सप्तरी गोली काण्डको न्यायिक छानबिन गर्न बाबुरामको माग
काठमाडौं : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, नेपालले सोमबार सप्तरीमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेको छ।
मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले घटनाको छानबिन गर्न माग गरेका हुन्। ‘हामी सप्तरीको दुःखद् घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’, बाबुरामको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कारवाही गर्न हामी जोडदार माग गर्दछौं।’
बाबुरालमे नयाँ शक्ति पार्टी, नेपाल सबैखाले अतिवादको विपक्षमा भएको बताउद देशभक्तिसहितको राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् ।
‘हामी राजनीतिक सहमति, राजनीतिक बिश्वास र सहकार्यको पक्षमा छौं। हामी समावेशी विकास र सम्बृद्धिको पक्षमा छौं। हामी हिमाल, पहाड र तराई मधेसलाई भावनात्मक एकतामा बाध्न चाहान्छौं। यसर्थ नै हाम्रो आह्वान छ कि असमझदारी, टकराव र विभाजनलाई कहि कतैबाट प्रोत्साहित नगरौं’, विज्ञप्तिमा भनिएको छ।