अपिको नाफा चार गुणाले बढ्यो
काठमाडौं: अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा चार गुणाले बढेको जनाएको छ । सोही अवधिमा कम्पनीले तीन करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
अपिले बिजुली बेचेर पहिलो त्रैमासमा चार करोड ६१ लाख कमाएको छ । यस वर्ष कम्पनीको सञ्चालन खर्च ६४ लाख ९५ हजार भएको छ । अघिल्लो वर्षको यसै अवधिमा सञ्चालन खर्च ९२.६० लाख थियो । कम्पनीको जगेडा कोष बढेर ८.४२ करोड पुगेको छ । अपिले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा लगानी बढाएर १४ करोड ५६ लाख पुर्याएको छ । कम्पनीको सेयर पुँजी एक अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.४२ र पीई रेसियो ९० गुणा रहेको कम्पनीले जनाएको छ । कम्पनीले एक कित्ता बराबर दुईका दरले हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । अपि पावरले ८.५ मेगावाटको नौगाड जलविद्युत् आयोजना पूरा गरेर विद्युत् उत्पादन गरिरहेको छ ।