कक्षा १० का विद्यार्थी अलमलमा: स्कुल छोड्ने कि त्यहीँ पढ्ने
काठमाडौं: शिक्षा ऐन संशोधनसँगै विद्यालय तहको संरचना दुई तहमा विभाजन भएको छ, कक्षा १ देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह । ऐन आउनुअघि उच्च माध्यमिक तह भनेर परिभाषित गरिएको कक्षा ११ र १२ लाई पनि संशोधित ऐनमा माध्यमिक तहमा समावेश गरिएको छ ।
तर ऐन संशोधन भएको नौ महिनाभन्दा बढी भइसक्दा पनि कक्षा १० अध्ययन गरिरहेका विद्यार्थी र तिनका अभिभावकहरू अलमलमा पर्ने गरेका छन् । ‘१० कक्षा उत्तीर्ण भएपछि कक्षा ११ को अध्ययनका लागि विद्यालय परिवर्तन गर्न पाइन्छ कि सोही विद्यालयमा पढ्नुपर्छ ? ’, धेरैको गुनासो यस्तै रहेको छ । विद्यालय तहको संरचना परिवर्तन नहुँदासम्म कक्षा १० सम्म माध्यमिक र कक्षा ११ तथा १२ लाई माध्यमिक मानिन्थ्यो । यसले गर्दा विद्यार्थीले सहजै विद्यालय परिवर्तन गर्न र आफूले चाहेको विषय पढ्न पाउँथे ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्साल अहिले पनि ऐनले विद्यार्थीलाई स्कुल परिवर्तन गर्ने वा सोही स्कुलमा पढ्ने दुवै विकल्प रोज्न दिएको बताउँछन् । मुलुकभर निजी र सामुदायिकसमेत गरेर ३४ हजारवटा विद्यालय सञ्चालनमा छन् । तीमध्ये ११ र १२ को मात्र पढाइ हुने विद्यालयको संख्या तीन हजार पाँच सय ९६ छ । कक्षा ९ देखि १२ सम्मको पढाइ हुने विद्यालयको संख्या नौ हजार एक सय २० छ । कक्षा १० सम्मको मात्र पढाइ हुने विद्यालय संख्या आठ हजार आठ सय २५ रहेको छ । यस तथ्यांकअनुसार कक्षा ११ र १२ को पढाइ सञ्चालन गर्ने क्षमता नभएका विद्यालय थुप्रै छन् ।
कक्षा ११ र १२ को पठनपाठनसमेत हुने भए पनि धेरै वर्षसम्म एकै विद्यालयमा पढेर वाक्क भएका विद्यार्थीलाई स्कुल परिवर्तन गर्ने अवसर ऐनले दिएको छ । हिसानका महासचिव लोकबहादुर भण्डारी कक्षा १० पछि विद्यालय परिवर्तन गर्न पाउने कि नपाउने भन्नेमा विद्यार्थी र अभिभावक दोधारमा परेको बताउँछन् ।
‘ऐनले कक्षा ९ देखि १२ लाई एउटा तह मानेको छ । तर, सबै विद्यालय त्यही संरचनाका छैनन्’, भण्डारी भन्छन्, ‘तर कक्षा ११ र १२ को समेत पढाइ सञ्चालन गरिरहेका विद्यालय सञ्चालकहरूले समेत विद्यार्थीलाई यस्ता विषयमा स्पष्ट जानकारी गराउन चाहेका छैनन् । उनीहरूले आफ्ना विद्यार्थी १० कक्षा पढेपछि बाहिर नजाऊन् भन्ने चाहेका छन् ।’ ‘विद्यार्थीमा एकै तहको शिक्षा एकै विद्यालयमा पढ्नुपर्ने बाध्यता हुँदा ११ र १२ मा विद्यार्थीले पढ्न चाहेको विषय नहुन पनि सक्छ’, भण्डारी भन्छन् ।