एमालेको सभा देखेर सत्ता चलाउनेहरु थर्कमानः माधव नेपाल
धरान: एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई कसैले चाहेर पनि रोक्न र छेक्न नसक्ने चेतावनी दिएका छन् । मेची-महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतवार सुनसरीको इटहरीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेपालले उक्त कुरा बताएका हुन् । उनले देशभर एमालेको जनलहर देखेर सरकार संचालन गर्ने माओवादी, काङ्ग्रेस मधेसका ठालु भनाउदाहरु थर्कमान भएको बताए ।
नेता नेपालले आगामी चुनावमा एमाले नम्बर वान पार्टी बन्ने भएपछि मधेसवादी दल लगायत काङ्ग्रेस र माओवादी केन्द्र एमाले विरुद्ध खनिएको आरोप लगाएका छन् ।उनले एमालेलाई देशभरका जनताले गरेकासर्मथनले अत्तालिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र काङ्ग्रेस सभापति शेरबहादुर देउवा भित्र भित्रै एमाले विरुद्ध लागेको पनि आरोप लगाए । उनले मधेसवादी दलहरु र सत्ता संचालन गर्नेहरुलाई मधेसमा एमालेको जत्रो कार्यक्रम गरेर देखाउन समेत चेतावनी दिएका छन् ।
नेता नेपालले मधेसवादी दलहरु तराई, पाहाड र हिमालको कुरा उठाएर देलाई विभाजन गर्न लागि परेको भन्दै सबैलार्इ सचेत रहन आग्रह समेत गरेका छन् । उनले देशको हित नचाहानेहरुले एमालेलाई मधेस विरोधी पार्टी भनी आरोप लगाउने गरेको बताए । उनले मधेसको मसियार हुँ भन्नेहरु भारतीय इसारामा लागेर नेपाल र नेपालीहरुको भावना विपरित राष्ट्रघात गरेको आरोप लगाएका छन् । उनले एमालेको मेची महाकाली अभियान कसै विरुद्ध नभएको प्रस्ट पारे।