सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताद्वारा प्रदर्शन, स्थिति तनावग्रस्त
राजविराजः सप्तरीको राजविराजमा मधेसी मोर्चामा आबद्ध दलका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन्। मोर्चाका कार्यकर्ताहरु सोमबार बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि राजविराजको स्थिति तनावग्रस्त बनेको छ।
एमालेको अभियानको विरोधमा मधेसी मोर्चाले सोमबार सप्तरी जिल्ला बन्द आह्वान गरेको छ। मोर्चाको बन्दका कारण सप्तरीमा मोटरसाइकलबाहेक लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन्। मुख्य बजार र शिक्षण संस्थाहरु समेत बन्द छन्।
मोर्चाका नेता–कार्यकर्ताहरुले बिहानैदेखि राजविराज, भारदह र कञ्चनरुपमा टायर बालेर लाठी जुलुस प्रदर्शन गरेको छ। स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ। अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सप्तरीमा एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी उद्वव तिमल्सेनाले जानकारी दिए।
राजविराजमा हुने भनिएको कार्यक्रम एमालेले तीन किलोमिटर उत्तर बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरेको छ। मोर्चाले राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई समेत बिथोल्ने जनाउँदै मोर्चाका नेता–कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन्।
सप्तरीको कञ्चनरुप, रुपनीबाट प्रहरीले पाँच–पाँच जना प्रदर्शनकारी पक्राउ गरेको रामसपाका सचिव गजेन्द्र मण्डलले जानकारी दिए। पूर्वपश्चिम राजमार्गस्थित सप्तरीको कञ्चनपुर खण्डमा यातायात बन्द गराउन खोज्ने मोर्चाका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए।
पूर्वघोषित कार्यक्रममा अवरोध नगर्न एमालेले मोर्चालाई अपिल गरेको छ। लोकतन्त्रमा आ–आफ्नो विचार राख्न पाउने सबैलाई अधिकार भएको भन्दै एमालेले कुनै अप्रिय घटना भए त्यसको जिम्मा मधेसी मोर्चाले लिनु पर्ने बताएको छ।