राप्रपाद्वारा सप्तरी गोली काण्डको निन्दा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार सप्तरीमा भएको गोली काण्डको निन्दा गरेको छ। अध्यक्ष कमल थापाले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै तीन जनाको ज्यान जाने गरी भएको घटनाको निन्दा गरेका हुन्।
थापाले निहित राजनीतिक स्वार्थ पूर्तिका लागि अरुलाई होच्याउने, उत्तेजित तुल्याउने र हिंसा भड्काउने काम गलत भएको उल्लेख गरेका छन्। ‘सप्तरीमा हिजो भएको झडपमा प्रहरीको गोली लागेर तीन प्रदर्शनकारीको मृत्यु भएको तथा दर्जनौ घाइते भएको समाचारले स्तब्ध भएको छु’, कमल थापाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटना दुखद र निन्दनीय छ।’
अध्यक्ष थापाले झडपमा ज्यान गुमाएकाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्। सँगै उनले घटनाको छानबिन गरी तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग पनि गरेका छन्।
‘आफ्नो राजनीतिक विचार र मान्यता अनुरुप कार्यक्रम गर्ने अधिकार प्रत्येक व्यक्ति र दललाई संविधानले नै सुनिश्चित गरेको छ, तर त्यस्तो अधिकारको प्रयोग शान्तिपूर्ण र अरुको अधिकार हनन् नहुने गरी गर्नु प्रजातन्त्रको नैसर्गिक मान्यता हो’, विज्ञप्तिमा भनिएको छ, ‘निहित राजनीतिक स्वार्थ परिपूर्तिका लागि अरुलाई होच्याउने, उत्तेजित तुल्याउने र हिंसा भडकाउने काम सर्वथा उपयुक्त होइन।’
अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा परिस्थितिलाई थप जटिल हुन नदिन संयमको निमित्त पनि सबै पक्षमा अपिल गरिएको छ। विज्ञप्तिमा निर्वाचनको पूर्वसन्ध्यामा शान्ति, सुरक्षा र स्थिरता कायम गर्न सरकारले अविलम्ब प्रभावकारी कदम चाल्ने अपेक्षा समेत थापाले गरेका छन्।