवलपरासी देवचुली २ दुम्कौलीस्थित सिजी इन्डस्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण गरेको हो । ग्रुपका अध्यक्ष चौधरीले एउटा फरक सपना पूरा हुन लागेकोमा आफूलाई सन्तोष लागेको बताएका छन् । शंकराचार्य जयेन्द्र सरस्वतीको आशीर्वचन र रविशंकरको मार्गदर्शनबाट शाश्वतधाम स्थापना सम्भव भएको उनले बताए ।
नवलपरासीको सुन्दर तथा मनोरम क्षेत्र दुम्कौलीमा निर्मित शाश्वतधाम नेपालकै एक महत्ववपूर्ण धार्मिक पर्यटकीय स्थलका रूपमा रहनेछ । करिब सात बिघा क्षेत्रफलमा फैलिएको धामको मध्यभागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर छ ।
मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ जहाँ बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, पशुपतिनाथजस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ । धाममा गुरुकुल विद्या श्रम, अखण्ड अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिङ हल, गौशाला, अग्र्यानिक फार्म, ४५ जनाका लागि आवासीय सुविधा भएको योग तथा ध्यान केन्द्र, शाकाहारी अग्र्यानिक भोजनालय, वि श्राम स्थललगायत वैदिक सनातन हिन्दु धर्मसँग सम्बन्धित अन्य महत्ववपूर्ण स्थल रहेका छन् ।
शाश्वतधामको अर्को विशेषताका रूपमा अत्याधुनिक अडियोभिडियो केन्द्र रहेको छ । यस केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्री, केदार, हरिद्वारजस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधि ठूलो पर्दामा हेर्न सक्नेछन् । फागुन २४ गते धामको विधिवत् उद्घाटन र मन्दिरमा प्राणप्रतिष्ठापछि सर्वसाधारणका लागि औपचारिक पूजाआजा, दर्शन तथा अवलोकन खुला गरिनेछ ।